जसपामा कीर्ते काण्ड

जनता समाजवादी पार्टी (जसपा) भित्रको कीर्ते हस्ताक्षर काण्ड अहिले बाहिर आएको छ ।

जसपाका एक जना अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीमा बहुमत पुर्‍याउन नेताहरुको कीर्ते हस्ताक्षर गरेको आरोप लगाएपछि नेपाली राजनीति कतिसम्म फोहोरी बन्दैछ भन्ने प्रमाणित गरेको छ ।

जसपामा दुई पक्षको विवादले उक्त पार्टीको हालत के छ भन्ने पनि स्पष्ट पारेको छ । जसपालाई बारम्बार गैरजिम्मेवार पार्टी भनेर पनि आरोप लाग्ने गरेको छ ।

सत्ताका लागि मरिमेटेको आरोप लाग्दै आएको जसपाभित्र ठाकुर पक्षले डा.बाबुराम भट्टराई सम्मको कीर्ते हस्ताक्षर गरेर आफू बहुमतमा रहेको र आफू पक्ष नै आधिकारिक रहने भनेर निर्वाचन आयोगमा बुझाएको पत्रले नेपालका राजनीतिक दल कतिसम्म अव्यवस्थित छन् भन्ने स्पष्ट पारेको छ ।

तराई–मधेशका मुद्दा समाधान गर्ने भन्दै आइरहेको जसपा आन्तरिक कलहमै रुमलिँदा के तराई–मशेसका समस्या समाधान होलान त ? राजनीतिक विश्लेषक सीके लालका विचारमा तराई–मधेशका मुद्दा अहिले सम्बोधन हुनेगरी जसपाले काम गरेको छैन् ।

विवादको जरो

जसपामा विवादको चुरो भनेकै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र विपक्षमा लाग्ने भन्ने नै हो ।

जसपामा पूर्व राजपा पक्षका नेताहरु अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले ओलीलाई समर्थन गरेर गत जेठ २१ मा सरकारमा गएका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई भने दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेका (गत पुस ५ र जेठ ७) प्रधानमन्त्री ओलीलाई साथ दिनु हुँदैन भन्ने अडानमा रहेका कारण जसपाभित्र विवाद उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिनिधिसभा विघटनका बेला एक भएर विरोध गरेको जसपामा अहिले ठाकुर पक्षले जेठ ७ को विघटनलाई स्वागत गरेर सरकारमा गएको छ ।

यादव पक्ष भने ओलीको कदमको विरोध गर्दै कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष र जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनमा छ । खास गरी सर्वाेच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काउने फैसला गरेपछि प्रधानमन्त्री ओलीले सत्ता टिकाउनका लागि जसपालाई प्रयोग गर्ने अवस्थामा पुगे । जसले जसपाभित्र बिग्रहको बिजारोपण गरायो ।

जसपाको मुख्य विवाद भनेको सरकारमा जाने ठाकुरको निर्णय यादवले नमानेको र सरकारमा नजाने पार्टीको निर्णय ठाकुरले नमानेको भन्ने हो । यसैमा दुवैले एक–अर्कालाई पार्टीको नीति नमानेको भन्दै कारवाही गरे ।

यादव पक्षले कार्यकारिणी समितिको बहुमतले ठाकुरलाई कारवाही गरेको पत्र जेठ १८ मा निर्वाचन आयोगमा बुझायो । ठाकुर पक्षले पनि

यादवलाई कारवाही गरेको पत्र सोही दिन आयोगमा पठायो । यादवले ठाकुरलाई कारवाही गरिएकोबारे बहुमत सदस्यको हस्ताक्षर सहितको पत्र बुझाए । तर ठाकुरले सदस्यहरुको हस्ताक्षर बुझाउन सकेनन् । हस्ताक्षर जुटाउन २३ जेठमा ठाकुर पक्षले आयोगसँग एक साताको समय माग्यो । तर ठाकुर पक्षले त्यो अवधिभित्र पनि हस्ताक्षर बुझाउन नसकेपछि आयोगले जेठ ३० मा दुबैले एक अर्कालाई गरेको कारवाही मिलेन भनेर निर्णय गर्यो । आयोगले यादव पक्षको बहुमतको निर्णयलाई पनि लत्याइदियो ।

