विश्वेश्वरप्रसाद कोइराला एक समयसान्दर्भिक चिन्तन

लोकपथ
364
Shares

नेपालमा वर्तमान युगमा विश्वेश्वरप्रसाद कोइरालाको योगदान विषयमा चर्चा गर्दा उनको राजनीतिक व्यक्तित्वले प्रधानता पाउँदछ । यो स्वाभाविक हो । उनको जीवन राजनीतिले ओतप्रोत थियो । अरिष्टोटलको समयदेखि नै मानिस समाजसापेक्ष भएकोले राजनीतिक प्राणी मानिएको छ । समस्त राष्ट्रिय जीवनले नै राजनीतिक प्रक्रियाको छातामुनि प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा ओत लिएको हुन्छ ।

राजनीति समाजको निर्णायक अनुशासन हो । तर व्यक्तिको अर्थपूर्ण गतिविधि सधैँ राजनीतिभित्र मात्र सीमित रहँदैन । विश्वेश्वर वास्तवमा युगपुरुष थिए, किनभने उनले सामान्यतया समस्त वर्तमान युगलाई र विशेष गरेर नेपालको वर्तमान युगलाई आध्यात्मिक तहमा आत्मसात् गरेका थिए । उनको जिज्ञासुतामा बौद्धिकता र भावुकता सन्तुलित थिए । अर्थात् युग चेतना उनमा सजीव र मूर्त भएको थियो असल र खराब स्वामित्व र दासत्वको बीच उनी तटस्थ रहन सक्दैनथे । राजनीतिभित्र होस् वा बाहिर होस्, सत्तामा रहेको बेलामा होस् वा विरोधमा रहेको बेला होस्, आफ्नै राजनीतिक पार्टीभित्र होस् वा विरोधी पार्टीहरूमा होस्, साहित्यको अध्ययनमा होस् वा अभ्यासमा होस्, द्वितीय महायुद्धपछिको नेपालमा भएको प्रायः सम्पूर्ण राष्ट्रिय गतिविधिको पछाडि कुनै न कुनै रूपमा उनको प्रखर व्यक्तित्व झुल्किन्छ ।

आदर्श र साहसमा युवा समुदायको लागि उनी सधैँ आकर्षक बने । तेजिला चञ्चल आँखाले चम्केका मिलेको शरीर बोकेका सधैँ युवाकल्प मनको परिचय दिने विश्वेश्वर नारीहरूको सूक्ष्म आत्मीयतामा आशाका केन्द्र थिए, उनको प्रखर व्यक्तित्व आकर्षक थियो । स्वतन्त्रताको साधना उनको जीवनको लक्ष्य थियो । उनको सूक्ष्म दृष्टिले नारीलाई विभिन्न आयाममा समेटेको थियो । नारीलावण्यका उनी पारखी थिए ।

उनीहरूमाथि भएको सामाजिक शोषणप्रति उनी निरन्तर सचेत थिए । यसको अलावा उनले नारीलाई वैज्ञानिक अनुसन्धानको विषय बनाएका थिए । यस अर्थमा उनले नारीहरूको सूक्ष्म कामना आकांक्षा र मानसिक उद्वेग र द्वन्द्वहरूको राम्रो अध्ययन गरेका थिए । यो एकलौटीले गर्दा वास्तवमा उनको कथा र उपन्यासमा नायिकाहरू प्रशस्त छन्, नायकहरू विरलै छन् । यो नारीउन्मुख अध्ययनको छाप मुख्य पात्रहरूमा मात्र होइन सहायक नारी पात्रमा पनि परेको छ । अर्थात् विश्वेश्वरका प्रमुख साहित्यिक कतिहरू नारीमनोविज्ञान अध्ययनपरक छन् । आदर्श र प्रेरणा, विवेक र कल्पना, र आवेश, विश्वास र सावधानी प्रशंसा र निन्दा, आलोचना र प्रत्यालाचना, साध्य र साधन, अन्त्यमा इख र त्रासको रूपमा यी सबै गतिविधिमा उनको उन्नत अवस्थामा उनको व्यक्तित्वअनुरूप निश्चित भूमिका सधैँ विद्यमान रह्यो ।

