लकडाउनले जन्माएको एउटा उदाहरणीय सामाजिक उद्यम : अष्ट्रेलियामा अभ्यास नेपालमा प्रयोग

काठमाडौं । छोरी सुत्केरी हुँदा आमाले आफ्नो पुरानो धोती या तन्ना लगेर सुत्केरी छोरी र नवजात शिशुलाई न्यानो गराउने चलन पुरानो हो । अचेल पनि गाउँघरमा बुहारी सुत्केरी हुनेछिन् भने सासुले पुरानो कपडा साँचेर राख्ने गर्छन् । आफ्ना पुराना लुगाकपडा यसरी साँचेर राख्नुलाई हरेक परिवारले माया साँचेको अर्थमा लिने गर्छन् ।

आफूले लगाएका कपडामा स्नेह जोडिएको हुन्छ, माया जोडिएको हुन्छ, जुन नयाँ पुस्तालार्ई हस्तान्तरण गर्नुपर्छ भन्ने पुरानो कथन छ । तपाईंमध्ये धेरैले देख्नु, सुन्नु वा कतिपयले भोग्नु नै भएको होला बहिनीको बालबालिकाका लागि दिदीले समेत आफ्ना नानीबाबुले लगाएका कपडा साँचेर राखिदिन्छिन् । यो सन्दर्भमा आर्थिक हैसियतको मात्रै कुरा आउँदैन । 

यही प्रचलित चलनलाई सामाजिक सञ्जालमार्फत बालबालिकाको आवश्यकतालाई पूरा गर्दै आएको छ, ‘मम्स स्टोर नेपाल’ले ।

बच्चाका लागि कपडा फेरिरहनु आवश्यकता नै हुन्छ, किनकि बच्चा हुर्कदै जाँदा उसले प्रयोग गरेका कपडा साना हुँदै जान्छन् । अनि थप कपडाको आवश्यकता पर्दछ भने युवाहरूमा समेत फेसनेबल हुनका लागि परिवर्तन गरी–गरी कपडा लगाउनु आवश्यकताभन्दा पनि चाहना भएको छ ।

हाल हात्तीवन निवासी ३६ वर्षिया यस ग्रुपकी सञ्चालक तथा संस्थापक सीता मगर भन्छिन्, ‘विशेष गरी बच्चाको आवश्यकता र युवाहरूको चाहनालाई मध्यनजर गरेर राम्रै कन्डिसनका कपडाहरू एक–अर्काबीच किनबेच गर्न या साटासाट गर्न सजिलो होस् भनेर हामीले यो फेसबुक ग्रुप र एप बनाएका हौँ ।’

यसरी सम्भव भयो काम

अष्ट्रेलियाबाट आफ्नो पढाइ सकेर नेपाल आएकी सीतालाई केही त गर्नैपर्छ भन्ने हुटहुटी चल्यो । नेपालमा कोरोनाको माहामारीका कारण लकडाउन भइरहेको थियो । त्यही बेला उनको छोरा जन्मियो । १ महिनासम्मको लागि त कपडाहरू पुग्यो तर खाद्यान्न र अत्यावश्यक सामानबाहेकका पसलहरू कतै पनि खुलेका थिएनन् । उनी सम्झन्छिन्, ‘छोरालाई लुगा चाहियो कसरी किन्ने ? बच्चाको लुगा छैन । सानो बच्चा भएकोले अति नै आवश्यक भइसक्यो ।’

अब कसो गर्ने भन्ने अवस्था आएपछि साथीहरू र वरपर छिमेकी दिदीबहिनीहरूसँग मागेर बच्चाको शरीर ढाक्ने हो कि भन्ने तर्कवितर्क पनि उनको मनमा नआएको होइन । उनी ती दिनहरू सम्झन्छिन्, ‘सिधै माग्न अप्ठ्यारो र लाज भयो । हाम्रो समाजमा यस्तो किसिमको संस्कारको राम्रोसँग विकास भएको छैन । मनमा अनेकन विचार आए । फेसबुकमा देखिने पेजहरू हेरेँ । नयाँ कपडाहरू त थिए तर डेलिभरी नहुने रहेछ ।’

त्यसै बखत उनले विशेषगरी आमाहरू देखिन्, जो बढ्दो बच्चाहरूको कपडाको व्यवस्थापन कसरी गर्ने बारेमा चिन्तित थिए । किनकि सबै कपडा पसलहरू त्यस समयमा बन्द थिए । यसबाहेक धेरै आमाहरूले लकडाउनको कारण आफ्नो जागिर समेत गुमाएका र कम आयस्तर भएका परिवारहरूलाई आफ्नो बच्चाहरूको कपडाको आवश्यकता पूरा गर्न सजिलो थिएन ।

