प्रकृतिसँगको सह-अस्तित्वमा नै मानव अस्तित्व निहित

विश्व वातावरण दिवस

कोभिड–१९ को विश्वव्यापी महामारी र त्यसले निम्त्याएको पिडा र त्रासकाबीच राजधानी काठमाडौंका जनता र आम नेपालीले २०२१ को सुरुवाती दिनहरुमा अर्को डरलाग्दो समाचार र वास्तविकतासित जुध्नु प¥यो । विश्वभरका शहरहरूको हावाको शुद्धता मापन गर्ने एउटा विदेशी कम्पनीको वेभसाइटले त्यो साता राजधानीबासीले श्वास फेर्ने हावालाई विश्वकै सबैभन्दा दुषित भएको देखायो । राष्ट्रिय–अन्तर्राष्ट्रिय समाचारहरुमा काठमाडौंको वायु प्रदुषण पुन: एकपटक ठुलो समाचार बन्न थाले, दुर्भाग्यवस !

एकातिर कोरोना भाइरस र यसले मान्छेको फोक्सोमा पार्ने असरको डर त छदैँ थियो, अर्कोतर्फ कोरोना कहरकाबीचमा काठमाडौंको वायुमा यो तहको प्रदुषणको कारण श्वासप्रश्वास सम्बन्धी समस्याले निम्त्याउन सक्ने भयावह अवस्थाले नागरिक थप प्रताडित हुँदै थिए । हुन पनि मध्यान्हदेखि शुरु भएको तुँवालोले अपरान्हतिर भने पूरै शहर ढाकेको त्यो साता सुन्दर नगरी काठमाडौं कुरुप जस्तै देखिएको थियो । त्यो बाक्लो तुंवालो काठमाडौंवासीलाई प्रकृतिले बजाइरहेको खतराको घन्टी थियो ।

हानिकारक वायु प्रदुषणको यो अवस्थालाई धेरैले देश भरीको डढेलोलाई जिम्मेवार मानेता पनि आधुनिक बन्ने होडमा हामीले अँगालेका जीवनशैलीहरु प्रमुख कारक हुन् । यो त भयो काठमाडौं र आफ्नै देशको कुरा,आठ अर्बको हाराहारीमा पुग्न लागेको विश्वको जनसंख्याका कारण अप्रत्यासित रुपमा बढेको शहरीकरण, औद्योगीकिकरण, ऊर्जाको अत्याधिक खपत, वन विनाश र चरम सुविधाभोगी जीवनशैलीले मानव जीवनको सम्पूर्ण अस्तित्व प्रकृतिमा निर्भर छ भन्ने कुरा वेवास्ता गरेको छ ।

हामीले बुझ्नै पर्ने हुन्छ, मानव सभ्यताको प्रमुख आधार नै प्रकृति हो । यथार्थमा पर्यावरण र मानवजीवनको सम्बन्ध अन्योन्यश्रित छ । मानव अस्तित्वका लागी प्रकृती आवश्यकता हो । तर प्रकृतिलाई हामी नभए पनि हुन्छ । यो सम्बन्धको संबेदनशिलतालाई उचित सम्बोधन गर्न सकिएन भने मानव अस्तित्व नै समाप्त हुने बेला–बखत वातावरणविद् र वैज्ञानिकहरुले चेतावनी दिएका छन । बिख्यात वैज्ञानिक र मानवतावादी चिन्तक अल्बर्ट आइनस्टाइनले भनेका छन् – ‘पृथ्वीबाट मौरीमात्रै विलुप्त भए भने पनि मानव जीवनको आयु चार वर्ष भन्दा माथि जाने छैन । एउटा सचेत मान्छेका लागि यो भन्दा मननयोग्य चेतावनी के हुन सक्ला ।’

आधुनिक विकासको नाममा केवल प्राकृतिक सोत र साधनको दोहन गर्ने र जैविक विविधताको सन्तुलनलाई बेवास्ता गर्ने हो भने जलवायु परिवर्तनजस्ता जटिल पर्यावरणिय चुनौतिहरुले मानव जगतलाई निःसन्देह आफ्नो चपेटामा पार्ने छ । बढ्दो तापक्रम र असन्तुलित रूपमा भएको मौसम परिवर्तनका कारण पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म फैलिएको उच्च हिमाली क्षेत्रमा समेत जलवायु परिवर्तनको असरहरु देखा पर्न थालेका छन । विभिन्न अध्ययन अनुसार २० औं शताब्दी प्रारम्भ भएदेखि उच्च हिमाली क्षेत्रमा वायुको तापक्रम झन्डै दुई डिग्री फरेनहाइटमा वृद्धि भएको छ ।

