बलात्कारका घटना बढेको बढ्यै : आफन्त र छिमेकीबाटै हुन्छन् धेरै बलात्कारका घटना

काठमाडौं । जेठ २२ गते शनिवार राति १० बजेतिर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोमा राउटे युवतीमाथि दुर्व्यवहार भएको प्रष्ट देखिन्थ्यो । भिडियोमा तीन जना युवकले राउटे समुदायका दुई युवतीमाथि दुर्व्यवहार गरिरहेका थिए । भिडियोमा दुबैजना राउटे युवतीहरु मदिराले लठ्ठ देखिन्थे ।

भिडियो सामाजिक सञ्जालमा अपलोड भएकै केही बेरमा भाइरल नै भयो । युट्युब, टिकटक फेसबुक लगायतका सबै सामाजिक सञ्जालमा  भिडियो भाइरल भयो । दुर्व्यवहारको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

***

राउटे एउटा यस्तो समुदाय हो जो आफूलाई बोटको राजा र गैह्र राउटेलाई कोटको राजा भन्ने र ठान्ने गर्छन् । केही समय अघिसम्म राउटेहरु ‘पैसा छुन हुन्न छुँदा पाप लाग्छ’ भन्ने मान्यता राख्थे । उनीहरु अन्य समुदायसँग घुलमिल गर्दैनन् । वर्षौंदेखि जंगलमै फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएपछि अहिले हरेक क्षेत्रबाट निन्दा भइरहेको छ।

***

यो केहीदिन अघिमात्रै घटेको घटनामा जसरी दुई युवतीले दुर्व्यवहार भोगे, त्यसैगरी  हजारौँ महिलाहरु वर्षेनि यौन दुर्व्यवहार र बलात्कारका शिकार हुने गरेका छन् ।

चालू आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनासम्मको तथ्याङक हेर्दा २ हजार ७ सय ३२ जबर्जस्ती करणीका केशहरु दर्ता भएका छन् । नेपाल प्रहरीको तथ्याङक पल्ट्याएर हेर्ने हो भने महिला तथा बालबालिका सम्बन्धी घटनाका मात्रै ३ हजार ९ सय ७२ वटा घटना दर्ता भएको देख्न सकिन्छ ।

पछिल्लो आ.व.२०७६/७७ को जेठसम्मको तथ्यंकलाई हेर्ने हो भने जबर्जस्ती सम्बन्धी २ हजार ३ सय ३१ घटना दर्ता भएका थिए । जसमा जबरजस्ती करणीका २ हजार १ सय ४४ र जबरजस्ती करणी उद्योगका ६ सय ८७ रहेका छन् ।

त्यस्तै चालू आ.व को बैशाखसम्मको तथ्यंकलाई हेर्दा जबर्जस्ती सम्बन्धी २ हजार ७ सय ३२ घटना दर्ता भएका छन् । जसमा जबरजस्ती करणीका २ हजार १ सय ४४ र जबरजस्ती करणी उध्योगका ६ सय ११ रहेका छन् ।

तथ्याङक हेर्दा नेपालमा हरेक आर्थिक वर्षमा बलात्कृत हुने महिलाहरुको संख्या बढ्दो छ ।

हेर्नुहोस् डाटा (प्रहरीको तथ्यंकमा आधारित) : 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना हुने गरेका छन् । ‘८ महिनाको शिशु देखी ८० वर्षसम्मका महिलाहरु बलात्कारको शिकार भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने ।

पछिल्लो समय जनस्तमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण साथै, शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन स्कुलहरूमा गएरै पढाउनसमेत थालेका छौं । पछिल्लो समय हिंसा लुकाउनुहुँदैन भन्ने चेतना जनस्तरमा बढेकाले उजुरी बढेको उनको भनाइ छ  ।

  • बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त
  • भागरथी भट्टको बलात्कारपछि हत्या
  • सर्लाहीकी १७ वर्षीया किशोरीमाथि मालवाहक ट्रकमानै सामूहिक बलात्कार ।
  • बझाङ्गकी संझना विक को गाईगोठमा जादा नजिकैको मंन्दिरमा लगि बलात्कार पछि त्रिशुल रोपि हत्या
  • रत्नपार्कबाट भक्तपुर जाने बसमा १७ वर्षीया किशोरीको बसभित्रै सामूहिक बलात्कार

यी त केहि प्रतिनिधि घटना मात्र हुन् । तपाई हाम्रो जानकारीमा नआएका र नल्याइएका कति यस्ता घटनाहरु घटिराखेका छन् । नेपालमा नाबालिकादेखि ७०–८० वर्षीया वृद्धा हजुरआमा समेत बलात्कार अनि यौनजन्य हिंसाको शिकार हुने गरेका छन् ।

यौनजन्य दुव्र्यवहार गर्नेहरुमा अधिकांश आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको पाइन्छ । यौनजन्य दुव्र्यहारको प्रमुख निशानामा अधिकांश नाबालिका, बालिका र किशोरीहरु नै पर्ने गरेका छन् । त्यसैगरी शारीरिक अशक्तता भएका बालिका, युवती तथा महिलाहरु पनि बलात्कारीको निसानामा पर्ने गरेका छन् । पछिल्लो समय मुलुकभर जबरजस्ती करणीका घटना बढेका छन् ।

बलात्कार र बलात्कार प्रयासविरुद्ध कठोर कानुनी कारबाही गर्नुपर्ने माग हरेक घटनापछि उठ्ने गर्छ । राजनीतिक दलका नेता, कार्यकर्तादेखि सामाजिक अभियान्ता हुँदै सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म यसको चर्चा हुन्छ । तर अपराधमा सार्वजनिक पद धारण गरेकादेखि ‘प्रतिष्ठा’ आर्जन गरेका व्यक्ति मुछिएपछि सार्वजनिक धारणा र बहस पनि विभाजित हुने गरेका उदाहरण हामीसँग छन् ।

महिला राष्ट्रपति भएको नेपालमा बलात्कार जस्तो जघन्य अपराध हुँदा समेत दुख व्यक्त मात्र हुन्छ । ‘पब्लिक प्रेसर’ आयो भने विज्ञप्ति निकालेर दुख लाग्यो भनिन्छ अनि सकिन्छ । देशको लिडर हुँ भन्दै हिँड्ने राजनीतिज्ञ पनि बलात्कारीलाई छुटाउन प्रशासनसँग लबिङ गर्छन् । धरौटीमा छुटाउन हरबखत लागि पर्छन् ।

विकट र दुरदराजका महिला अशिक्षा र जनचेतनाका कमी कै कारण आज हिंसाका शिकार बन्न बाध्य छन् । अन्याय सहेर बसेका छन् । आफ्नो पीडा व्यक्त गर्नै सकेका छैनन् । पीडा व्यक्त गर्दा झनै पीडामा परिन्छ कि भनेर भित्रभित्रै दबाएर बस्न बाध्य छन् । आफ्नै हजुरबुबा, बाबु, दाजुभाइबाटै बलात्कृत हुन्छन् छोरीहरु ।

देशका सम्पूर्ण नागरिकलाई उद्यमशील, व्यस्त, आत्मनिर्भर, स्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख गराउन सकिएमा बलात्कारजन्य घटनामा कमी आउने निश्चित देखिएको छ । त्यसैले भएका कानूनको पूर्ण पालना गराउन मुलुकमा बढ्दो यौनजन्य हिंसा कम गर्न घरपरिवार, विद्यालय, स्थानिय तह, नागरीक समाज र राज्य स्तरबाट तत्कालै पहलकदमी लिन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?