आफ्नो सुरुवातका दिन सम्झिँदै सीताले भनिन्, ‘त्यस्तो अवस्था देखेपछि मैले यस्तो ग्रुप बनाउने सोचेँ, जहाँ आमाहरूले दान गर्न, बेच्न र आफ्ना बच्चाहरूलाई चाहिने कपडाहरू किन्न सक्छन् ।’ अनि उनले साथी अनु उपाध्यायसँग कुरा गरिन् । यदि नयाँ कपडाहरू बेच्ने गु्रप छन् भने हामी किन प्रयोग भएको बच्चाको कपडाहरू सटासाट नगर्ने वा नबेच्ने ? उनीहरूले ग्रुप चलाउने निधो गरे ।

२०२० अक्टोबरमा फेसबुक ग्रुप ‘मम्स स्टोर नेपाल’को स्थापना भएको हो । उनले भनिन्, ‘सुरुमा हामीले हाम्रो बच्चाको पुरानो कपडाहरू गु्रपमा पोष्ट गरेर हेर्यौँ । अरु साथीहरूलाई पनि ग्रुपमा जोइन हुन आग्रह गर्यौँ । उनीहरूबाट राम्रो प्रतिक्रियाहरू आउन थालेपछि विस्तारै हाम्रो यात्रा अघि बढ्यो ।’

२०१७ सालदेखिको मित्रता अब सेवामूलक क्षेत्रमा संलग्न भयो । उनीहरू अष्ट्रेलिया अवाड्र्स छात्रवृत्तिको एउटै समूहमा थिए । ‘अष्ट्रेलियामा हाम्रो बसाइको क्रममा त्यहाँको थ्रिफ्ट संस्कृतिको अभ्यास र अनुभव पाएका छौँ ।’ उनीहरू भन्छन्, ‘त्यो हाम्रो दिमागमा कहीँ बसेको थियो र हामी यहाँ पनि त्यो अभ्यासमा ल्याउनको लागि तरिकाहरू खोजिरहेका थियौँ । सौभाग्यवस कोरोना महामारीले हामीलाई यो अवसर दियो । त्यसैले लकडाउनले जन्माएको एउटा सामाजिक उद्यम हो यो ।’

उनीहरूको यो योजनालाई अघि बढाउन ६ जना साथीहरूले निकै साथ दिए । टाढा–टाढा रहेका आमाहरूसँग पनि फेसबुक र इन्स्टाग्राम पेजहरूको प्रयोग गरी स्वैच्छिक पहलको अह्वानबाट सुरु गरिएको आमाको पसल नेपालसँग अहिले २५०० भन्दा धेरै आमाहरू छन् । प्रयोग गरिएको बच्चाहरूको कपडा, खेलौना वा सामानको बिक्रीको लागि यो एउटा सुन्दर प्लेटफर्म साबित भएको छ ।

ममता एप : नानीबाबुको न्यानोपनको साथी

ममता एपकी सञ्चालक सीता मगर भन्छिन्, ‘हामीले आफैँ पनि प्रयोग गरेका कपडाहरू डोनेसन र बेच्ने गरेका थियौँ र भविष्यमा पनि निरन्तर गरिरहनेछौँ । तर पनि कति आमाहरू म आफैँ बेच्छु भन्नेहरू हुनुहुन्छ । उहाँहरूलाई समेत सहज र सजिलो होस् र एकद्वार होस् भनेर नै हामीले यो एपको विकास गरेका छौँ । अहिले हाम्रो ध्यान एपलाई कसरी मर्मत गर्ने, कसरी प्रमोसन गर्ने र हाम्रो एपको बारेमा कसरी शिक्षा दिने भन्नेतिर नै केन्द्रित रहेको छ ।’

आफूहरूले काम गर्दै जाँदा सबै जोडिँदै आएको बताउँदै उनले भनिन्, ‘राम्रो कामको सुरुवात गरेपछि सबैको साथ र सहयोग पाइँदोरहेछ, यो कुराको खुसी छ, हामीलाई ।’ उनी मुस्कुराइन् । एपको विकास समूहकै एक जना टिमका सदस्य सुमन कुँवरले गरेको समेत उनले बताइन् ।

