सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, कम्तीमा आधा पास हुने

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइएको छ । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाइभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुनेगरी परीक्षा खुकुलो बनाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो ।

परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुवै परिवर्तन गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए ।

कति अंक ल्याए पास भइन्छ ?

लिखित परीक्षाका लागि विभागको वेबसाइटमा प्रश्न राखिएको छ । वेबसाइटमा राखिएका पाँच सय प्रश्नभित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा. भुषालले बताए ।

कुन खण्डबाट कति प्रश्न सोधिनेछ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उनले बताए ।

नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अंक ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ ।

लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अंक थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो । उनले भने, ‘लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अंक पहिले ५० भएकामा अहिले ६० बनाइएको छ ।’

प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले स–साना गल्ती गरे पनि अनुत्तीर्ण नहुने मापदण्डमा व्यवस्था छ ।

कस्तो गल्तीलाई ध्यान दिने

प्रयोगात्मक परीक्षामा ८ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनै–कुनैमा सानो गल्ती भइहालेमा पनि पास हुने व्यवस्था रहेको प्रवक्ता डा. भुषालले बताएका छन् ।

पहेँलो धर्कामा छुँदा, एक पटक केही गरी गाडी बन्द भएमा वा मोडमा बत्ती नबाल्दा पनि छुट दिइने व्यवस्था छ तर यस्तो कुरामा भने ध्यान दिनु जरुरी छ । उनले भने, ‘उकालोमा रोकर अड्याउनुपर्नेमा गल्ती हुँदा भने फेल हुनेछ ।’

भारत, चीन, बेलायत, अमेरिकालगायतका देशमा भन्दा हाम्रो अप्ठ्यारो परीक्षा प्रणाली भएकाले परीक्षा प्रणाली केही सजिलो बनाउन लागिएको विभागले जनाएको छ ।
अरु देशमा ६०/७० प्रतिशतसम्म पास दर रहेकामा नेपालमा २५/३० प्रतिशतको हाराहारीमा मात्रै सहभागी पास भएको पाइन्छ । नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ ।

चालकको व्यवहारका कारण दुर्घटना हुने र दुर्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा. भुषालले बताए । परीक्षा प्रणाली कमजोर हुँदा दुर्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उनले बताएका छन् ।

दुर्घटना चालकले नजानेर वा हेलचेक्र्याइँको कारणले हुनेगरेको उनको भनाइ छ । चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएर दुर्घटना भएको पनि उनले बताए ।

सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि दरखास्त दिने व्यक्तिको योग्यता के हुनुपर्दछ ?

१. ठूलो सवारीको निम्ति २१ वर्ष पुगेको व्यक्ति ।
२. मझौला तथा साना सवारीको निम्ति १८ वर्ष पुगेको हुनुपर्छ ।
३. मोटरसाइकल तथा त्यस्तै अन्य सानो २ पांग्रे सवारीको हकमा १६ वर्ष उमेर पुगेको ।
४. छारे रोग भएको वा बौलाएको वा एकाएक रिँगटा लाग्ने वा मुर्छा हुने किसिमको रोग नभएको व्यक्ति ।
५. आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक भएको व्यक्ति ।
६. साधारण ध्वनि संकेत, आवाज सुन्न सक्नेगरी बहिरो भएको व्यक्ति ।
७. रातो, हरियो, पहेँलो इत्यादि रंगहरू तुरुन्त छुट्याउन सक्ने व्यक्ति ।
८. रतन्धो नभएको व्यक्ति ।
९. हात खुट्टा शक्त भई काम दिन सक्ने व्यक्ति । तर, अपाङ्गको निमित्त खास किसिमले बनेको सवारीको निमित्त यो खण्डको बन्देज लागू हुने छैन ।
१०. ठूलो र मझौला सार्वजनिक सवारीको लागि ६० वर्ष उमेर पूरा नभएको कुनै पनि व्यक्ति ।
११. सानो सवारी चलाएको २ वर्ष पूरा नभएसम्म मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिइने छैन ।

पास हुने दर कमले ल्याएको समस्या के हो ?

अहिले पास हुनेको दर कम हुँदा गैरकानुनी बाटोबाट अनुमतिपत्र लिन खोज्ने प्रवृत्ति रहेकामा त्यसलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । सेवाग्राहीले केही गरेर पास गर्न सकिएन भने अलिअलि खर्च गरेर भए पनि पास गरौँ भन्ने सोचाइमा विकल्प खोज्ने प्रवक्ता डा. भुषालले बताए ।

त्यस्तै, पटक–पटक एकै जना व्यक्ति परीक्षा दिन जानुपर्दा यातायात कार्यालयमा सधैँ भीड भइरहेको छ । पास हुने दर बढ्दा बजारमा सवारी चालकको कमी हुने छैन । एउटै सेवाग्राहीले उही सेवा सधैँ दिनुपर्दा कार्यालयलाई झन्झट भएको र सवारी साधन चलाउँछु भन्नेले चलाउन नपाएको प्रवक्ता डा. भुषालले बताए ।

यसअघि विभागले लिखित परीक्षामा सहभागी सेवाग्राहीले प्रयोगात्मक परीक्षामा एक पटक उत्तीर्ण नहुँदा अर्को दुई पटक सहभागी हुन पाउने व्यवस्था गरेको थियो । नयाँ मापदण्डमा पनि यसलाई निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?