विरोध वा समर्थनका बौद्धिक र आध्यात्मिक सञ्चालक उनी बने । किनभने विरोध वा समर्थनको स्रोत उनै थिए । नैतिक प्रतिबद्धतामा उनी विश्वका र उनको निधनको बेलामा भारतीय पत्रिका स्टेटसम्यानको भावपूर्ण सम्पादकीयमा मूल्यांकन भएजस्तै भारतका प्रथम श्रेणीका नेताहरूसरह थिए । सायद बढी पनि थिए । उनी प्रतिगामी सामन्ती व्यवस्थाको प्रखर विरोधी थिए । गतिशील युगानुकूल प्रजातान्त्रिक मान्यता र सिद्धान्तहरूको साथसाथै उनको ठोस व्यक्तित्वबाट संत्रस्त्र भएर, परम्परावादी, प्रतिगामी तत्वहरूले २०१७ सालको गैरसंवैधानिक नकारात्मक कदम उठाएका हुन् । फलस्वरूप अकालमा नै उनको कर्मयोगको साधना राष्ट्रिय मूलधाराबाट कताकता टुटेजस्तो प्रतीत भयो । तर २०१७ सालदेखि २०४७ सालसम्म नेपालको राष्ट्रिय जीवनमा अविच्छिन्न पञ्चायती व्यवस्थाको नक्कली रंगपूर्ण मुखुन्डोभित्र पनि जो एक अनिर्वचनीय राजनीतिक रिक्तता रह्यो त्यसको पछाडि अमूर्तरूपमा उनको सक्रिय र अर्थपूर्ण व्यक्तित्वको अपेक्षा पनि टड्कारो रह्यो । उनी जता रहे पनि नेपालको राजनीतिक मूलधार त्यता रह्यो । प्रतिस्थापित मूलधाराले वास्तविक मूलधाराको रूप लिन सकेन । यो व्यापक रिक्तताको अनुभूति नै उनको व्यक्तित्वको तीक्ष्णता र अनिवार्यताको मापदण्ड हो । विरोध वा समर्थनका नेता जेलभित्र र बाहिर उनी नै रहे ।

वीपी कोइरालाले गीताबाट आश्वासन प्राप्त गर्न सकेनन् । तर गीतामा योगसिद्धिको चर्चाको क्रममा अर्जुनले कृष्णसँग प्रश्न गर्दछन्, ‘कुनै कर्मयोगीको योगसाधना कुनै कारणले अघि बढ्न नपाई बीचैमा टुङ्गियो भने सो योगभ्रष्टको के दशा हुन्छ ?’ कृष्णले उत्तर दिन्छन्–
पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत् कश्चिद् दुर्गतिं तात गच्छति ।।

अर्थात् हे अर्जुन, यहीँ वा परत्र त्यसको विनाश हुँदैन कल्याण गर्ने कुनै मानिसलाई दुर्गति प्राप्त हुँदैन । एकपल्ट फेरि नेपाल प्रजातन्त्रपट्टि उन्मुख भएको छ । यसबाट पनि सिद्ध हुन्छ कि गरेको योग खेर जाँदैन । धर्मयुद्धमा धर्म पक्षको पराजय हुँदैन । वीपीको जीवन यो सत्यको प्रमाणको रूपमा रहेको छ । देव र मानव संवादमा युद्धोन्मुख दैवी तर्कको विजयको प्रदर्शनले उनलाई खिन्न पार्‍यो तर उच्च आध्यात्मिक स्तरमा महाभारतमा चित्रित पाण्डवहरूको जस्तै उनको जीवन जय/अजयको बीच न कि जय र पराजयको बीच– युद्धमय रह्यो ।

उनको अध्ययनशील मात्र होइन चिन्तनशील स्वभाव पनि थियो । जसको एकपक्ष उनका विभिन्न कलापूर्ण कथा र उपन्यासहरूमा प्रतिविम्बित भएको छ । यसका धेरै उदाहरणहरू अघि सार्न सकिन्छ । तर परराष्ट्रसम्बन्धी एक टड्कारो उदाहरण यहाँ उल्लेख्य छ । नेपाल र भारतबीच सम्पन्न भएको सन् १९५० को सन्धिलाई लिएर दुवै देशको राजनीतिक क्षेत्रमा समय–समयमा अनेक चर्चा भएका छन् । वीपी प्रधानमन्त्री हुँदाको समय पनि यस्तै एक चर्चा परिचर्चाको समय थियो । यी चर्चाहरू दुवैतर्फबाट कहिले तर्कयुक्त र कहिले पूर्णतया भावुक रहेका छन् ।

