निर्वाचन आयोग : नुनको सोझो बाटोमा !

एमालेमा विवाद चर्किँदा सत्तामा जाने र नजाने विषयमा जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्कियो । अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारको समर्थनमा रह्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको कदमलाई सही भन्दै ठाकुर पक्ष गत जेठ २१ मा सरकारमा गयो । तर अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने प्रधानमन्त्री ओलीले गत पुस ५ र जेठ ७ मा गरेको प्रतिनिधि सभा विघटनको विरोधमा उभियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै यादव पक्ष अझै विरोधमा छ । ओलीले पुस ५ मा विघटन गर्दा सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा ब्यूँताइदियो । दोस्रो पटकको विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जसपाको मुख्य विवाद भनेको सरकारमा जाने ठाकुरको निर्णय यादवले नमानेको र सरकारमा नजाने पार्टीको निर्णय ठाकुरले नमानेको भन्ने हो । यसैमा दुवैले एक–अर्कालाई पार्टीको नीति नमानेको भन्दै कारवाही गरेका हुन् ।

यो विवाद निर्वाचन आयोग सम्म पुग्यो । १८ जेठमा दुवैले एक अर्कालाई कारवाही गरेको पत्र आयोगमा बुझाए । अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर सहित ठाकुरलाई कारवाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाए । दल दर्ता किताबमा उक्त निर्णय अद्यावधिक गर्न आयोगलाइ आग्रह गरे । ठाकुरले पनि यादवलाई गरिएको कारवाही बारे आयोगलाई जानकारी गराए । तर केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर ठाकुरले बुझाएनन् ।

आयोगले ठाकुरलाई अध्यक्ष यादवलाई गरिएको कारवाहीबारे बहुमत सदस्यको हस्ताक्षर आयोगमा बुझाउन भन्यो । जेठ २३ मा ठाकुर पक्षले पार्टीको सचिवालयका कर्मचारीलाई कोरोना लागेको भन्दै हस्ताक्षर जुटाउन एक साताको समय माग्यो । आयोगले समय पनि दियो । ठाकुर पक्षले त्यो अवधिभित्र पनि हस्ताक्षर बुझाउन सकेन् । त्यसपछि आयोगले जेठ ३० मा दुबैले एक अर्कालाई गरेको कारवाही मिलेन भनेर निर्णय गर्‍यो ।

अब यहाँ प्रश्न उठ्छ के लोकतन्त्रमा विधि,प्रक्रिया र बहुमतको कदर हुँदैन ? अध्यक्ष यादवको बहुमतको कदर किन हुन सकेन् । के यहाँ पनि कसैको प्रभावमा आयोगले निर्णय गरेको हो रु गम्भीर प्रश्न उब्जिएको छ ।

अध्यक्ष यादवले आज विज्ञप्ति जारी गरेर आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । जसपाको विवादमा बहुमतले गरेको निर्णय अस्विकार गरेर निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको यादवको भनाइ छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार,जसपामा विवाद देखिदा आयोगले दुवै पक्षलाई बोलाएर विवादको निरुपण गरेको भए त्यो सजिलो हुन्थ्यो र विवाद पनि आउने थिएन ।डा. यादव भन्छन्, “आयोगले संविधान र कानून अनुसार नै निर्णय गरेको हुनसक्छ,चित्त नबुझ्ने पक्ष कानुनी बाटोबाट अघि बढ्न पनि सक्छ ।”

हाम्रो जस्तो भूराजनीतिक जटिलता भएको देशमा आन्तरिक राजनीति कमजोर रहँदा विदेशी स्वार्थ समूहको चलखेल हुने गरेको छ । त्यसको प्रभाव हाम्रा संवैधानिक निकायमा त परेको छैन भन्ने प्रश्न पनि उब्जिएको छ । पराराष्ट्रविद डाक्टर दिनेश भट्टराईको विचारमा आन्तरिक रुपमा हामी कमजोर हुँदा त्यसको फाइदा अरुले उठाउँछन् । त्यसको प्रभाव सबैतिर पर्न सक्छ । अन्तर्राष्ट्रिय रुपमा पनि हामी कमजोर बन्न सक्छौ । “हामी आफू बलियो हुनुपर्छ,” परराष्ट्रविद् भट्टराई भन्छन् ।

जसपा अध्यक्ष यादवले जेठ १७ मा बसेको कार्यकारिणी समितिको बहुमतबाट अध्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको जिम्मेवारीबाट हटाएका थिए । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ आयोगले गरेको निर्णयबारे आफूले केही भन्न नसक्ने बताउँछन् ।

उता आयोगको निर्णयले ठाकुर पक्षलाई भने उत्साहित बनाएको छ । ठाकुर पक्षका जसपा नेता डाक्टर सुरेन्द्र झा आयोगको निर्णय निष्पक्ष र जसपाको विधान अनुसार नै भएको दाबी गर्छन् । आयोगको निर्णयले जसपा एक भएर अघि बढ्न सहयोग पुगेको झाको भनाई छ ।

जसपाको विवादमा आयोगले निर्णय गरेपनि समस्या झनै बल्झिने निश्चित छ । किनकि जसपाको एउटा पक्ष सरकारमा छ अर्को विपक्षमा । दुवै पक्षले मनोमानी तरीकाले जे गरेपनि हुने स्थिति देखिएको छ । तर डाक्टर झा आयोगको निर्णयले पार्टी समानताका आधारमा एकीकरण भएको र दुइ अध्यक्ष मध्ये एकले मात्रै गरेको निर्णय मान्य नहुने गरी प्रष्ट पारेको बताउँछन् ।

आयोगले जसपा भित्रको आन्तरिक कलहलाई विवादरहित रुपमा निरुपण गर्न नसक्नुमा आयोगमा हुने गरेको भागवण्डाको राजनीति कारक रहेको कतिपयको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायत आयोगमा रहेका कतिपय पदाधिकारीलाई प्रधानमन्त्री ओलीले नै नियुक्त गरेका हुन् । उनीहरुले नुनको सोझो स्वरुप ओलीलाई जसरी सत्तामा रहिरहन सहज हुन्छ त्यसरी नै निर्णय गरेको आयोग स्रोत बताउँछ ।

लेखकबाट थप

व्यवस्था फेरियो, अवस्था फेरिएन

त्यो कालो शुक्रवार : बिलियार्ड हलमा राजा वीरेन्द्रको वंशनाश

जसपाभित्रको दुई धार : पहिले छाँया अहिले घाम

एमालेमा ओली रणनीति : अप्ठ्यारोमा एकताको कुरा, सहज हुँदा कारबाही

एमाले विवादको फाइदा कांग्रेसलाई : कर्णाली प्रदेशबाट सत्तारोहण शुरु

महन्थलाई मुस्किल छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?