१९ मङ्सिर २०७९, सोमवार

बाढी पहिरोको त्यो कहर, महिना दिनसम्म पनि कष्टकर जीवन जिउन बाध्य छन् पीडित

२०७८,श्रावण,२६,मंगलवार १०:१२

909
Shares

नेपालका अधिकांश पहाडी बस्तीहरू र त्यहाँसम्म पुग्न निर्माण गरिएका सडक सञ्जाल बाढीपहिरोको चपेटामा परेका छन् । धेरै जिल्लाहरू सडक सञ्जालबाट सम्पर्कविच्छेद भएका कारण जेठ, असार, साउन र भदौ महिना ग्रामीण भेगका पहुँचमार्ग समेत टुट्ने गरेका छन् ।

गत जेठदेखि साउन १८ सम्म भएका मनसुनजन्य विपतमा नेपालमा ६६ जनाको मृत्यु भइसकेको छ । ४० जना अझै बेपत्ता छन् । ८१ जना घाइते भएका छन् । देशका ७७ मध्ये ५५ जिल्ला बढ्ता प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । तराईमा डुबानको समस्यादेखि पहाडी बस्तीमा बाढी पहिरोको जोखिमले हरेक वर्षातमा निकै अप्ठ्यारो स्थिति ल्याउँछ । बाढी पहिरोका कारण सडक सञ्जाल क्षतविक्षत भएका कारण मानिसहरूको दैनिकी झनै कष्टकर भएको छ ।

मेलम्चीको त्यो कहर
बाढी पहिरोका कारण अति प्रभावित केही स्थानमा स्थानीयका न त सग्ला घरहरू न खेतबारी । पक्की सडक र पुलको नामोनिशाना छैन । ओत लाग्ने ठाउँ नभएर मानिसहरू विद्यालयको कक्षाकोठा र चौरमा बसिरहेका छन् । दजनौँ परिवारका सदस्य बाढीमा हेलिए । कति पशु चौपाया बगाए अहिलेसम्म एकिन हुन सकेको छैन । मानिस हिँड्ने गोरेटो बाटोसम्म पनि छैन । मानिसहरू शोकमा डुबेका छन् । भेटिएका मानिस र गाईवस्तुको सडेगलेको अवस्थाको शवबाट आउने दुर्गन्धले बसिनसक्नु छ । संक्रमण फैलिने डर उस्तै छ । एकातिर कोरोनाको महामारी अर्काेतर्फ प्राकृतिक विपत्ति ।

यतिबेला मेलम्चीबासी सबैभन्दा दुःखद् क्षण व्यतित गरिरहेका छन् । ट्रान्समिसन लाइन क्षतविक्षत भएका कारण लामो समयदेखि बाढी पहिरोपीडितहरू अँध्यारोमा छन् । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ३०–४० मिटर पर सारिएका पोलहरू फेरि बाढीले बगाएको छ । टुकीबत्ती बाल्न मट्तिेल चाहिन्छ तर कहाँ लिन जाने ? उनीहरू विकल्पविहीन र निरिह भएका छन् ।

पटक–पटक दोहोरिइरहन्छ उही नियति
सिन्धुपाल्चोक जिल्ला भौगोलिक दृष्टिले पहाडी भू–भाग हो । २ हजार ५४२ किलोमिटर ९८१ वर्ग माइलको क्षेत्रफलमा फैलिएको यो जिल्ला वाग्मती प्रदेशमा पर्ने सातवटा जिल्लाहरूमध्ये एक हो । यहाँ ३ वटा नगरपालिका र ९ गाउँपालिका रहेका छन् । अधिकांश भू–बनोट मध्य र उच्च पहाड भएका कारण यस जिल्लाले हरेक वर्ष बाढी पहिरोका कारण ठूलो क्षति व्यहोरिरहेको छ ।