कठिनाइ र एक पक्षको अर्को पक्षप्रति संवेदनशीलता दुर्घटनामा परेका छन् । यो भावुकतामा एकातिर सन्धिको वर्तमान अस्तित्वमा नै प्रश्नचिन्ह लगाइएको छ भने अर्कोतिर नेपालको परराष्ट्र नीतिको स्वतन्त्रताको ग्राह्यतामा नै प्रश्न उठाइएको झलक पाइन्छ । यस्तो परिस्थितिमा भावुकतालाई दबाएर हेर्दा तर्कयुक्त समाधान दुई मात्र देखिन्छन् । एक चिन्तन र नेपाल र भारतको बीच मैत्रीपूर्ण विमर्शद्वारा सन्धिको अर्थ देखिएका पारस्परिक धारणा र दृष्टिकोणहरूलाई दुवै देशको राष्ट्रिय दिला पूर्वाग्रहविना नगिच्याऊन् । अर्को हो पारस्परिक मैत्रीपूर्ण विमर्शद्वारा सन्धि धाराअनुसार अन्त्य गरी नेपाल र भारत दुवैले नयाँ सन्धि गर्न सहमत हुन मार्गहरू कठिन छन्, यिनले भावुकताभन्दा विवेक बढी अपेक्षा गर्दछन् भन्ने मननीयता दई देशका जनमत निर्माण गर्ने निकाय वा समुदायमा बढी मात्रामा वाञ्छनीय भएको छ । जे होस्, वीपीको चिन्तनशीलताले पहिलो विकल्प अंगाल्यो र नेपाल–भारत पारस्परिक दृष्टिकोणलाई अघि बढाएर नगिच्यायो भन्ने मेरो विश्वास रहेको छ । यस सम्बन्धमा चीन र भारतको बीच बिग्रँदो सम्बन्धको परिप्रेक्ष्यमा सन् १९६० तिर वीपी कोइराला र नेहरूको बीच भएको अर्थपूर्ण वक्तव्य र प्रतिवक्तव्य केही विस्तारका साथ उल्लेखनीय छन् । कोइरालाको वक्तव्य यसप्रकार छ :

‘नेपाल पूर्णतया सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देश हो । यसले आफ्नो गृह तथा परराष्ट्र नीति आफ्नै विवेक र इच्छाअनुसार कुनै बाहिरी सत्तासँग विमर्श नगरी निर्णय गर्दछ । भारतसँगको हाम्रो मैत्री तथा शान्तिको सन्धिले यही कुरा जनाउँछ । मैले श्री नेहरूको वक्तव्यलाई मित्रताको अभिव्यक्तिको रूपमा लिएको छु ता कि नेपालको विरुद्ध आक्रमण भएमा नेपालले मदत खोज्यो भने भारतले सहायता पठाउनेछ । यसको यो अर्थ आउँदैन कि भारतले एकतर्फी कारबाही गर्न सक्तछ । कतैतिरबाट आक्रमण हुने भय छ कि ? जवाफ हो– छैन । हामीहरू सबैसँग शान्तिमा बसेका छौँ र कतैबाट कुनै खतडा महसुस गरेका छैनौँ । मलाई भुटानको अन्तर्राष्ट्रिय स्थान र उसको भारतसँगको सम्बन्धको बारेमा थाहा छैन । तर नेपाल स्वतन्त्र सार्वभौमसत्तासम्पन्न देश हो र यस विषयमा शङ्का रहन सक्तैन । कसैले पनि हाम्रो सार्वभौमसत्तामा र स्वतन्त्रतामा शङ्का गर्ने आवश्यकता छैन । हाम्रो संयुक्त राष्ट्र संघको सदस्यता यसको एक प्रमाण हो ।’

यसको प्रतिक्रियामा नेहरूको प्रतिवक्तव्य यसप्रकार छ :

