खेर गइरहेको हात्तीको गोबरबाट महिनाको २ लाखसम्म कमाउँदै

काठमाडौं । महिनाको ३० हजारभन्दा बढी पारिश्रमिकमा एक आईटी कम्पनीमा डिजिटल मार्केटिङको व्यवस्थापनमा काम गरिरहेका सन्नीको काम राम्रै चल्दै थियो । तर उनी न त सन्तुष्ट थिए न खुःशी नै हुन सकिरहेका थिए । केही नयाँ काम गर्नुपर्छ भन्ने विचार उनको मनमा सधैँ आउँथ्यो । यही सिलसिलामा जन्मिएको हो, ‘इकोअर्ब’ ।

के तपाईँलाई थाहा छ ? एक हात्तीको गोबरलाई कागजको रूपमा बदल्न सकिन्छ ! यसको लागि प्रक्रिया धेरै जटिल छैन । रूपान्तरण प्रक्रियाको लगभग ५० प्रतिशत हात्तीको पेटभित्रै भइसकेको हुन्छ । त्यसपछि कागज निर्माण हुन आधा मात्र काम गरे पुग्छ ।

ललितपुरको मुटु पाटन मंगलबजारमा बस्ने २८ वर्षीय युवक सन्नी राजोपाध्यायले स्थापना गरेको कम्पनीको नाम हो, इकोअर्ब । आफ्नो जागिरबाट जम्मा भएको करिब २५ हजारको लगानीमा सुरु गरेका उनले सौराहामा एक प्रोटोटाइप बनाएर आफ्नो सोचलाई एक कम्पनीको रूपमा पस्किए । तर उनलाई यकिन थिएन कि नेपालमा यो काम गर्न सम्भव छ या छैन भनेर ।

‘मसँग त्यतिखेर उपकरण थिएन, मैले ब्लेन्डर प्रयोग गरेँ र यसलाई हातले बनाएँ ।’ उपाध्याय भन्छन्, ‘यदि तपाईँ जागिरसँग सन्तुष्ट हुनुहुन्न भने चाहे जतिसुकै तलब पाउनुहोस्, त्यसको महत्व हुने छैन । सुरुमा मात्र मेरो लागि प्रेरणा पैसा थियो । तर पछि मलाई लाग्न थाल्यो कि यदि म आफैँले केही सुरु गर्दिनँ भने त्यो मेरो लागि धेरै ढिलो हुनेछ ।’

त्यो सोचाइले उनलाई उद्यमी बन्न बदलिदियो । त्यस्तै एउटा आफ्नो क्रियटिभ दिमागलाई प्रयोगमा ल्याई आफूलाई उद्यमीको रूपमा चिनाउँदै छन् उपाध्याय । ‘मैले युट्युबमा एकदिन भिडियोहरू हेर्दै गर्दा एउटा यस्तो भिडियो देखेँ कि हात्तीको गोबरबाट कागज बनाइरहेका हुन्छन्, त्यही भिडियो मेरो दिमागको एउटा कुनामा बसिरहेको थियो’, उनले भने ।

जब उनी सन् २०१६ मा साथीहरूसँग चितवन सौराह घुम्न गए । त्यहाँ हात्तीको बच्चा हेर्ने क्रममा साइडमा हात्तीको गोबरको थुप्रो देखेपछि उनले त्यो युट्युबमा हेरेको भिडियोलाई सम्झिए, उनको दिमागमा केही पाएजस्तो लाग्यो, फलस्वरूप अहिले उनको त्यो सोच उद्यमको रूपमा झाँगिदै छ ।

अहिले उनले प्याकेजिङ गर्ने बक्स, नोटबुक, बत्ती राख्ने सामग्री र झोलाहरू बनाइरहेका छन् । यस्ता उत्पादनको माग विश्व बजारमा बढिरहेको समेत उनले बताए ।