७ वर्ष पहिले जुरे पहिरोले दिएको संकेत
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले प्राकृतिक विपत्तिले निम्त्याउन सक्ने क्षतिको संकेत ७ वर्ष पहिले नै दिएको थियो । तर सरकारले विस्तृत योजना र दीर्घकालीन समाधान खोज्नुको साटो सामान्य जस्तापताको जुगाड मात्र गरिदियो । त्यति मात्रै होइन जुरे पहिरोको सात वर्ष बित्दा पनि कतिपय पीडितले अझै राहत पाएका छैनन् । त्यसैले मेलम्चीबासी आत्तिएका हुन् । उनीहरूको पीडादायक कथाव्यथा छ, न छाना, न खाना, न नाना । उनीहरूको लागि भनेर संकलन भएको २ करोड २४ लाख रुपैयाँ सरकारी खातामा थन्किएको छ ।

श्रृङ्खलाबद्ध विपद्
भूकम्प गएको अघिल्लो साल २०७१ साउन १७ को मध्यराति पहाड खसेर सुनकोसी थुनिँदा मांखा, राम्चे, धुस्कुन र टेकानपुरका एक सय ४५ जनाले ज्यान गुमाएका थिए । ९७ घरमा क्षति पुग्यो । केही घरमा डुबान र केहीचाहिँ बस्नै नमिल्ने गरी क्षतविक्षत भए । त्यसबेला त्यहाँका दुई सय २० घर प्रत्यक्ष प्रभावित भएका थिए । यस पहिरोमा परी मृत्यु भएकाको परिवारले सरकारबाट प्रतिमृतक किरिया खर्च ४० हजार र एक लाख रुपैयाँ मात्र राहत पाएका छन् । भूकम्पपछि सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको आवास अनुदान नै पहिरोपीडितलाई दिने निर्णय गरेको थियो । सोहीअनुसार जग्गा हुनेले किस्ता लिएर घर बनाएका पनि छन् । नहुनेको अवस्था अहिले पनि उस्तै छ ।

अरु पाटाहरू पनि त्यस्तै अलपत्र अवस्थामा छन् । पहिरोले क्षतिग्रस्त तातोपानी नाकाको सडक अहिलेसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । सोही कारण नेपालले वर्षेनी अर्बाँैको घाटा बेर्हाेदै आएको छ ।

मेलम्ची खानेपानी आयोजना
पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना समेत बगाएको छ ।

मेलम्ची खानेपानी आयोजनालाई काठमाडौं उपत्यकाबासीको प्यास मेट्ने सबैभन्दा व्यावहारिक र दीर्घकालीन विकल्पको रूपमा हेरिँदै आइएको छ । यो परियोजना सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीबाट १७० एमएलडी ताजा पानी काठमाडौं उपत्यकामा ल्याउन डिजाइन गरिएको थियो । यांग्री र लार्के नदीबाट प्रतिदिन १७\१७ करोड लिटर थप गरी यसको आपूर्ति बढाउने योजना बनिरहेका बखत मेलम्चीमाथि प्राकृतिक विपद् आइपरेको छ । जसका कारण अब काठमाडौंबासीले अझै लामो समय प्रतीक्षा गर्नुपर्ने भएको छ भने यसको भविष्य समेत अन्यौलमा परेको छ ।

निर्माणस्थलभन्दा माथिबाट आएको गेगरसहितको बाढीका कारण मेलम्ची परियोजनामा कार्यरत आठ जना बेपत्ता भएका थिए । निर्माणस्थलमा रहेको बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको छ । कामदारका लागि बनाइएको क्याम्प, खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ ।

भू–बनोट कस्तो छ त ?
दक्षिण एसियाली मौसमविद्हरूले प्रकाशित गर्ने साउथ एसियन क्लाइमेट आउटलुकले यसपाली नेपालसहित यो क्षेत्रमा औसतभन्दा बढी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको यसअघि नै मौसमविद्हरूले बताएका थिए ।

काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थ सिन्धुपाल्चोकमा रहेका हिमनदी र त्यहीँका उच्च पहाडी भागमा धेरै पानी पर्ने प्रवृत्तिको कारण त्यहाँ विनाशकारी बाढी र पहिरो आएको बताउँछन् । कच्चा भू–बनोट, अविरल वर्षात्, भूकम्पका कारण चिरा परेको माटो सबै बग्दा मेलम्ची गेगरसहित बगेको थियो ।
लाङटाङ राष्ट्रिय निकुञ्जको हेलम्बु क्षेत्रमा रहेको ठाउँ हो भ्रेमथाङ । यो उपत्यकाजस्तै ४ वर्गकिलोमिटरमा फैलिएको छ । यहाँ केही साना ताल पनि छन् । यो भू–भाग समुद्री सतहदेखि ३ हजार ५ सय मिटर उचाइमा रहेको छ ।

धेरै अघि हेलम्बुका बासिन्दा अन्य क्षेत्रमा झैँ यहाँ पनि तीर्थाटनका लागि जाने गरेको पाइएको छ । पछिल्लो समय भने त्यहाँ तीर्थ जाने कुरा सुनिएको छैन । गत मंगलबार त्यहाँ ठूलो पहिरो गएको छ । यहीँको कालो माटो अहिले मेलम्चीको दोभानमा थुप्रिएको हो । कतिले हिमपहिरो अर्थात् ग्लासियर फुट्यो भने पनि मेलम्चीको शिरमा ग्लासियर नभएको विज्ञ बताउँछन् ।

मेलम्ची बाढी, विस्थापित र जोखिम
मेलम्ची र हेलम्बु नगरपालिकामा गरेर यसपटकको बाढी र पहिरोका कारण ९ सय जनाभन्दा बढी प्रभावित भएको सरकारी तथ्यांकले देखाएको छ । यो हालसम्मको तथ्यांक हो । ‘९ सयभन्दा बढी व्यक्ति बाढी पहिरोले प्रभावित भएको देखिएको छ’, सीडीओ अरुण पोखरेलले भने । एक सय ४० मिलिमिटरभन्दा बढी पानी परेमा त्यसले पहिरो जाने अवस्था ल्याउन सक्ने विज्ञहरू बताउँछन् ।

भ्रेमाथाङमा पहिरो खस्ने खतरा अझै टरेको छैन । पानी पर्नासाथ यस्तो घटना दोहोरिन सक्छ । यस वर्ष नभए अर्काे वर्ष पुनरावृत्ति हुन सक्छ । त्यहाँ पहिरोले घाउ बनाएर राखेको छ । यस्तो घाउले दिने जोखिम ४÷५ वर्षसम्म कायमै रहन्छ । त्यसैले यसको व्यवस्थापनका लागि सरकारलाई अल्पकालीन र दिर्घकालीन योजना बनाउन विज्ञले सुझाव दिएका छन् ।

इसिमोड र नेपाल इन्जिनियर्सको रिपोर्ट
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको अध्ययनले मेलम्ची विनाशको श्रृङ्खला मेलम्ची र इन्द्रावती खोलाको सिरानमा रहेको हिमालबाटै सुरु भएको देखाएको छ ।

इसिमोडको अध्ययनले मेलम्ची र इन्द्रावतीको सिरानमा रहेको जुगल हिमालको हिउँ असार १ गतेअघि धेरै मात्रा पग्लिएको देखाएको छ । इसिमोडले माथिल्लो यांग्री खोलाको सिरानमा रहेको मापन केन्द्रमा मेलम्ची बाढीको चार दिनअघि तापक्रममा वृद्धि देखिएको जनाएको छ । लगत्तै परेको पानीले हिउँ पगाल्न सहयोग पु¥याएको इसिमोडको रिपोर्टमा उल्लेख छ ।

इसिमोडले भ्रेमाथाङ क्षेत्रबाट ५ किलोमटर तल र ताल फुटेको ठाउँभन्दा झण्डै २ किलोमिटर तल पहिलादेखि नै पहिरोले बनाएको ताल रहेको उल्लेख गरेको छ ।

झण्डै ९ सय ५० मिटर लामो त्यस्तो तालमा माथिबाट आएको भेलबाढी मिसिएको र त्यसले गर्दा नदीको छेउछाउमा कटान र पहिरो गएको रिपोर्टमा उल्लेख गरिएको छ । मेलम्चीको सिरानमा ग्लेसियरले निर्माण गरेको थुप्रै गेगर रहेको रिपोर्टमा उल्लेख छ ।
जल तथा मौसम विभागले पनि मेलम्ची बाढीअघि त्यहाँ ठूलो पानी परेको उल्लेख गरेको थियो ।