‘मेरो विचारमा नेपालका प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभएको कुरा पूर्णतया सत्य हो । मैले गरेको वक्तव्यलाई धेरै मानिसले सायद नयाँ सम्झे तर त्यो कुरा गत दश वर्षसम्म रहिआएका अवस्थाको उक्ति मात्र हो । अर्थात् म दश वर्ष भन्छु, तर तपाईंहरू भन्न सक्नुहुन्छ कि यो दश वर्षभन्दा पनि बढीको कुरा हो । तर मैले दश ११ भन्दै छु किनभने दश या नौ वर्षअगाडि नेपालसँग एक सन्धि भएका थियो । सन् १९५० जुलाई ३१ मा भारत सरकार र नेपाल सरकारका बीच सम्पन्न भएको शान्ति र मैत्रीको सन्धि हो त्यो । सन्धिका पहिलो धाराले भन्दछ कि– ‘दुई सरकारहरूले परस्परको पूर्ण सार्वभौमसत्ता, क्षेत्रीय अक्षुण्णता र स्वतन्त्रताको मान्यता दिन्छन् र परस्परमा आदर गर्दछन् ।’ दोस्रो धाराले– ‘दुई सरकारहरूले यी सरकारहरूबीच रहेको मैत्री सम्बन्धमा भङ्ग गराउने किसिमको कनै छिमेकी राज्यसँग कुनै गम्भीर भेद वा बैमनस्य बढेमा परस्परलाई सूचना गर्ने प्रतिबद्धता गर्दछन् ।’ सन्धिका अरु कुरा पनि छन् तर सन्धिसँग संलग्न पत्रहरूको पनि आदानप्रदान भएको थियो, जो प्रायशः चलनमा गरिन्छ । यी पत्रहरूमा अरु कुराबाहेक यो एक कुरा पनि छ ‘दुईमध्ये कुनैले पनि विदेशी आक्रमणकारीले अर्काको सुरक्षामा कुनै क्षति सहने छैन । यस्तो क्षति निवारणको लागि दुई सरकारहरूले विचार विमर्श गर्नेछन् । यो कुरा भारतले नेपाललाई र नेपालले भारतलाई लेखेका दुवै पत्रमा परेको छ । यो कुनै सैनिक सन्धि विलकुल होइन, तर दुई मित्रदेशको बीच पारस्परिक आश्वासन हो । मेरो मनमा यही कुरा थियो । मैले नयाँ कुरा भनिरहेको छु भन्ने पनि मलाई याद थिएन । श्री कोइरालाले यथार्थ व्याख्या गर्नुभएको छ । भारत या अरु कुनै देशले एकतर्फी कार्य गर्ने प्रश्न छैन । त्यो असम्भव छ । परस्परमा मित्रराष्ट्रजस्तो व्यवहार गर्ने र खतडाको समयमा परस्परलाई मदत गर्ने मात्र प्रश्न हो ।’

विश्वेश्वरको व्यक्तित्वमा कताकता एक विलक्षण परिष्कृतिको छाप परेको आभास हुन्छ । कलाको विशिष्टता रहन्छ कलाको प्रच्छन्नतामा । उनको व्यक्तित्व एक किसिमले प्रच्छन्न कलाजस्तो थियो । उनका शील, स्वभाव, चाख, रुचि आदि गुणहरू यही परिष्कृतिका प्रतिच्छाया थिए । उनमा विश्लेषणात्मकको अपेक्षा समन्वयात्मक प्रतिभा बढी थियो । वास्तवमा राजनीति कविता र दर्शनजस्तै समन्वयात्मक अभिव्यक्ति हो । विश्लेषण यसमा प्रधान होइन, सहायक वस्तु हो । पूर्वीय युरोपको वर्तमान उथलपुथलले राजनीति विश्लेषणमा सीमित विज्ञान मात्र होइन भन्ने कुरा फेरि एकपल्ट स्पष्ट पारेको छ । केवल वैज्ञानिक दृष्टिले माक्र्सवादजस्तो प्रमाण–प्रमेय–सन्तुलित अर्को राजनीतिक दर्शन प्रतिपादित गर्न गाह्रो छ किनभने मानव विज्ञान मात्र होइन । तर पनि व्यवहारमा राजनीतिक अनुभव फरक भएको छ । यी उपर्युक्त, कल्पनालाई समेत तिर्मिराउने परिवर्तनप्रति वीपीको कस्तो प्रतिक्रिया हुन्थ्यो, आफूले अपनाएको वादको थप समर्थन सम्झन्थे अथवा त्यसमा नयाँ मोड वा परिष्कारको आवश्यकता देख्थे । यी सब कुरा अहिले अनुमानको विषय भएका छन् । तर विचारणीय छन् । विश्वका प्रजातान्त्रिक समाजवादीहरूले प्रायशः यी सब घटनाहरूलाई आफ्नै सिद्धान्तको समर्थनको रूपमा हेरेको पाइन्छ । तर पश्चिम युरोपीय साम्यवादीहरूमा पूर्वी युरोपीय घटनाहरूको सैद्धान्तिक रूपले बढ्दो प्रभाव पारेको पाइन्छ । अमेरिकामा यो परिवर्तनलाई आफ्नो प्रजातान्त्रिक पुँजीवादको सिद्धान्तको निर्णायक विजय ठानी केही प्रभावशाली चिन्तकहरूले इतिहासको अन्त्यको हेगेलियन सपना देख्न थालेका छन् । भारतमा साम्यवादीहरूले समेत सैद्धान्तिक परिवर्तनको आवश्यकता देखेका छैनन् । यिनीहरूले सोभियत संघमा सत्तरी वर्ष लामो भञ्ज्याङमा पुगेर गतिहीन हुन लागिरहेको सामाजिक व्यवस्थाको सट्टा पाम र उनको नीतिलाई नै मूल विकृति सम्झेका छन् । चीन पनि यस्तै मूल सिद्धान्तलाई परिवर्तन गर्ने तत्परतामा देखिँदैन । यी प्रतिक्रिया कोइरालाले पनि युरोपीय परिवर्तनलाई पनि आफ्नै समाजवादी सिद्धान्तको थप समर्थनको रूपमा देख्ने थिए । नयाँ चिन्तनको आवश्यकता देख्तैनथे भन्ने अनुमानको बलियो आधार पाइन्छ ।

