पुर्वीय जीवनशैलीको पश्चिमीकरण

संयुक्त राष्ट्र संघको एउटा निकाय पश्चिमी यूरोपका लागी क्षेत्रिय सुचना केन्द्रले गत बर्ष केही पश्चिमी यूरोपेली मुलुकहरुले कोभिड–१९ को महामारी नियन्त्रण गर्न लागु गरेको कडा बन्दाबन्दी (लकडाउन) का बिच यूरोप लगायत पश्चिमी मुलुकहरुमा योगको बढ्दो मह्त्व र लोकप्रियताका बारेमा एउटा रिपोर्ट सार्वजनिक ग¥यो । महामारीको जोखिम बढ्दै गएपछी स्पेन, इटाली, फ्रान्स, जर्मनी र पोल्यान्डले आफ्नो देशहरुमा तत्काल जिम र योग स्टुडियोहरू बन्द गर्न बाध्य भए । धेरै युरोपेली देशहरू र विश्वभर डढेलो सरी फैलिएको कोरोना भाइरसका कारण सामाजिक दुरी र सार्वजनिक हिँडडुलमा लागेको प्रतिबन्धहरूको परिणामस्वरूप मानिसहरू महिनौंसम्म आफ्ना बासस्थानहरुमै सीमित भए ।

सकृय जीवनशैली र आउटडुअर्स मन पराउने अधिकांस पश्चिमी देशका नागरिकका लागि घरबाटै कार्यालयको काम (वर्क फ्रम होम) र शिक्षा (होम स्कुलिङ) को अप्रत्यासित बाध्यताले पेशागत जीवन र व्यक्तिगत–पारिवारिक जीवनको सन्तुलनमा प्रभाव पार्नु स्वभाविकै थियो ।

समयको अनिश्चितता र घरको चार–भित्ताभित्र शारिरिक र मानसिक तन्दरुस्ती कायम राख्नु पर्ने अवस्थामा योग र ध्यान शक्तिशाली विकल्प हुन थाले । एकातिर कोरोना कहर र अर्कोतिर संसारभरीबाट आईरहेका नकारात्मक र पिडादायी समाचारका कारण मानिसहरु शारिरिक रुपले कमजोर र मानसिक रुपले बिक्षिप्त हुने खतराले स्वस्थ्य जीवनशैलीका बैकल्पिक उपायहरु खोजी हुनु नौलो कुरा भएन । महामारीले नराम्रोसँग गिजोलेको यस्तो अवस्थामा मानसिक स्वास्थ्यको पक्षलाई ध्यान दिने समाजको तप्काले आफ्नो मन–मस्तिष्कलाई शान्त र सकारात्मक राख्न र एक अर्काको हौसला बढाउन संसार भरी योग र ध्यानको सहारा लिन थाले ।

मानसिक असन्तुलनको सिधा प्रभाव तनाव, निर्णय लिने क्षमतामा असर, नैराश्यपन, आत्महत्या आदी जस्तामा पर्ने हुँदा योग र ध्यानले केही हदसम्म मानिसहरुमा यस्तो नकारात्मक सोच आउन नदिन सहयोगी भूमिका खेल्छ भन्ने तथ्य बैज्ञानिक अनुसन्धानहरुले पुष्टी गरेको अवस्थामा पश्चिमी मुलुकहरु पूर्वीय जीवनशैलीका यस्ता विधीहरुको लोकप्रियता र अनुसरण हुनु स्वभाविकै हो ।

महामारीपुर्व ध्यान र योगको विश्वव्यापी विस्तार

प्राचिन सिन्धु घाटीको सभ्यतामा विकास भएको योग र ध्यानको अभ्यासका बारेमा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख भएको इतिहास छ । केही बर्षअघि सम्म पनि वैकल्पिक स्वास्थोपचार (मानसिक स्वास्थ्य) र हिप्पी जीवनशैलीसित जोडिएर हेर्ने गरिएको ध्यान र योगलाई पश्चिममा नाम चलेका विश्वविद्यालयका अनुसन्धान केन्द्रहरु र स्वास्थ्यसँग सम्बन्धित अधिकारिक निकायहरुले पूर्वीय अभ्यासहरु पश्चिमी समाजको मुलधारमा प्रवेश गरेको तथ्यलाई स्विकार्न थालेका छन् ।

