विश्वासको मत लिन यसकारण हतारिए देउवा

लोकपथ
7.8k
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले अनुमान गरे विपरित आज प्रतिनिधि सभाबाट विश्वासको मत लिदैछन् ।

धेरैले प्रधानमन्त्री देउवाले विश्वासको मत लिन अहिले हतार नगर्ने अनुमान गरेका थिए । तर देउवाले प्रतिनिधि सभा दोस्रो पटक पुनः स्थापना भएको ७ दिनमै विश्वासको मत लिन लागेका हुन् । आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा देउवाले विश्वासको मत लिदैछन् । सर्वाेच्च अदालतले असार २८ मा प्रतिनिधि सभा पुनः स्थापना गरेर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । असार २९ मा देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदको पद तथा गोपनियताको सपथ गराएकी थिइन् । प्रतिनिधि सभा दोस्रो पटक पुनः स्थापनापछिको आजको संसद बैठक पहिलो हो ।

यसकारण हतारिए देउवा

एमाले भित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीच आन्तरिक कलह चर्किरहेका बेला देउवाले विश्वासको मत लिने प्रयास गरेका हुन् । त्यसैगरी जनता समाजवादी पार्टी(जसपा) भित्र पनि बिवाद छ । भोली समय बित्तै जाँदा राजनीति आफू अनुकुल नहुन पनि सक्छ भन्ने आकलनका साथ देउवा तत्कालै विश्वासको मत लिने निर्णयमा पुगेको बुझ्न कठिन छैन । किनकि देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता नेपाल पक्षका २३ जनाले हस्ताक्षर गरेका छन् । त्यसैगरी जसपाका १२ जनाको समर्थन देउवालाई रहेको थियो । अहिले देउवाको पक्षमा माओवादी केन्द्र, एमालेको नेपाल पक्षसहित जसपाको (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धन छ । उक्त गठबन्धनले देउवालाई मत दिदा उनको पक्षमा स्पष्ट बहुमत पुग्छ । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीलाई सांसदहरुले स्वतन्त्र रुपमा मत दिन पाउँछन् । सर्वाेच्चले त्यसमा दलीय ह्वीप नलाग्ने स्पष्ट पारेको छ । गठबन्धनमा रहेका सबै एकै ठाउँ हुदा देउवालाई बहुमतका लागि अवश्यक भन्दा बढी मत पुग्छ । अझ जसपाका केही सांसद महन्थ ठाकुरलाई छोडेर उपेन्द्र यादव पक्षमा थपिएका छन् । प्रतिनिधि सभामा देउवालाई विश्वासको मतका लागि बहुमत पुरयाउन १३६ मतको आवश्यकता छ ।

यस्तो छ अंकगणित

प्रतिनिधि सभाको अहिलेको गणितमा एमालेका १ सय २१,कांग्रेसका ६३ ( विजय गच्छदार र मोहम्मद आफ्ताव आलम दुई जना निलम्बित), माओवादीका ५३ जना (४ जना एमाले प्रवेश गरेपछि सांसद पद गइसकेको), जनता समाजवादी पार्टी (जसपा) का ३४ (दुई जना निलम्बित),राप्रपाका एक,जनमोर्चाका एक र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद रहेका छन ।

एमालेका १ सय २१ मध्ये माधव पक्षका २३ जना,माओवादीका ५३ मध्ये ४ जनाको पद गइसकेको छ,अग्नि सापकोटा सभामुख छन् त्यसकारण ४८ सांसद छन् । जसपाको पछि ठाकुरलाई छोडेर उपेन्द्रको पक्षमा आएका ५ जना सहित १७ जना,राष्ट्रिय जनमोर्चाका १ जना सांसद गरी कुल देउवाको पक्षमा १ सय ५० जना सांसद छन् ।

तर कांग्रेसका ६१, माओवादीका ४८, जसपाका १७ र राष्ट्रिय जनमोर्चाका १ जोड्दा १ सय २७ पुग्छ यस्तो अवस्थामा माधव नेपाल पक्षका ९ जना सांसदले मात्रै मत दिएपनि देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेछन् । नेपाल पक्षका २३ जनाले नै प्रतिनिधि सभाले पूरै कार्यकाल काम गर्न पाउनु पर्ने भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा त्यसको बिरोध गर्र्दै देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसकारण पनि नेपाल पक्षका सबै सांसदको मत देउवाको पक्षमा आउँदा देउवा झन् बलियो बन्नेछन् । हुम्लाका स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि देउवाको पक्षमा आए भने नेपाल पक्षका ८ जना सांसद मात्रै आएपनि देउवाले विश्वास प्राप्त गर्नेछन् ।
तर माधव नेपाल पक्षबाट १ मत पनि आएन भने देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाउने छैनन् । संविधानको धारा ७६को ५ बमोजिम बनेको सरकारले प्रतिनिधि सभाबाट ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेको छ । यदि देउवाले विश्वासको मत पाएनन् भने प्रतिनिधि सभा भङ्ग गरेर ६ महिनाभित्र उनले निर्वाचन गराउनु पर्नेछ ।

एमाले अध्यक्ष ओलीले देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । राप्रपा र नेपाल मजदुर किसान पार्टीका एक÷एक जना सांसद रहेकोमा उनीहरुले पनि देउवालाई मत दिने सम्भावना कम छ । प्रतिनिधि सभालाई पूर्ण कार्यकालसम्म लैजाने वा नलैजाने भन्ने नेपाल पक्षकै हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?