नेपाली कांग्रेसका उनका अनुयायीहरूले पनि यही निष्कर्ष निकालेको प्रतीत हुन्छ । तर चिन्तन र व्यवहारमा उनले नेपालका र विभिन्न महत्वपूर्ण मोडमा भारतका समेत राजनेताहरूले भन्दा अर्कै बाटो लिएका उदाहरणहरू नपाइने होइनन् । उर्वर कल्पना शक्ति, दूरदृष्टि, सूक्ष्मदृष्टि, अन्तरदृष्टि र विलक्षण वैयक्तिक प्रतिभा थिए । यी शक्तिहरू समन्वयात्मक शक्ति हुन् । यिनको कुनै पनि नयाँ अर्थपूर्ण विशेष परिस्थितिप्रति संवेदशीलता रहन्छ । सोभियत आर्थिक परिस्थिति, गोर्वाचोभ, पूर्वीय युरोपको उथलपुथल यो वर्तमान युगका युगान्तकारी घटना हुन् । यी समन्वयात्मक गुणहरूको साथै उनमा अत्यन्त प्रभावकारी तर्कशक्ति पनि थियो । जुनद्वारा उनले अरूलाई आफ्नो बदलिँदो विचारधारामा क्रमिकरूपले ढाल्न सक्थे । घण्टौंसम्म कला र शास्त्रार्थ गर्नसक्थे ।

अर्को सान्दर्भिक विषय छ, नेपालको हालैको जनआन्दोलन र त्यसको सफलताको परिणामस्वरूप आएको हाम्रो नयाँ संविधान । यी दुई विषयमा पनि उनको कस्तो रोल हुनेथियो ? उनको विश्वासको कस्तो छाप पर्नेथियो भनी सोच्नु सामयिक छ । किनभने नेपालको प्रजातान्त्रिक अभियानमा उनको आत्मा भनौँ वा व्यक्तित्व भनौँ अझ जीवित छ । यो व्यापक परिप्रेक्ष्यमा अहिले समस्या सामाजिक न्याय, समानता, स्वतन्त्रताको विकल्प होइन । यिनीहरूमा प्राथमिकताको प्रश्न हो । यी उपर्युक्त घटनाहरूले व्यक्तिगत स्वतन्त्रताको प्राथमिकता स्थगित गरेका छन् भन्ने मेरो विश्वास रहेको छ । यो अवधारणामा स्पष्टतया व्यक्तिगत स्वतन्त्रता, सामाजिक न्याय र समानताको क्रम रहन्छ । त्यसैअनुसार नयाँ दार्शनिक समन्वयको अपेक्षा रहन्छ । उनको साहस, कल्पनाशक्ति र प्रासंगिक वस्तुप्रति संवेदनशीलताको स्वाभाविक गतिशीलताले गर्दा आफँै पनि पूर्वनिर्धारित वासी सूत्रहरूमा मात्र उनी सीमित र सन्तष्ट रहन सक्तैनथे । उनले बग्न जानेका थिए । एकै थलोमा जम्न जानेका थिएनन् । व्यावहारिक राजनीति र सैद्धान्तक चिन्तन दवबै आह्वानपूर्ण छन् भन्ने उनले जानेका थिए । यसकारण जनआन्दोलनको बाढी र वेगले उनलाई अवश्य ठूलो सन्तोष दिनेथियो । सन्तोष मात्र होइन, आनन्द पनि दिनेथियो । प्रजातान्त्रिक अभियानको क्रममा आवश्यक देखेर समय–समयमा हतियार उठाएका भए पनि उनको प्रकति अहिंसात्मक अभियानतिर झुकेको थियो । अतः पछिल्लो प्रजातान्त्रिक अभियान मूलतः अहिंसात्मक रह्यो । सिद्धान्त, परिकल्पना व्यवहारमा उनलाई मनपर्ने साध्य र साधनको एकता जुटेको थियो ।