उनलाई अहिले फाल्तु खर्च गर्नुभन्दा थोरै भए पनि आफ्नो बिजनेसमा लगानी बढाउन मन लाग्छ । त्यसमा उनी खुसी छन् । ‘जब तपाईँ तपाईँको व्यापार गर्न थाल्नुहुन्छ । तपाईँ फजुल चिजहरूमा खर्च गर्नुभन्दा पहिले दुई पटक सोच्नुहुन्छ’, उनले हाँस्दै भने ।

इकोअर्ब सुरु गर्दा जम्मा ५ जना महिलाको समूहले काम गर्दथ्यो । त्यहाँ दिदीहरूले हात्तीको गोबर जम्मा गरेर राख्दछन् । त्यसपछि त्यो गोबरलाई पखालेर ६० प्रतिशत घाँस बाँकी हुन्छ । जसलाई तातोपानीमा उमालेर मेसिनमार्फत पल्प निकालिन्छ । त्यसलाई सुकाएर काठमाडौं ल्याएपछि कागज बनाउने गर्दछौँ । कागज तयार हुन ५ देखि ७ दिनसम्म लाग्छ ।’

यस्तै यात्राहरूलाई पार गर्दै इकोअर्बले ५ वर्षदेखि हात्तीको गोबरबाट कागज बनाइरहेको छ ।

सन्नीले खुःशी हुँदै भने, ‘युट्युबमा देखेको कुरालाई प्रयोगमा ल्याउने अवसर पाएँ । कागज उत्पादन गर्न थालेपछि सबैले चासो दिइरहेका छन् । हामीले उत्पादन गरेको कागजबाट बनेको सामानहरू अन्तर्राष्ट्रियस्तरमा समेत माग भइएको छ ।’

सबै तयारी भइसक्दा पनि उनलाई व्यवसाय चलाउन सक्दिनँ कि भन्ने लागेको थियो । तर कोष्टारिकामा समेत ‘बीन भाओगे’ भन्ने एक गैरनाफामुखी संगठनले इकोअर्बबाट उत्पादित कागज प्रयोग गरेर आफ्नो ब्रोसर छापेको थाहा पाएपछि उनी यसै बस्न सकेनन् । त्यसपछि आफ्नो उत्पादन नेपालमा मात्र नभई विश्व बजारमा स्थापित गर्ने हौसला मिलेको उनी बताउँछन् । यतिमै उनको उद्देश्य पूरा नहुने रहेछ, उनीसँग त दिगो विकल्पहरू प्रदान गरी नेपालमा एक ‘शून्य फोहोर’ आन्दोलन स्थापित गर्ने ठूलो सामाजिक लक्ष्य छ । उनले भने, ‘हामी रिसाइक्लिङमा विश्वास गर्दर्छौँ ।’

यो समयसम्म आइपुग्दा पनि उनीहरुले कम्पनीबाट कुनै तलब लिएका छैनन् । यसबाट आएको पैसा कम्पनीलाई नै विस्तार गर्न लगाइरहेका छन् । उनी भन्छन्, ‘हामीले अहिलेसम्म कम्पनीबाट कुनै तलब नलिईकन काम गरेका छौँ, यहाँको आम्दानीले कम्पनीको पुजीँ बढाउँदै गइरहेका छौँ ।’

यसरी यो व्यवसायलाई विस्तार गर्दै इकोअर्बका उत्पादनहरू विश्वका अरु बजारमा पु¥याउने योजना उनको छ । तर सामान पठाउने व्यवस्था झन्झटिलो भएको उनी बताउँछन् ।

अहिले यस कम्पनीले ७ सयभन्दा धेरै किसिमका सामग्रीहरू उत्पादन गर्दै मासिक दुई लाखसम्म आम्दानी गरिरहेको उपाध्यायको भनाइ छ ।
‘अहिलेचाहिँ हामीले नयाँ उत्पादनहरू बनाउँदै छौँ । हात्तीको गोबरबाट बनेको कागजहरूको सीमित ठाउँमा प्रयोग गर्न मिल्ने हुनाले नेपाली समाजमा यसको प्रयोग कतिपय ठाउँमा गर्न नमिल्ने परम्परागत विश्वास छ । यसलाई परिवर्तन गर्न गाह्रो हुने हुनाले हामी नयाँ उत्पादन जस्तै : बनाना पेपर (केराबाट) र हेम्प पेपर (हेम्पबाट) बनाउँदै छौँ, उपाध्याले भने ।

