अफगानिस्तान : २० वर्ष लामो संघर्ष, कसले के पायो ?

यो २० वर्ष लामो संघर्षमा यति धेरै तनावका बावजुद कसलाई फाइदा पुग्यो त ? यसबीचमा को सफल भयो त ? अमेरिकाले आफ्नो मिसन पूरा भयो भने पनि तालिबानले विजयोत्सव मनाए पनि आखिर युद्धको नाममा ज्यान गुमाउने लाखौँ नागरिक तथा सैनिक जवानहरू छन् । खर्बाैँ रकम कर संकलन गरी पठाउने अमेरिकी नागरिकहरू । अफगान नागरिकहरू यथार्थमा पीडित हुन् ।

न्यूयोर्क टाइम्समा एक लेखकले उल्लेख गरेका थिए,‘यो लामो युद्धमा यदि कसैलाई फाइदा भयो भने, अमेरिकी मिलिटरी इन्डस्ट्रियल कम्प्लेक्सलाई मात्रै फाइदा भयो । अरु सबैलाई घाटा ।’

अब के हुन्छ त्रासमा अफगानी नागरिक

सडकहरू अझै खाली छन्, त्यहाँ धेरै यातायात छैन। मानिसहरू डराएका छन् र सोच्छन् कि कुनै पलमा जेपनि हुन सक्दछन्, त्यसैले उनीहरू घरभित्रै बस्दैछन् । मानिसहरू केही स–साना खुला भएका किराना पसलहरूबाट आफूलाई आवश्यक सामानको पूर्ति प्राप्त गरिरहेका छन् । तर मुख्य रूपबाट ठूला बजार र सपिङ मल यतिबेला सबै बन्द छन् । पछिल्ला केही दिनहरूमा डलरको मुल्य बढेको छ र अफगानिस्तान एक आयात आधारित अर्थव्यवस्था भएकोले सबै कुरा अलिकति महँगो हुने समेत अनुमानित गरिएको छ ।

ग्रामीण क्षेत्रका मानिसमा खडेरीको व्यापक प्रभाव परेको छ । मानिसहरूले आफ्नो जीविका चलाउन पाइरहेका छैनन् । शहरी क्षेत्रका मानिसहरू असुरक्षित महसुस गरेकाले उनीहरूले आफ्नो जीविकोपार्जन गर्न सकिरहेका छैनन् ।

धेरै बजार महँगीबाट पनि प्रभावित भएका छन् जुन कोभिडले अर्थतन्त्रमा पारेको प्रभावमध्ये एक हो । तर तालिबानको यस्तो व्यवहारले झन्अर्थतन्त्रमा र आम नागरिकमा जीवनमा ठूलो प्रभाव परेको देख्न सकिन्छ ।

तालिबानले सहरको सुरक्षा, ट्राफिक समेत नियन्त्रणमा लिएको छ । उनीहरू जताततै छन् । उनीहरू प्रत्येक एकल वर्गमा छन् र त्यहाँ उभिन्छन् । उनीहरू यो सुनिश्चित गर्न चाहन्छन् कि त्यहाँका जनताहरू नियन्त्रणमा छन् या छैनन् ।

प्रार्थनाको समयमा पसलहरूलाई बन्द गर्न लगाइएको छ । मानिसहरूलाई मस्जिद जान बाध्य पारिएको छ । के उनीहरूले दाह्री काटेका पुरुष वा हिजाब नलगाएका महिलाहरूलाई दण्ड दिनेछन् ? यहि डर मिश्रीत कौतुहलताका कारण साँच्चै भन्नुपर्दा अन्यौलता छाएको छ, अफगानीस्तानमा ।

चीनले तालिबान सरकारलाई स्वागत गर्नुको फाइदा के ?

काबुलबाट अहिलेसम्म चीन र रुसले आफ्ना दूतावास फिर्ता गरेका छैनन् । अर्थात् तालिबान शासनलालाई चीन र रुसले समर्थन नै देखाएका छन् । चीनले त घोषणा गरिसकेको छ, तालिबानको बन्ने नयाँ सरकारसँग मित्रता गाँस्न तयार रहेको भनेर । केही विश्लेषकहरूको भनाइअनुसार, यसका पछाडि चीनको ‘वान बेल्ट वान रोड इनिसिएटिभ’को रणनीतिक स्वार्थ लुकेको छ । चीनले त्यही फाइदा सोचेरै तालिबान सरकारलाई स्वागत गरेकोटिप्पणी हुन थालेका छन् ।

यद्यपि चीनले अहिले स्वागत गर्नुको पछुतो पछि गर्नुपर्नेछ भन्दै टिप्पणी पनि हुन थालेको छ । चीन यदी मुस्लिम कट्टरपन्थी तालिबानप्रति उदार छ भने उता चीनमै पीडित बनेका उइघुर मुस्लिम अल्पसंख्यकको हालत दयनीय बन्दैछ । यसैले चीनले हाल आफ्नो आर्थिक नाफा हेरिरहेको छ ।

महिला र बालबालिकाहरूसँग कस्तो व्यवहार रह्यो र अब के होला

तालिबानहरूले महिला र बालबालिकाहरूसँग कस्तो व्यवहार गर्लान् भन्ने विषय पनि यतिबेला निकै कौतुहलतापुर्वक हेरिएको विषय हो । पश्चिमा शक्ति राष्ट्रहरूसहित कैयौँले तालिबान सत्तामा आएपछि दुई दशकअघिकै जस्तो महिला र बालिकाको भविष्य फेरि अन्धकारमा धकेलिने चिन्ता व्यक्त गरिरहेका छन् । तालिबानले पहिलाकै जस्तो महिलाहरूलाई पढ्न र काम गर्न नदिनुका साथै परिवारका पुरुष सदस्यबिना बाहिर निस्किन नदिने धेरैको अनुमान छ ।