उनका विलक्षणताले गर्दा उनले विश्वसमक्ष उच्च नैतिक स्तरमा नेपालको परिचय दिए । यो पारिचय प्रदानमा आडम्बर थिएन । झयांग्रिलापन थिएन । शुद्ध आधुनिकता थियो । केवल मानवताको नाता थियो । उनी एकैसाथ राजनीतिशास्त्री, राजनेता र नीतिद्रष्टा थिए भन्दा अत्युक्तिको गन्ध भेटिएला । तर, शास्त्र र अभ्यासअनुकूल प्रतिबद्धताका साथ नयाँ स्वतन्त्र, गातिशील, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजको साधनालाई यी अभिव्यक्तिहरूले संकेत गर्दछन् भने अत्युक्ति मात्र भन्न पनि सकिँदैन । मानवीय मान्यतामा आधारित नयाँ समाजको खोजविना राजनीति शक्तिको लागि शक्तिको खोज मात्र हुन्छ । उनका यी गुणहरू नेपाली मात्रको नासो हुन् ।

भारतमा महात्मा गान्धीको उच्च नैतिकतालाई कताकता अपहरण गरेर लगिसकेको अनुभव हुन्छ । गान्धीको समयमा जस्तो मानवीय उत्कृष्टता प्रदान गर्ने राजनीति अहिले भारतमा छैन । नेपालमा पनि वीपीको नैतिकताबद्ध चिन्तनोन्मुख मार्गबाट राजनीतिको अपहरण हुनसक्छ । सतर्कताको आवश्यकता छ । नयाँ देवता वा पुराना देवताका पूजाको प्रश्न होइन । वीपीको खोज देवताले खोज्ने भक्तिको खोज थिएन । मानवले खोज्ने प्रेमको खोज थियो । भक्ति र प्रेमको बीच उनको लागि निर्णायक भेद थियो । यसबाट विचलित हुननदिने प्राथमिक उत्तरदायित्व अहिले उनका अनुयायीहरू र उनले नेतृत्व गरेको संगठन नेपाली कांग्रेसको हातमा पर्नआएको छ । यसमा जनताको सद्भावनाको कमी छैन । तर सद्भावना मात्र सतर्कता र सहभागिताको विकल्प होइन । बढ्दो मात्रामा जनताको सक्रियता, सहभागिता र नैतिक बौद्धिक प्रतिबद्धताको खाँचो छ । नेपालको राष्ट्रिय जीवनयात्रा प्रखर व्यक्तित्वको अपूर्ण जीवनीको अभावको अन्धकारमा आवृत्त छ ।

नेपालजस्तो गरिब देशमा आर्थिक प्रगतिको आफ्नै महत्व छ । तर बृहत्तर मानवीय मान्यताहरूभित्र मात्रै यस्तो स्थायी आर्थिक प्रगति सम्भव छ । यी मान्यताहरूको व्याख्यामा उनको जीवनी लेख्न अहिले प्रथम आवश्यकता भएको छ । सम्पत्तिजस्तै सिद्धान्त पनि कुनै व्यक्तिको लागि निहित स्वार्थ बन्नसक्छ । जुन स्वतन्त्रताले एक परिस्थतिमा एक व्यक्तिले एक सिद्धान्त अपनाउँछ, सिद्धान्त अपनाएपछि परिवर्तित परिस्थितिमा विभिन्न कारणबाट त्यस सिद्धान्तलाई छोड्न त्यो व्यक्ति त्यति स्वतन्त्र अनुभव गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?