४ वर्षमा २ पिल्लर : धादिङको रिमाल्डी पुल, लापरवाह र गैरजिम्मेवार विकासे प्रथा

धादिङ । रिमाल्डी पक्की पुल ४ वर्षदेखि दुई पिल्लरमा अलपत्र परिरहेको छ । सदरमुकाम धादिङबेंसीबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित उत्तरपूर्वी धादिङको निलकण्ठ नगरपालिका–१४ र नेत्रावती डब्जोङ गाउँपालिका–४ जोड्ने थोपल खोलाको रिमाल्डी पक्की पुल ठेकेदारको लापरवाहीको कारण ४ वर्षदेखि अलपत्र परेको हो । लामो समयदेखि केवल दुईवटा पिल्लर खोलालाई हेर्दै निर्माण व्यवसायी कुरिरहेको देखिन्छ ।

रडका टुक्राहरू असरल्ल छाडिएका छन्, काठका टेका र बोर्डहरू खोलाले तान्नै लागिरहेको छ । गिटीबालुवा छरपस्ट छन् । बालुवा बगेर छेउछेउबाट खस्दै छ । साइडमा एउटा सामानको रेखदेख गर्ने मान्छेसम्म छैन । हेर्दा यस्तो लाग्छ यो साइड बसाइँ सरेको घरजस्तो छ ।

स्थानीय बासुराम अधिकारी भन्छन्, ‘राजनीतिक अस्थिरताले हो या पहुँचवालाहरूको छायाले गर्दा हो, १८ महिनामा सक्नुपर्ने काम ४ वर्षसम्ममा पनि नसक्ने अनि ठेक्काको म्याद थप गरी त्यही निर्माण व्यवसायीलाई काम गर्न दिने निकाय वा सडक विभागलाई के भनेर सम्बोधन गरौँ हामी ?’

देशमा हाल तीन तहको सरकार छ । सरकारको बजेटमा राष्ट्रिय गौरवको आयोजनादेखि ग्रामीण क्षेत्रको सडक र पुल विस्तारका कार्यक्रम उच्च प्राथमिकतामा पर्दै आएका छन् । तर विकास निर्माणसँग जोडिएका यस्ता परियोजनाहरू तोकिएको समयभित्र कमै मात्रामा पूरा हुनेगरेका छन् ।

विशेषगरी ठूला आयोजनाको निर्माणमा ठेकेदार कम्पनीको लापरवाही हुँदा नियामक निकाय र जनप्रतिनिधि समेत बेखबर बन्नेगरेका छन् । जसको फाइदा उठाउँदै वर्षायाममा ताकेता गरेर छिटो काम सक्ने परिपाटीले विकासका काम असारे प्रवृत्तिमा सीमित भएको स्थानीय युवा नेता हरि सापकोटाको बुझाइ छ ।

निर्माण व्यवसायी कम्पनी  पिपि जेभिले चार वर्षदेखि ठेक्का लिएर काम नगर्दा यहाँका जनताले धेरै दुुःख भोग्नुपरेको छ । उक्त कम्पनीका अध्यक्ष प्रकाश गौतमले रिमाल्डी पक्की पुल निर्माणको ठेक्का पाएर काम सुरु पनि गरिहाले पनि पुुल भने ४ वर्षदेखि बन्न ससकेर अलपत्र अवस्थामा रहेको छ । भएको एउटा झोलुङगे पुल पनि पहिरो आएर अवरुद्ध छ, जसका कारण आवतजावत गर्न खोला कहिले सानो हुुन्छ भनेर बाटो कुर्नुबाहेक अरु विकल्प नभएको तितो भोगाइ यहाँका बासिन्दाहरूसँग छ । ‘सरकारी पदाधिकारीलाई खोला तार्न त गाउँपालिकाको जेसीबी छ, तर स्थानीयलाई कसले हेर्छ र ?’ स्थानीय शंकर सापकोटाले भने, ‘वर्षभरि काम नगर्ने तर आर्थिक वर्षको अन्त्यतिर काम गरेजस्तो गर्ने निर्माण व्यवसायीको परिपाटीले गर्दा दुःख भने हामीले भोग्नुपरेको छ ।’