बच्चाहरूको प्रयोग भएका कपडाहरू आफैँ बेच्न मिल्ने वेबसाइट वा एप अहिले नेपालमा छैन जुन अहिलको समयमा आवश्यकताको विषय हो भन्दै उनले विदेशतिर भने यस्ता वेबसाइटहरू व्यवस्थित ढंगले चालाइएको बताइन् । साथै विदेशमा डोनेसन गर्ने, जम्मा गर्ने र बिक्री गर्ने स्टोरहरू पनि हुने र आफूहरू त्यही सोचलाई लागू गर्न लागिपरेको समेत बताइन् ।

नेपालमा पनि यसैगरी प्रयोग गरिएको कपडाहरू डोनेट गर्ने, किन्ने र बेच्ने कामहरू व्यवस्थित बनोस् भन्ने उनीहरुको चाहना छ, जसले गर्दा फोहोरमा जाने कपडाहरूले नयाँ जीवन पाओस् र वातावरण प्रदूषित हुनबाट बचोस् ।
यही अभियानमा साथ दिँदै आएका सुमन कुवर भन्छन्, ‘यसरी प्रयोग भएको कपडाहरूलाई चेन स्टोरको रूपमा देशव्यापी लैजाने हाम्रो सोच छ । तर हामीसँग लगानीको लागि फण्ड छैन । त्यसैले एपको माध्यमबाटै भए पनि यो सुविधालाई देशव्यापी पुगोस् भन्ने चाहना छ ।’

यहाँ फेसबुक र इन्स्टाग्राममार्फत प्रयोग भएका कपडाहरू किनबेच गरिन्छ । यस्ता प्लेटफर्ममा केही समस्याहरू समेत देखा परेका छन् । साइटमा बेच्नेको परिचय देखिने हुन्छ । अझै पनि हाम्रो समाजमा प्रयोग गरिएको कपडाहरू बेच्ने र किन्ने चलन नभएको कारण बेच्ने चाहना हुँदाहुँदै पनि यस्तो अप्ठ्यारोले गर्दा बेच्न नसकिरहेको हुनसक्छ ।

यहाँ सामान किन्न चाहने व्यक्तिले पनि इनबक्स गर्नुपर्ने र इनबक्स गर्दा आफ्नो परिचय देखिने डरका कारण नकिन्ने गरेका पनि छन् । यस्तो समस्याहरूका कारण किन्ने कतिपयले फेक आईडी बनाउनुपर्ने बाध्यता समेत परेको धेरैले बताएका छन् ।

कहिले परिचय फ्ल्यास हुने र कहिलेकाहीँ लेनदेनमा भएको समस्यालाई स्क्रिनसर्ट गरी सार्र्वजनिक रूपमा सेयर गर्ने र गाली बेइज्जत गर्ने समेतका समस्याहरू हुने भएकाले यस्तो नहोस् भन्नका निम्ति अहिले एपमा अटो हाइड गरिएको छ । कसले कुन सामान किने वा कसले पोस्ट गरेको भन्ने कुरा पनि थाहा नहुने कुरा कुँवरले बताए ।

 

बाल स्वास्थ्यमा आमाहरूको सारथि बन्दै ‘आस्क एन एक्सपर्ट’ सुविधा

एपमा ‘आस्क एन एक्सपर्ट’ भन्ने सुविधा छ, जहाँ सबै आमाहरूले आफ्ना बच्चाहरूको कुनै पनि समस्याबारे चिकित्सकसँग सोध्न सक्नेछन् । यसका लागि एपमा शिक्षण अस्पतालमा काठमाडौंमा बाल चिकित्सा डाक्टरको रूपमा कार्यरत डा. सुरभी अर्याल छिन् । उनले आस्क एन एक्सपर्ट भन्ने सुविधामा भरपुर सहयोग गर्नेछिन् । ‘म फेसबुक र इन्स्टाग्राममा सक्रिय छु । आफू पनि एउटा आमा र डाक्टर भएको हिसाबले मम्ससँग सम्बन्धित ग्रुपहरू र पोष्टहरू लाइक गर्दथेँ । यस क्रममा मम्स स्टोरको कन्सेप्ट मलाई मन पर्यो र मैले स्टोरको पेजमा सहयोगको लागि आह्वान गरेको पोष्ट देखेपछि उहाँहरूसँग कन्ट्याक्ट गरेँ ।’ उनले भनिन्, ‘म पनि बच्चाहरूको स्वास्थ्यमा देखापरेको समस्यालाई उनीहरूको आमाहरूसँग मिलेर सहयोग गर्न सक्छु कि भनेर आबद्ध भएको हुँ ।’