सन् २०१८ मा अमेरिकामा गरिएको सर्वेक्षणले १४ प्रतिशत वयस्क अमेरिकीहरु र बढ्दो संख्यामा बालबालिकाहरु कुनै न कुनै प्रकारका योग र ध्यानको अभ्यासमा संलग्न भएको देखाएको थियो । धार्मिक दृष्टिले बहुसंख्यक क्रिश्चियन धर्मावलम्बी रहेको यूरोप र अमेरिकाका मुलुकहरु (दक्षिण अमेरिका र क्यानाडा समेत) मा ध्यान र योगको बढ्दो लोकप्रियतासित धार्मिक आस्था र आध्यात्मिक लगावको कुनै साईनो छैन, केही झिनो प्रतिशत बाहेक । मुलतः हिन्दू र बौद्ध धर्मसित जोडिएको यो परम्पराले पश्चिमी समाजको मुलप्रवाह र पपुलर कल्चरमा गरेको यो हस्तक्षेप द्रुतगतीको पश्चिमी जीवनशैलीसित सम्बन्ध राख्छ भन्दा अत्युक्ती नहोला ।

भौतिक रुपले विकसित अधिकांश मानिसका लागि योग र ध्यान आस्था र सम्प्रदायभन्दा पनि शारिरिक र मानसिक स्वास्थ्य लाभहरु सित जोडिएको छ । आधुनिक विकासको एउटा चरण पार गरिसकेको र विज्ञान र प्रविधी समाजको अभिन्न अंग भैसकेको र सुपरसोनिक गतिमा दौडिरहेको मान्छेले योग र ध्यानको आध्यात्मिकता अँगाल्नु पश्चिमी देशहरुका लागि नवीन प्रयोग पनि हो । कामको चाप, डेड्लाइनको तनाव, पारिवारिक दायित्व, डिजिटल र भर्चुअल दुनियाँमा अभ्यस्त समाज र निरन्तर नोटीफिकेसनको जादुमयी परिवेशभित्र श्वासनलीको टुप्पोमा एकाग्र ध्यान दिनु सम्भवतः आजको दिनमा सबैभन्दा कठिन कार्यहरु मध्ये एक होला ।

हजारौं बर्ष पहिले ऋृषिमुनी र तपस्वीहरुले हिमालय र दुरदराजका ओढारहरुले अपनाए जस्तो जीवनशैलीमा गरेको योग र ध्यान अनि आजको डिजिटल युगमा बाँचिरहेको मान्छेले अंगालेको ‘योगा एप्स र जुम माइन्डफुल्नेस सेसन्स’ हरुबीच भिन्नता त पक्कै होला । तर दुवैको एउटा लक्ष्य भने आफुभित्र शान्ति र स्थिरता खोज्नु नै हो ।

अब एकैछिन योग र ध्यानको पश्चिमी जगतमा प्रवेशको ईतिहास केलाऔं । कलकत्ताको रामकृष्ण आश्रमसित आबद्ध स्वामी विवेकानन्दलाई पश्चिममा योगको प्राचिन अभ्यासलाई परिचय गराउने अग्रदुतका रुपमा हेरिन्छ । उन्नाइसौं शताब्दीको उत्तरार्धताका ब्रिटिश उपनिवेश भारतमा देशभक्ती र आध्यात्मिक पुनर्जागरणको प्रवचनहरु दिएर र आध्यात्मिक पुस्तकहरु लेखेर ख्याती कमाएका स्वामी विवेकानन्दलाई सन् १८९४ मा अमेरिकाको शिकागोमा आयोजना गरिएको ‘वल्र्ड रिलिजन्स पार्लियामेन्ट’ मा अतिथी वक्ताका रुपमा निमन्त्रणा गरिएको थियो । विश्वभरीबाट सबै धर्मका प्रतिनिधिहरुको सहभागिता रहेको शिकागोको त्यो कार्यक्रममा युवा उमेरका स्वामी विवेकानन्दले दिएको भाषणमा धार्मिक कट्टरपन्थको अन्त्य र विश्व भाईचारा अनि धार्मिक सहिष्णुताको आह्वान गरेका थिए । पूर्वीय दर्शन र इतिहासमा चासो राख्ने सिमित बिद्वत बर्ग बाहेक अरुले थाहा नपाएको योग अभ्यासका बारेमा स्वामी विवेकानन्दको अमेरिका भ्रमण र प्रवचनहरु पश्चात अमेरिकी र यूरोपलीहरुले क्रमिक रुपमा थाहा पाउन थालेका हुन ।