परिणाम स्वरुप, हिमाल र हिमनदीहरु पग्लन थालेका छन् । माटो, चट्टान र पर्माफ्रस्ट भनिने बरफको स्थायी रुपमा जमेको परत पनि पग्लन थालेको छ । यही गतिमा जलवायु परिवर्तन भए सन् २१०० सम्ममा ७० प्रतिशत हिँउ र पर्माफ्रस्ट पग्लन सक्ने अध्ययनहरुले देखाएका छन् ।

नेपालमा पनि हिमालहरूमा हिउ पग्लिएर सिद्धिने क्रम जारी छ । जलवायु परिवर्तनको नेपालका हिमालहरुमा परेको असरले पर्यावरण जसरी नष्ट हुदै गइरहेको छ, त्यसबाट केवल नेपाललाई मात्र नोक्सान पुग्ने छैन, त्यसबाट सम्पूर्ण दक्षिण एसियालाई नै गम्भीर क्षति पुग्ने छ ।
विगत २ वर्षमा मात्रै जैविक सन्तुलनका निम्ती अत्यन्तै संबेदनशील मानिएको ब्राजिलको अमेजन जङ्गलमा लागेको डढेलो र अष्ट्रियाको जङ्गलमा लागेको डढेलोले जैविक विविधतामा ठुलो क्षति पुयार्यो । यस्ता संबेदनशील स्थलहरुमा वनविनाश हुनाले समग्र पृथ्वीको वातावरणको सन्तुलन बिग्रन्छ र रैथाने बोटबिरुवा र लोपोन्मुख जीवजन्तुहरू पृथ्वीबाट लोप हुन्छन् ।

विश्वको लगभग सबै देशहरु आजको दिनमा एक्काइसौं शताब्दीको दौडमा सामेल हुँदै बिज्ञान र प्रविधीलाई पछ्याउने क्रममा छन । उत्पादन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर विश्व मानचित्रमा आफ्नो मुलुकलाई विकसित देश भनेर चिनाउने होडमा छन । यद्यपी, प्राकृतिक स्रोत र साधनहरु आफ्नै नियममा चलिरहेका हुन्छन् । भौतिक विकासका नाममा स्वस्थ्य र सन्तुलित वातावरण मानव अस्तित्वका लागि महत्वपूर्ण हुन्छ भन्ने तथ्यलाई बिर्सिन खोजिएको छ । फलतः प्रकृतिमा देखिने हरेक परिवर्तनले मानवजीवनमा गम्भीर प्रभाव पार्दै आएको छ ।

मान्छेले प्राकृतिक स्रोत साधनहरूको उपभोग मात्र गर्ने होइन एउटा बुद्धिमान प्राणी भएका नाताले यसको संरक्षक समेत हो । पर्यावरण भन्नाले केवल प्रकृति मात्र नभै पृथ्वीमा कायम जलमण्डल, वायुमण्डल र भूमण्डलबीचको अन्तरसम्बन्ध पनि हो भन्ने बुझन जरुरी छ ।

पर्यावरणप्रती संवेदनशील हुन सकिएन भने हाम्रो भविष्य सुरक्षित रहिरहन सक्दैन भन्ने सत्यलाई पनि स्विकार्नु आवश्यक छ । प्राकृतिक स्रोत साधनको विवेकपूर्ण उपयोग र प्रकतिसँगको सह–अस्तित्वमा नै मानव अस्तित्व निहित छ । बैश्विक महामारीको चपेटामा जुधिरहेको आजको मानवजातीले वातावरण संरक्षणका लागि जिम्मेवारी बोध गर्नुका साथै पर्यावरण मैत्री जीवनशैली अपनाउदैं आ–आफ्नो व्यवहार परिवर्तन आवश्ययक छ । एउटा सचेत मान्छे प्रकृतिबाट पृथक रहेर वस्न सक्दैन र नीजि स्वार्थ र धनआर्जनका लागि पर्यावरणको दोहन गरेर आफ्नो अभिलाषा पुरा गरीरहदैन ।

कोरोना कहरको त्रासदीपूर्ण समयको बिच हामीले जति बढी प्राकृतिक वातावरणलाई बिगार्ने काम गर्दछौं, त्यति नै सहजै यस्ता महामारीहरू फैलिनका लागि उपयुक्त वातावरण सिर्जना हुदैं जाने यथार्थको हेक्का राख्न जरुरी छ ।

लेखकबाट थप

यो कोरोना र बुद्धले देखाएको त्यो बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?