कोभिडका कारण आमाहरू बच्चालाई अस्पतालसम्म लैजान डराउने, साधरण ज्वरो आउँदा पनि आत्तिनेजस्ता सानासाना समस्याहरूलाई एपको माध्यमबाट आमाहरूसँग कनेक्ट भएर त्यस विषयमा राम्रोसँग कन्सल्ट गर्ने गरिन्छ । आजभोलि दिनको कम्तीमा एउटा बच्चाको आमाले आफ्नो बच्चाको बारेमा जिज्ञासा राख्नेगरेको उनले बताइन् । अर्की नर्स सायरा बनु समेत यस अभियानमा जोडिएर सहयोग गर्दै आएकी छिन् ।

….आमाहरूको कथा

हात्तीवन बस्ने वर्ष ४० की सुनिता सुवेदी साथीको माध्यमबाट थाहा पाएर अहिले आफूसँग भएको कपडाहरू बेच्दै आएकी छन् । उनी भन्छिन्, ‘मैले साथीहरूसँग फेसबुकमा कुरा गर्दै जाँदा, ग्रुपहरू जोइन भइराख्दा यो ग्रुपको बारेमा थाहा पाएँ । त्यसपछि मैले ग्रुप जोइन गरेर बच्चाको कपडाहरू किन्न थालेँ र आफ्ना बच्चालाई ठीक नहुने कपडाहरू ग्रुपमा राख्न समेत थालँे, जसले चाहिने आमाहरूले सिधै मसँग कुरा गरेर किन्न सक्नुभयो ।’

यसरी प्रयोग भएको सामान किनबेच गर्ने स्थान भयो । हरेक बच्चाका आमाहरूलाई आफ्नो बच्चाले लगाएको कपडाहरू यत्तिकै फ्याँक्न मन लाग्दैन । बरु अरु बच्चाले माया गरेर लगाइदियोस् भन्ने भावना हुन्छ । यस्ता आमाहरूले प्रेरित भएर आफ्नो नानीबाबुको कपडा सित्तैमा दिने वा बेच्ने गरेको पाइन्छ । साथै यसबापत आएको केही रकमले खेलौना या अरु कुनै सामान किन्न सकिने उनी बताउँछिन् ।

अर्की आमा, मेरिना साहीको पनि उस्तै कथा छ । स्वाभाविक रूपमा नै बच्चाहरूको कपडाहरू धेरै चाहिने र उनीहरूको साइजअनुसार पनि बजारमा महँगो पर्ने भएकाले मम्स स्टोर नेपालमा आफूले चाहेको मूल्यमा र खोजेको जस्तै आफ्नो नानीबाबुका लागि प्रिलभ्ड कपडाहरू पाइने उनको भनाइ छ ।

लकडाउनमा बजार बन्द हुँदा र डेलिभरी कम्पनी मात्र चल्न दिने समयमा बढ्दै गरेका बच्चाहरूलाई कपडा कताबाट किनिदिने भन्ने कुरामा मम्स स्टोर नेपाल नै सहारा भयो । ‘भर्खर बच्चा जन्माएका र बच्चा छोडेर बाहिर जान नसक्ने आमाहरूलाई मम्स स्टोर नेपाल र ममता एप एकदम बेष्ट छ ।’ शाहीले भनिन्, ‘विश्वासिलो र भरपर्दो यो एपमा नयाँ कपडाहरूचाहिँ हप्ताको एकदिन शनिबार राखिने हुँदा मजस्ता र नयाँ उद्यममा आबद्ध आमाहरूलाई पनि हौसला प्रदान गरेको छ ।’

‘यसले आमाहरूद्वारा बुनिएको बच्चाहरूको कपडा र धेरैजसो हस्तनिर्मित उत्पादनहरू साना पसलहरूसँग साझेदारी गर्दै घर–घरमा आधारित व्यापारहरूको लागि एक पसलको रूपमा काम गर्दछ ।’ सीता मगरले भनिन्, ‘यो एक उचित मूल्यमा मनपर्ने बच्चाको कपडाहरू सजिलै उपलब्ध हुने र जरूरीहरूलाई पूरा गर्दै पर्यावरणीय स्थिरताको लागि समेत जोड दिन सकिने सामाजिक उद्यम हो । श्रमिक वर्गका आमा र बच्चाहरूलाई मदत गर्ने यसको सुन्दर लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?