हामी कति अम्मली ?

विश्व धुम्रपान विरुद्धको दिवस

‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ ।’
‘सुर्तीजन्य पदार्थ सेवनले ज्यान लिन्छ ।’
‘सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ ।’
‘खैनी सुर्ती सेवन गर्न छोडौं ।’

सुर्तीजन्य पदार्थको प्याकेटमा उल्लेखित यी सन्देशसँगै बिग्रिएको अनुहार र फोक्सोको तस्वीर छापिएका हुन्छन् । श्रव्यदृश्य सञ्चारमाध्यममा पनि ‘सुर्तीजन्य पदार्थको सेवन नगरौं’ भन्दा जनचेतनामूलक सामग्रीहरु प्रकाशन-प्रसारण भइरहेका छन् ।

पछिल्लो समय सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे बुझ्ने सर्वसाधारण बढेका छन् । सुर्तीजन्य पदार्थमा करको दायराहरु बर्षैपिच्छे बढ्दो छ । यस अनुसार यसको प्रयोगकर्ताहरु घट्नुपर्ने हो तर, विडम्वना प्रयोगकर्ताको ग्राफ पनि बढ्दो छ ।

जनचेतनामूलक सामग्रीहरु पढेर, सुनेर, हेरेर सूर्तिजन्य पदार्थको सेवन नगरुन् भन्ने सरकारको मूख्य ध्येय हो । तर ब्यवहारमा ठीक उल्टो भईरहेको छ ।

बरु यी सामग्रीहरु सुन्दैनन्, पढ्दैनन्, हेर्दैनन् तर सुर्तीजन्य पदार्थ खान छोड्दैनन् । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगको तथ्यांकले यहि नै भन्छ ।

निकोटिन प्रजातिको वनस्पतिबाट सूतिजन्य पदार्थहरु बनाइन्छ । सुर्तीको सेवन विभिन्न किसिमले हुने गरेको छ । पान, पान मसाला, सुपारी र चुनको मिश्रण, मैनपुरी सुर्ती, मावा, खैनी इत्यादि धुवाँरहित सुर्ती हुन् । यस्तै सनस, मिश्री, गुल, बज्जर, गुढाकू, मधु, करेन्ट, जर्दा, मधुलगायतलाई चपाउने सुर्ती मानिन्छ भने सुर्तीयुक्त पानी, बिँडी, चुरोट, सिगार, कक्कड, हुक्का, तमाखुलगायतलाई क्रीमदार र धुँवा सुर्ती पाउडर मानिन्छ ।

नेपालमा सूर्तिजन्य पदार्थको इतिहास  

संसारमा करिव पाँच हजार वर्षभन्दा पहिलेदेखि नै सुर्तीजन्य पदार्थको प्रयोग हुने गरेको पाइएको छ भने सुर्तीको खेती मध्य मेक्सिकोबाट सुरु भएको पाइन्छ । चुरोट खाने चलन भने नवौँ शताब्दीतिर मेक्सिकोबाट सुरु भएको अभिलेख छ । सन् १४९२ मा क्रिस्टोफोर कोलम्बसले अमेरिकाका सर्वसाधारणलाई सुर्ती उपहार दिएको इतिहास छ । सत्रौँ शताब्दीमा एसिया र अफ्रिकामा सुर्तीको खेती शुरु भएको अनलाइन विश्वकोश ‘ब्रिटानिका’ मा उल्लेख छ ।

नेपालमा करिव साढे तीन सय वर्षअघिदेखि सुर्तीजन्य पदार्थको प्रयोग भएको हुन सक्ने बताउँछन्, इतिहासविद् दिनेशराज पन्त । मल्लकालिन राजाहरुको तस्वीर र जीवनशैली सम्बन्धी विविध प्रसँगहरुको हुक्काको विषय उल्लेख रहेको उनले बताए । नेपालमा यस्तो विषयमा खोज अनुसन्धान निकै कम हुने गरेको भन्दै पन्तले भने, “हामी कहाँ यस्तो विषयमा अनुसन्धान कमै हुन्छ, त्यसैले ठ्याक्कै यति वर्ष पूरानो भन्न सकिने अवस्था छैन तर मल्लकालिन समयमा नेपालमा यसको प्रयोग भएको देखिन्छ ।”