तर तालिबानले यसपाली त्यस्तो अवस्था नहुने बताएको छ । यद्यपी उसको विगत हेर्दा यकिन गर्न भने सकिन्न । तालिबानी प्रवक्ताले महिलाहरूलाई स्वतन्त्रता दिने बताएका छन् । महिलाहरू सार्वजनिक स्थलमा एक्लै हिँड्न सक्ने स्कुल जान सक्ने तर बुर्का लगाउनुपर्ने तालिबानले बताउन थालेको छ । खासमा महिला अधिकार दिने उनीहरूले भनेका छन् । यतिमात्रै नभएर कुनै पनि निष्पक्ष मिडियाले आफूहरूको आलोचना समेत गर्नसक्ने समेत तालिबानले जनाएको छ ।

किन मौन रह्यो अफगान सेना

अफगान सेनाले तालिबानविरुद्ध कुनै जवाफी हमला वा प्रतिक्रिया केही किन दिन सकेन वा चाहेन ? तालिबान राजधानी काबुल छिरिरहँदा के त्यहाँ सेनाको उपस्थिति नै थिएन ? यी प्रशनहरु पछिल्लो समय सर्वाधिक चासोका विषय हुन् ।

तालिबानले सत्ता कब्जा गर्न सक्नुको पछाडि सेनाले तालिबानमाथि कुनै प्रतिक्रिया दिएको थिएन । तर यसको पनि खास कारण थियो । राष्ट्रपति अशरफ घानीले देश छाडेर जाँदै गर्दा फेसबुक पेजमा आफू कुनै रक्तपात नहोस् भन्ने चाहेकाले शान्तिपूर्ण रूपमा देश छाडेर भागेको बताएका थिए ।

तर यसको यथार्थ अर्कै थियो । कारण के भने चरम भ्रष्टाचार, अनियमितता, अनैतिक नेतृत्वका कारण सेनाको गिरेको मनोबल ।

कुशासनको हदसम्म भोगेका सेनाले खेपेका दुखसुन्दा जोकोहिलाई पत्याउनै मुस्किल पर्छ । त्यसैले अफगान सेनाको अघि राष्ट्रपति घानी अलोकप्रिय बनिसकेका थिए । घानी अफगान सेनाका लागि एक धोकेवाजको रूपमा चिनिएका कुराहरू बाहिर आएका थिए ।
अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति छँदा अफगान सरकारले अमेरिकामा गएर शान्ति वार्तामा हस्ताक्षर गरेको थियो । जुन कुरा अफगान सेनाका लागि एक गम्भीर धोका थियो । लज्जाको विषय थियो । आफ्नो देशको सेना हुँदाहुँदै विदेशीको भूमिमा गएर आफ्नै सरकारले पिठ्यू पछाडिबाट लात हानेर सेनाको वास्ता नगरिकन वार्ता गर्छ भने त्यो गम्भीर धोका हो भन्ने धारणा अफगान सेनाको थियो ।

सेनाले भनेको थियो कि, राष्ट्रपति हाम्रो दुश्मनसँग हाम्रै पछाडि गएर वार्ता गरेर हस्ताक्षर गर्नसक्ने सरकार विरोधीका लागि काम गर्छन् ।

अर्काे कारण थियो कि, जब अमेरिकी जो बाइडेन सरकारले अमेरिकी सेनालाई फिर्ता लैजान थाल्यो, यो त अफगान सेनाका लागि झनै हिनताबोध गराउने लज्जास्पद घटना थियो । अफगान सेनालाई लाग्यो कि, अब तालिबानसँग कसरी भीडन्त गर्न सकिएला र ? खासमा तालिबानसँग लड्नुपर्ने बेलामा अमेरिकी सेना फिर्ता गइदिँदा अफगान सेना थप चिढिएको थियो । त्यसो त, त्यसअघि नै राष्ट्रपति घानी अमेरिका पुगेर सेना फिर्ताको निर्णय गरेका थिए । जवकि, त्यस निर्णयको विरोध सेनासहित धेरैले गरेका थिए ।

तालिबानले भने सेनाविरुद्ध एक मनोवैज्ञानिक रणनीति पनि अपनाएको थियो । तालिबानले सेनाहरूलाई एक चिठी पठाएको र त्यस चिठीमा तिमीहरू हामीविरुद्ध लड्दैनौ भने हामी तिमीहरूलाई जिउँदै छाड्नेछौँ । र तिमीहरूको परिवारलाई पनि केही गर्दैनौँ । तर यदि हाम्रो विरुद्ध लड्न आयौ भने तिमिहरु र तिम्रा परिवारलाई छाड्नेछैनौँ भनेर धम्कीपूर्ण सन्देश पठाउन थालेका थिए ।

महिला तथा युवतीका लागि ज्यादै क्रुरतापूर्ण व्यवहार गर्ने तालिबानहरुको ईमोशनल ब्ल्याकमेलिङका कारण पनि उनीहरुको आत्मबल कमजोर भएको थियो । तर यो कुरा अफगान सरकारले न त बुझ्झ्यो न कोशिस नै गर्यो । यतिन्जेल तालिबानले विवाहका लागि युवतीहरूलाई अपहरण गर्न थालेको भन्नेजस्ता समाचार उनीहरूले सार्वजनिक गर्न थालिसकेका थिए । (भारतीय पत्रकार ध्रुवी राठीको भिडियो श्रृंखलामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?