भिजिटिङ कार्डको माग उच्च छ । एसिया फाउन्डेसन, भेस्पर वाइन, सापोरोर जापानी भोजनालय, नेचर अर्थ र नुगाले इकोअर्बबाट उत्पादनहरू खरिद गरेका केही कम्पनीहरू हुन् । मानिसहरूले आजकाल भिजिटिङ कार्डहरू र अन्य उत्पादनहरूको लागि पनि अर्डर गर्न थालेका छन् । ‘हाम्रो उत्पादनसँग खुसी हुनुभएकाहरूमध्ये केही अन्य उत्पादनहरू लिनको लागि भनिरहनुभएको छ’ उनले खुसी हुँदै भने, ‘अहिले चीन र इटालीमा धेरै मात्रमा माग भएको छ ।’

उनलाई यस कामको प्रचारका लागि ‘नेपाल कम्युनिटी’ले सहयोग गर्दै आएको छ । कम्युनिटीले एउटा नेटवर्क निर्माण गर्न सहयोग गरिरहेको उपाध्यायले बताए ।

यसरी सन्नीजस्तै युवाहरूको नयाँ सोचहरूले हाम्रोजस्तो विकासउन्मुख देशलाई सकारात्मक र व्यवस्थित बनाउन धेरै सहयोग पुगेको छ ।

कागजको उत्पादनले सौराहमा हात्तीको गोबरको व्यवस्थापनमा पनि मदत गरिरहेको छ । जुन उनीहरूको सबैभन्दा ठूलो समस्या थियो । साथै, हाम्रो पर्यावरणमैत्री उत्पादनहरू प्लास्टिकमा निर्भर रहेको हुँदा त्यस्ता प्लास्टिकहरूको प्रयोगमा कमी ल्याउन समेत यसले मदत गरेको छ ।

आजको युगमा वातावरणमैत्री उत्पादनहरूको विश्वभरि आवश्यक छ । त्यसैले गुणस्तरमा अझै ध्यान दिएर हाम्रा नेपाली उद्यमीहरूले सुरु गरेका कम्पनीका उत्पादनहरूलाई बाहिर पठाउन सके उनीहरूलाई हौसला मिल्ने र साथै उनीहरूको उद्यमलाई अन्तर्राष्ट्रियस्तरमा अगाडि बढाउन समेत टेवा पुग्दछ ।

यसरी नयाँ किसिमका उद्यम गरी यहीँ रोजगारी सिर्जना गर्ने यस्ता व्यवसायलाई प्रवद्र्धन गर्न सरकारले उद्यमीलाई दिने सहुलियत ऋण सहज बनाउनु पर्छ । अनि मात्र दिनहुँजसो हजारौँको संख्यामा खाडीलगायत अन्य मुलुकमा पसिना बेच्न जाने युवा जमातको पाइला रोकिन्छ र यहीँ केही गरेर आत्मनिर्भर बन्ने प्रेरणा जाग्छ ।

लेखकबाट थप

अफगानिस्तान : २० वर्ष लामो संघर्ष, कसले के पायो ?

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, कम्तीमा आधा पास हुने

सामाजिक उद्यम ‘बिहानी’ : बुढेसकालको सारथि

बाढी पहिरोको त्यो कहर, महिना दिनसम्म पनि कष्टकर जीवन जिउन बाध्य छन् पीडित

लकडाउनले जन्माएको एउटा उदाहरणीय सामाजिक उद्यम : अष्ट्रेलियामा अभ्यास नेपालमा प्रयोग

४ वर्षमा २ पिल्लर : धादिङको रिमाल्डी पुल, लापरवाह र गैरजिम्मेवार विकासे प्रथा

महिला उद्यमी श्याम बदन : जसले दुर्लभ नेपाली संस्कृतिलाई क्राफ्ट्को माध्यमबाट ३८ वर्षदेखि विदेशमा चिनाईन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?