उसो त, अमेरिकाका पहिलो योगी भनेर हेनरी डेविड थोरोलाई चिनिन्छ । पूर्वीय दर्शनबाट गहिरो प्रभावमा जोगी जस्तो जीवनशैली बिताएका कवि, लेखक, दार्शनिक र संरक्षणवादी अभियन्ता थोरोले विवेकानन्द अमेरिका पुग्नु भन्दा धेरै अघि नै योग अभ्यास गर्ने गरेको सन्दर्भहरु पाईन्छन । भद्र अवज्ञा आन्दोलनका जन्मकर्ताका रुपमा पनि चिनिने थोरोका विचारहरुबाट रुसी साहित्यकार लिओ टल्सटोय, भारतीय राजनीतिज्ञ महात्मा गान्धी र अमेरिकी समान नागरिक अधिकारका अभियन्ता मार्टिन लुथर किङ प्रभावित थिए ।

खेलकुदको क्षेत्रमा अमेरिकामा सर्वाधिक लोकप्रिय मानिने खेल मध्येको एक बास्केटबलका प्रख्यात खेलाडीहरु माइकल जोर्डन र कोबे ब्रायन्टले आफ्नो खेलहरुमा ध्यानको अभ्यासलाई श्रेय दिएका छन् । अहिलेको समयको सर्वाधिक लोकप्रिय अन्तराष्ट्रिय बेस्टसेलर गैरआख्यान पुस्तकका लेखक इजराइली इतिहासकार युवल नोह हरारीले आफ्नो रचनात्मक कृतिहरुको सृजनाको श्रेय दैनिक विपश्यना ध्यानलाई दिएका छन ।

पूर्वीय आध्यात्मिक जीवनशैलीको अभिन्न अंग मानिने योग र ध्यानको भौतिक रुपले विकसित मानिने देशहरुमा दिन–प्रतिदिन उकालो लाग्दै गरेको स्विकार्यता र लोकप्रियता हेर्दा मुलतः प्रविधिको प्रभुत्वमा बाँचिरहेको र समयको दवाबले केही हदसम्म यान्त्रिक जीवन बाँच्न बाध्य मान्छे आफु भित्रको शान्ति र सन्तुलनको खोजी हो ।

योग र ध्यानको सर्वव्यापकता र लोकप्रियताको फलस्वरुप यसले पश्चिममा आफ्नो शुद्धता गुमाएको र यो प्राचिन जीवन पद्धती र दर्शनभन्दा पनि पपुलर कल्चरभित्रको अर्को एउटा नौलो फेशनमा सिमित भयो भनेर आरोप पनि लागेको छ । हिन्दू अमेरिकन फाउण्डेशन नाम गरेको एउटा संस्थाले त योग र ध्यान बुटिक फिटनेसको महङ्गो व्यवसायमा परिणत भएको अनि आफ्नो आध्यात्मिक शुद्धतालाई बेवास्ता गरिएको भन्दै संस्थाले अहिले पश्चिमी मुलुकहरु मा ‘टेक बेक योगा’ अभियान नै चलाएको छ ।

र अन्त्यमा, चीनको साओलिन बौद्ध बिहारबाट सुरु भएको मार्सल आर्ट्सले स्थिर र सन्तुलित जीवन बाँच्न सिकाएको युक्तीले पुर्व–पश्चिम, उत्तर– दक्षिण यत्र–तत्र–सर्वत्र आफ्नो व्यापकता पायो । बेलायतबाट सुरु भएको सामुदायिक खेल फूटबलले विश्व भर पाएको लोकप्रियता बुझ्न टाढा जानै पर्दैन ‘वल्र्ड कप’ को बैश्विक क्रेज हामी सबैले अनुभव गरेकै छौं ।

लेखकबाट थप

यो कोरोना र बुद्धले देखाएको त्यो बाटो

प्रकृतिसँगको सह-अस्तित्वमा नै मानव अस्तित्व निहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?