माटाका भाँडा बनाएर अाम्दानी गर्दै नुवाकोटका कुमाल

त्रिशूली : जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् । 

बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेकाले माटोका भाँडाको बिक्रीबाट पनि कमाई राम्रो भइरहेको बताएका हुन् । 

बजारको भन्दा पनि भाँडा बनाउन उपयुक्त माटोको अभावले कुमाल आफ्नो परम्परागत पेशाबाट पलायन भएको विदुर नगरपालिका–५, हसनटारका मीनकुमार कुमालले बताए । 

“भाँडा बनाउन आवश्यक माटो पाउन गाह्रो छ । जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन”, उनले भने, “यहाँ वरपरमा बट्टारको कभर्ड हल क्षेत्र र च्वाडी स्कूलको जग्गामा मात्र भाँडा बनाउन उपयुक्त माटो पाइन्छ । अहिले त्यहाँ माटो झिक्न दिँदैनन् । माटै नभएपछि भाँडा कसरी बनाउने र ?” 

भाँडा बनाउनका लागि यसपटक वडाध्यक्षको रोहवरमा कभर्ड हल क्षेत्रबाट माटो ल्याएर भाँडा बनाइरहेको उनले बताए। स्थानीयका अनुसार वर्षभरि बनाएका भाँडाहरु सबै बिक्री हुने गरेको छ । “सामान उत्पादन गर्न सक्नुपर्छ । बजारको कुनै समस्या छैन । घरैबाट बिक्री हुन्छ । पहिले जस्तो भाँडा बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन”, मीनकुमारले भने, “महिनाको ३०-३५ हजार रुपैयाँ कमाउन गाह्रो हुन्न ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?