सदरमुकाम धादिङबेँसीबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित भए पनि यस्तै गैरजिम्मेवार निर्माण व्यवसायीका कारण जनताले कष्टकर जीवन जिउन बाध्य भइरहेको भन्दै निर्माण व्यवसायीप्रति उनले आक्रेश पोखे । पक्की पुल समयमै नबन्दा बोकेरै मोटरसाइकल वारपार गर्नुपरेको उनले बताए ।

२०७७ साउनदेखि मुस्किलले १ सय दिन काम भएको स्थानीयहरू साक्षी छन् । पक्की पुलको फाउन्डेसन खन्ने क्रममा खोला वारपार गर्ने एक मात्र झोलुंगे पुलको एकापट्टिको भाग क्षतिग्रस्त बनेको छ । फाउन्डेसन खन्ने क्रममा नै बनेको पहिरोले पैदलबाटो र सयौं रोपनी खेतको सिँचाइका दुईवटा कुलो समेत पूर्णरुपमा मेटिएका छन् । तर यसको जिम्मा कोही लिन चाहँदैनन् । यस विषयमा कुरा गर्दा ठेकेदार कम्पनीका सञ्चालक प्रकाश गौतम आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।

यही झोलुंगे पुल र पैदल बाटो भएर दैनिक ६० भन्दा धेरै विद्यार्थी र शिक्षकहरू विद्यालय आउनेजाने गर्दथे । खोलाको दुवैतिरका सयौँ किसानहरूको खेत खोलावारिपारि छ । दैनिक उनीहरू खेतीपातीको काममा नजुटे परिवारको हातमुख जोर्न मुस्किल हुन्छ । यही पहिरोले गर्दा यहाँका स्थानीयको दैनिकीलाई नै नराम्ररी प्रभाव पारेको छ ।

यस पहिरोले मानवीय क्षति निम्तिन सक्ने सम्भावना पनि उत्तिकै छ । यही पहिरोले निलकण्ठ नगरपालिका १४ मा बिजुलीको खम्बा लड्नलागेको छ । यसबारेमा विद्युत् प्राधिकरणलाई बुझ्दा ठेकेदारलाई भन्न सुझाउँछन् । तर निर्माण व्यवसायीले भने कुनै चासो नदिने गरेको स्थानीय पीडित बासुराम अधिकारी बताउँछन् । जीर्ण झोलुंगे पुल, पैदल बाटोमाथि खस्दै गरेको पहिरो र लडन लागेको विद्युतीय ट्रान्समिटरको पिल्लरजस्ता अवस्थाले अरु सम्भावित क्षति निम्त्याएको उनी बताउँछन् ।

पुलबाट पीडित स्थानीय सहकारीका अध्यक्ष तथा शिक्षक शिवप्रसाद सापकोटा भन्नछन्, ‘त्यो झोलुंगे पुल १५ वर्षअघि आफूले निर्माण गरेको र अहिले न त्यो रहने भो, न त यो नै बन्ने देखिन्छ । आफ्नो खेतमा खोला बगिरहेको छ, निर्माण सामग्री थुपारिएको छ । मेरो घर निर्माणकर्ताको आवासको लागि दिएको छु, सिर्फ पक्की पुल बनोस् भन्नाको खातिर ।’

पुल निर्माण साइडमा आफ्नो घरबाट बत्तीको लाइन दिएको तर भुक्तानी नपाएको दुःखेसो अर्का स्थानीय युवा रामबाबु परियारले बताए ।

निलकण्ठ नगरपालिका १४ का किसान तथा स्थानीय नेता बासुराम अधिकारी आफ्नो खेत पुरिएको, पखेरो भत्काइएको, पैदलबाटो नै हराएको, झोलुंगे पुलको टाउको काटिएको, दुई–दुईवटा विकासे कुलो पूरै मेटाइएको ब्यथा एकैचोटि सुनाउँछन् । उनले भने, ‘पुल बनाउनका लागि भनेर खोलाको धार परिवर्तन गरिएको छ, खोलामा आएको बाढीले भर्खरै रोपेको धान समेत बगायो ।’

उता नेत्रावती डब्जोङ गाउँपालिका– ४ तिर पनि खोलाको धार किसानको खेततिर सोझिएको छ । १० रोपनीभन्दा धेरै खेत पुल निर्माणका लागि आवश्यक पर्ने भन्दै निर्माणले ओगटेको छ । किसानले खोलाको कटान रोक्न लगाएको पक्की पर्खाल समेत त्यस क्रममा भत्काइएको छ । अहिले पुल निर्माणले खोलाको भागलाई ओगटेको कारण खोला किसानको खेत हँुदै बगिरहेको प्रत्यक्ष देख्न सकिन्छ ।