पार्टीमा अल्पमतमा परेपछि ठाकुर पक्षले बहुमत जुटाउन जेठ ३० मै यादव पक्षका २० जना केन्द्रीय कार्यकारिणी सदस्यलाई हटाएर आफू पक्षका २० जना मनोनित गरे । यसलाई यादव पक्षले ठाकुरले कीर्ते काम गरेको आरोप लगाएको छ । ठाकुर पक्षले २० जना मनोनित गरेको बिवरण आयोगमा पठाइसकेको छ । यादव पक्षले ठाकुरले केन्द्रीय कार्यकारिणी समितको बैठक नै नबसी कीर्ते पत्र आयोगमा बुझाएकाले मान्यता नदिन निवेदन दिएको छ । जसपा नेता डा. भट्टराइले त ट्वीट गर्दै ‘ठाकुरले ८० वर्षको उमेरमा पनि कीर्ते काम गरेको’ आरोप लगाएका छन् ।

ठाकुर पक्षले २०७७ पुस ७ मा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार अध्यक्ष ठाकुरलाई दिएको भन्ने माइन्यूट आयोगमा बुझाएको छ । तर यादव पक्षका नेता गंगानाराण श्रेष्ठ त्यस्तो निर्णय नभएको भन्दै ठाकुरले नक्कली माइन्यूट खडा गरेर आयोगमा बुझाएको बताउँछन् ।

जसपाको केन्द्रमा मात्रै होइन स्थानीय र प्रदेश तहमा पनि नेता कार्यकर्ता दुई कित्तामा विभाजित छन् । ठाकर पक्षका नेता डा. सुरेन्द्र झा भने कीर्ते माइन्यूट र हस्ताक्षर नभएको दाबी गर्छन् । पार्टी भित्रको बेथितिको जिम्मेवार यादव पक्ष भएको उनको आरोप छ ।

विगतमा जसपाले उठाएका विभिन्न माग सम्बोधन हुन नसक्ने बताएका प्रधानमन्त्री ओलीले अब माग सम्बोधन गर्ने प्रतिवद्धता देखाएको भन्दै ठाकुर पक्ष सत्तामा उक्लिएको हो ।

राजनीतिक विश्लेषक लाल भने त्यो पत्याउन तयार छैनन् । सत्तामा जान बिगतमा पनि दलहरुमा यस्ता कीर्ते हस्ताक्षर हुने गरेकामा ती बाहिर आएका थिएनन् । अहिले भने सतहमा आएको विश्लेषक लालको भनाई छ ।

जसपा भित्रको आन्तरिक झगडाले उक्त पार्टीको आन्तरिक राजनीति कस्तो छ भन्ने स्पष्ट देखिएको छ । आन्तरिक राजनीतिमा कमजोर देखिएको जसपाले तराई–मधेशका मुद्दा कसरी सम्बोधन गर्ला ? यो प्रश्न उब्जिएको छ ।

आफ्नो पार्टीलाई व्यवस्थित तवरले चलाउन नसकेको जसपाको विवाद निरुपण गर्ने जिम्मा फेरि निर्वाचन आयोगमै पुगेको छ । दुबै पक्ष आयोगले कसलाई मान्यता देला भनेर पर्खेर बसेका छन् । आयोगले सोमबार नै ठाकुरलाई आधिकारिकता माग दाबी बारे १५ दिनभित्र आयोगमा लिखित जवाफ पेश गर्न भनेको छ ।

सबै प्रक्रिया पूरा गर्दा जसपाको आधिकारिकता निरुपण गर्न झण्डै एक महिनासम्म लाग्न सक्ने बताइएको छ ।

लेखकबाट थप

व्यवस्था फेरियो, अवस्था फेरिएन

त्यो कालो शुक्रवार : बिलियार्ड हलमा राजा वीरेन्द्रको वंशनाश

जसपाभित्रको दुई धार : पहिले छाँया अहिले घाम

एमालेमा ओली रणनीति : अप्ठ्यारोमा एकताको कुरा, सहज हुँदा कारबाही

एमाले विवादको फाइदा कांग्रेसलाई : कर्णाली प्रदेशबाट सत्तारोहण शुरु

महन्थलाई मुस्किल छ

कांग्रेस : कहिले आउला युवा पुस्ताको पालो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?