नेपाल इन्जिनियर्स एसोसिएसनले तयार गरेको रिपोर्टमा भनिएको छ, ‘सिन्धुपाल्चोकका जलाधार क्षेत्रमा सन् २०१४ यता यस्ता घटना भएका छन् यस्ता घटनामा सन् २०१५ मा आएको भूकम्पले गर्दा उत्पन्न भएका पहिरोहरूले सघाउ पुर्‍याएका छन् ।

मेलम्ची खोलाको विनाशकारी घटना बहुप्रकोपीय देखिन्छ । आधा वा एक घण्टा नदी थुनिएर यत्रो विनाश हुने अवस्था हैन, आधादेखि एक घण्टा नदी थुनिएर जम्मा हुने पानीले विनाश निम्त्याउन सक्दैन । तर यो पनि मुख्य कारण नभएको यस अध्ययनमा उल्लेख गरिएको छ ।

इन्जिनियरको टोलीले गोर्खा भूकम्प, वर्षा, हिमताल, पहिरोले ताल बन्ने घटनासहितका ६ वटा कारणबारे अध्ययन गरेको छ । वर्षाका कारण त्यो घटनाको सुरूआत भएको देखिन्छ । तर पानी नै सबै कारण नभएको प्रतिवेदनमा उल्लेख छ ।

विस्थापित बस्ती स्थानान्तरण कहिले ?
कतिपयले पटक–पटक समस्या दोहोरिरहने स्थानमा रहेका बस्ती नै सार्नुपर्ने र त्यो नै यस्ता विपद्बाट जनधन जोगाउने सबैभन्दा राम्रो दीर्घकालीन उपाय रहेको बताउँदै आएका छन् । बस्ती स्थानान्तरण गर्ने विषयमा सामाजिक पाटो पनि महत्त्वपूर्ण हुनेहुँदा यसलाई जटिल विषय मानिन्छ । विसं २०७१ मा गएको जुरेको पहिरो र सन् २०१५ को भूकम्पपछि पनि धेरै बस्तीहरू स्थानान्तरण गर्नुपर्ने सुझाव विज्ञको थियो । तर बस्तीमा मानवीय भावनालगायत अरु थुप्रै कुरा जोडिने भएकाले अझै त्यो सम्भव भएको छैन ।

मुख्यतः बस्ती नभएको ठाउँमा भने उचित व्यवस्थापन गर्न सकिने र त्यस्ता ठाउँमा भू–उपयोग नीति कार्यान्वयन गर्नसके आगामी दिनहरूमा हुनसक्ने थप जोखिम भने न्यून गर्न सकिने सुझाव विज्ञहरूले दिएका छन् । फोटो- डम्बर रसिक भारती

लेखकबाट थप :

१. लकडाउनले जन्माएको एउटा उदाहरणीय सामाजिक उद्यम : अष्ट्रेलियामा अभ्यास नेपालमा प्रयोग

२. ४ वर्षमा २ पिल्लर : धादिङको रिमाल्डी पुल, लापरवाह र गैरजिम्मेवार विकासे प्रथा

३. महिला उद्यमी श्याम बदन : जसले दुर्लभ नेपाली संस्कृतिलाई क्राफ्ट्को माध्यमबाट ३८ वर्षदेखि विदेशमा चिनाईन्

प्रकाशित मिति: २०७८,श्रावण,२६,मंगलवार १०:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले विजयी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र अन्र्तघात भएको भन्दै यसमा संलग्न जो कोहीलाई कारबाही गरिने बताएका छन्

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रमुख ठूला दलको प्रभाव साँघुरिदै गएको छ । पार्टीभित्रको आन्तरिक विग्रह, गठबन्धनका उम्मेदवारविरुद्ध आफ्नै पार्टीका नेताहरूले

काठमाडौं। नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ । माओवादी केन्द्रका महासचिव

ताजा समाचार

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५