एकातिर निर्माण व्यवसायी र सडक विभागका इन्जिनियरहरूले यही साइडमा पिल्लर हाल्न भनी खनेको खाल्डोमा परी एक युवकले ज्यान समेत गुमाइसकेका छन् । उनको परिवारले ५ लाख पाउने गरी निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय चितवनसँग सम्झौता भए पनि आजको दिनसम्म क्षतिपूर्ति पाउन नसकेको पीडित परिवारको गुनासो छ ।

ज्योति विकास बैंक, सामारी शाखामा कार्यरत महेश तामाङका अनुसार पीडित परिवारले अहिलेसम्ममा ७५ हजार मात्र पाएको र ४ लाख २५ हजारको चेक बाउन्स भएको बताए ।

श्रमिकहरूको बेथा

यहाँ काम गर्ने बहुसंख्यक श्रमिकहरू थारु युवाहरू भएका र उनीहरूले पाएको सास्ती अकल्पनीय छ । पारिश्रमिक त टाढाको कुरा । साइडमा काम पनि दिन नसक्ने, घर जाने भाडासम्म पनि नदिएको उनीहरू बताउँछन् । सुरेस थारू भन्छन्, ‘बन्दीजस्तै भएर हामीले ०७७/७८ को लकडाउनमा ठूलो हिस्सा यही साइडमा गुजारेका छौँ । हामीलाई काम नरोक्ने र प्रत्येक दिनको ज्याला दिने बाचा गरेर झिकाएको ठेकेदारले न त काम दिए, न त काम गरेको दिनको ज्याला नै । घर फर्किँदाका कथाहरू काहालीलाग्दा र दुःखदायी छन् ।

अझ साइडमा काम गर्ने अरु श्रमिकहरूका कथा पनि अझै दर्दनाक छन् । एक हुल तराईका गरिब युवाहरू साइडमा देखिन्थे । हप्तामा दुई दिन काम पाएको कुरा उनीहरू सुनाउँछन् । प्रत्येक श्रमिकले तीन महिनाभन्दा बढीको पारिश्रमिक नपाएको अमिलो भोगाइ उनीहरूको आँखामा देखिन्छ । ‘हाम्रो रगत र पसिना बगाएर गरेको श्रमको मूल्य तिर्नु पर्दैन ? हाम्रो रगत पसिनाले अलिकत्ति पनि पोलेन ?’ एक श्रमिक प्रश्न गर्छन् ।

सरकार, जनप्रतिनिधि र निर्माण व्यवसायीप्रति पीडित किसानका प्रश्नहरू :

  •  एक वर्षमा बन्नुपर्ने पुल ४ वर्षसम्म किन अलपत्र पार्नुहुन्छ ?
  •  खोला वारपार गर्ने एकमात्र झोलुंगे पुल किन जीर्ण पारेर छाड्नुभयो ?
  •  नयाँ बनाउन नसक्ने निर्माण व्यवसायीलाई पुरानो भत्काउने अधिकार किन दिएको सरकार ?
  •  विद्यालय खुल्नेबित्तिकै ६० भन्दा बढी बालबालिका कसरी वारपार गर्छन् भन्ने थाहा छ ? तपाईंहरूलाई स्थानीय जनताको मेडिकल, मिलघट्ट, आर्यघाट, बजार, बसस्टेसन जाने बाटो बन्द गरेर दुःख दिने अधिकार कसले दियो ?
  •  निर्माणसम्बन्धी निर्देशिका पालना गर्नुपर्दैन ? त्यही पुलको खाडलमा परेर डेढ वर्षअघि ज्यान गुमाएका एक युवाको परिवारले सहमतिअनुसारको क्षतिपूर्ति पाउनु पर्दैन ?

