वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दो

RSS
130
Shares

खोटाङ । खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्यांक हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १ सय ७ महिला र एक हजार ६ सय ८५ पुरुषले श्रम स्वीकृति लिएका छन् । सरकारले गत साउन र भदौमा गरेको लकडाउनयता पनि रोजगारीका लागि विदेश जान अत्यधिक संख्यामा श्रम स्वीकृति लिएको पाइएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा ६० हजारभन्दा बढी नागरिक विभन्न देशमा पुगेका सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए । मुलुकभरको तथ्यांक हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबीच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९ सय २८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका छन् ।

कोरोना महामारीकैबीचमा पनि खोटाङका १ सय ४ महिलासमेत वैदेशिक रोजगारीका लागि विदेशिएको राईले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय बासिन्दाको घरका युवाशक्ति वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको पाइएको छ । यतिसम्म कि एउटा घरका बुबा, छोरीछोरी तथा बुहारी गरी पाँच जनासम्म वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।

पहाडी भूभाग रहेको जिल्लामा जीवन निर्वाहमुखी खेतीभन्दा अन्य आम्दानीको स्रोत नभएपछि रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता रहेको युवापुस्ताले बताउने गरेका छन् । वैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्थासमेत सुदृढ हुँदै गएको सामी परियोजनाले जनाएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने काम गरिरहेको सामीमा वैदैशिक रोजगारसँग सम्बन्धित नौँ उजुरी परेका छन् । खोजी तथा उद्दारमा पाँच, मृत्यु भएकाकोे शव झिकाइदिन एक, आर्थिक सहयोगका लागि दुई तथा मेनपावरले दुःख दिएकामा एउटा उजुरी परेको हो ।

विगत चार महिनको अवधिमा वैदेशिक रोजगारसम्बन्धी जानकारी लिन दिक्तेलस्थित सूचना केन्द्रमा महिला १ सय ८२ र पुरुष ४ सय ६१ आएका छन् । वैदेशिक रोजगारीमा गएका घरपरिवारका महिला सदस्यलाई सामीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान तथा सीप दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?