निर्माण व्यवसायी र सडक विभागको काम लिने काइदा

सम्बन्धित कार्यालयलाई प्रभावमा पारेर आफूअनुकूल निर्णय गराउँदै म्याद थप गर्ने र लागत बढाउने बेइमानी सडक विभागले गरेको स्थानीय बासिन्दाहरूको बुझाइ छ । जिससले स्थानीय निकायका जनप्रतिनिधिहरूको मुख बन्द गरी राखेको र राजनीतिक पहुँचको दुरूपयोग गर्दै विकास र समृद्धिका लागि सरकार नै बाधक भएको स्थानीयहरूको गुनासो छ ।

चार-चार वर्षसम्म एउटा पक्की पुल निर्माण गर्न नसक्ने निर्माण व्यवसायीलाई सडक विभागले पटक–पटक किन म्याद थप गर्दै आइरहेको छ ? के गैरजिम्मेवारी र लापार्बाही गरेको आभास हुँदैन ? भन्दा सडक डिभिजन कार्यालयका इन्जिनियर कृष्णबहादुर खड्का भन्छन्, ‘रिमाल्डी पुल निर्माणका लागि ठेक्का पाएका निर्माण व्यवसायी प्रकाश गौतम केही वर्ष आफ्नो कन्ट्याक्टमा रहेको र उनले समयमै पुल निर्माणको काम सक्ने आश्वसन दिएर पटक–पटक म्याद थप्दै आएको हो । यो सबै निर्माण व्यवसायीको लापरवाहीले गर्दा हो ।’ स्थानीयहरू जनता र स्थानीय तहबाट भने केही बाँधाअड्चन नरहेको कुरा उनले बताए ।

सरकारीतर्फका इन्जिनियर भएर सोही पुल निर्माणका लागि पुलको जग या पिल्लर हाल्नका निम्ति गरिएको हजुरको गलत सर्वेक्षण र प्राविधिक लापरवाहीका कारण यहाँ पहिरो आएको छ र भइरहेको झोलुंगे पुल समेत जान लागेको अवस्थामा छ । पहिरो आउने क्रममा मान्छे हिँड्ने गोरेटो बाटोसम्म खोलामा पुगेको छ भनेर प्रश्न गर्दा उनले सजिलै प्रकृतिलाई दोष दिएर आफू उम्किन खोजे । ‘यो सब प्रकृतिले गर्दा हो, त्यसमा हाम्रो केही हात छैन् ।’ उनले भने ।

विकास निर्माणका क्रममा सरकारीतर्फबाट गएकाहरूबाटै प्राविधिक लापरवाहीका कारण आमनागरिकले कहिलेसम्म दुःख भोग्नुपर्ने हो ? आम नागरिकको सरकारप्रति प्रश्न रहेको छ ।

पुलसँग जोडिएका केही अन्य पक्षहरू :

धादिङबेँसी भर्‍याङभुरुङ सडक स्तरोन्नतिको एक चरण लगभग पूरा भएको छ । धादिङबेँसीदेखि पलाँखु खोलासम्म कालोपत्रे र पलाँखुखोलादेखि भर्‍याङभुरुङसम्म सडक ग्राबेल भएको हुनाले उत्तरी धादिङ जोड्ने सबैभन्दा राम्रो यही सडक हुनपुगेको छ । यद्यपि निर्माणाधीन रिमाल्डी पुलदेखि भर्‍याङभुरुङसम्मको खण्डमा नालीको वाल निर्माणमा भएको लापरवाही, मेसिनरी वालको कटौती आदिले हेलचेक्रयाई भएको पुष्टि गर्दछ । स्थानीय किसानहरूको कुनाखेत कालामाटा सिँचाइ कुलो ३ वर्षदेखि पुरिएको र खण्डित भएको अवस्थामा छ ।

वर्षात सुरु भएयता नेत्रावती डबजोङ खनियाबास र उत्तरी धादिङको रुबिभ्याली तीन गाउँपालिका जोड्ने यही सडक मात्र भएको छ । सदरमुकाम जोड्ने अन्य सडकहरू प्रयोग गर्नै नसकिने गरी बिग्रिएका छन् । त्यसो त नेत्रावती डबजोङ गाउँपालिकाले करिब पाँच करोड बजेट सडक सुधारमा मात्र खर्च गरेको गापा प्रमुख दुर्गकुमार शाक्य बताउँछन् । उनी नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि हुन् ।

यसरी धेरै जनताको जनजीविका र भावनासँग जोडिएको १८ महिनामा निर्माणसम्पन्न हुनुपर्ने यो पुल किन चौथो वर्षसम्म पनि अलपत्र भयो भनेर चासो लिने सामथ्र्य स्थानीय निकायका पदाधिकारीहरू, प्रदेश र संघीय सांसदहरूमा पनि देखिएन । उनीहरू सबैमा राजनीतिक पहुँचवाला ठेकदारको छाया परेको स्पस्ट बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?