नेपाल सर्वप्रथम हुक्कारुपमा सुर्तीजन्य पदार्थको प्रयोग हुन थालेको इतिहासविद् पन्तको भनाइ छ । त्यसवखत दरवारीया, कुलिन घराना र लाहुरेहरुले मात्रै तमाखु खान्थे । विस्तारै गुडगुडे हुक्का, डल्ले हुक्का लगायतका हुक्काहरु नेपाली परम्परा जस्तै बन्न पुग्यो ।
जंगबहादुरको युरोप भ्रमण र प्रथम विश्वयुद्धपछि नेपालमा चुरोट, खैनी, जर्दा, बिँडीलगायत भित्रिएको संस्कृतविद्हरु बताउँछन् । द्वितीय विश्वयुद्धसम्म आइपुग्दा सुर्तीजन्य पदार्थको सेवन संस्कृतिकै रुपमा गाउँघरमा पुगेको पाइन्छ ।

नेपालमा सुरुवातमा बहादुर, फूलमार, आशामार, लाल्टिनमार, गोरखा लगायतका चुरोटहरु सेवन हुने गरेको विभिन्न साहित्यिक तथा ऐतिहासिक लेखहरुमा उल्लेख छ । जनकपुर चुरोट कारखानाले नेपालमा पहिलो पटक २०२१ मा चुरोट उत्पादन गरेको हो । यसको उद्घघाटन २०२१ पुस २९ मा राजा महेन्द्रबाट भएको थियो । यस कारखानाको अधिकृत पूँजी ८ करोड रुपैंया, जारी तथा चुक्ता पूँजी ४ करोड ८ लाख ३७ हजार रुपैंया थियो । सुरुमा वार्षिक २ अर्ब खिल्ली चुरोट उत्पादन गरेको यस कारखानामा ३ सय ६६ जनाले रोजगारी पाएका थिए ।

उक्त कारखानाले सुरुमा गरुड, चुचुरा, ज्वाला, जानकी, मुनाल, कस्तूरी, ‘हिमचुली’ लगायतका चुरोट उत्पादन गरेको थियो । त्यसपछि ‘सयपत्री’, ‘लालीगुँरास’, ‘याक’, कोसेली, गैँडा, देउराली, आशा लगायत ब्रान्डका चुरोट उत्पादन गर्न थाल्यो । २०६७ देखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना सरकारले २०७० मा बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि शिखर, खुकुरी, गोल्डप्लेक लगायतका चुरोटहरु पनि उत्तिकै चलेको थियो । अहिले नेपालमा विभिन्न फ्लेवरमा चुरोटहरु उत्पादन हुन थालेका छन् ।

२०४३ मा स्थापना भएको सूर्य नेपालले अहिले बजार तताइरहेको छ । सूर्यका साथै अहिले क्याप्टेन,साहसी आदि चुरोटहरु बढी चलेका छन् । सुर्तीजन्य पदार्थहरुमा करेन्ट, गुट्खा, भोला, रजनीगन्धा, शुद्धप्लस, मेघाश्री लगायतका उत्पादनहरु पनि बजारमा बिक्री वितरण भईरहेको छ ।

सुर्ती सेवनको न्यूनिकरण भन्दा पनि विकास भइरहेको छ । अहिलेको पुस्ता रेष्टुरेन्टमा पाइने सुगन्धित हुक्कामा रमाउन थालेका छन् भने इ–सिगरेटप्रतिको क्रेजपनि बढ्दो छ ।

सुर्तीको सामाजिक, सांस्कृतिक र साहित्यिक नशा

नेपाली समाजको सांस्कृतिक, साहित्यिक र ब्यवहारिकता समेत सुर्तीजन्य पदार्थमा चुर्लुम्म डुबेको छ । नेपालमा सुर्तीजन्य पदार्थमध्ये सबैभन्दा बढी लोकप्रिय बन्न थालेको छ, चुरोट । नेपालको कतिपय समुदायमा त पाहुनाको स्वागत सत्कार, मान, प्रतिष्ठाका लागि पनि चुरोट अनिवार्य मानिन्छ । केही समुदायमा विवाहमा उपहार साटासाट गर्ने क्रममा मसलासँगै चुरोट पनि अनिवार्य मानिन्छ । भोजभतेर, व्रतबन्ध, जात्रापर्व जस्ता सांस्कृतिक परम्पराहरुमा समेत चुरोट आदानप्रदान गरेर शिष्टाचार ब्यक्त गर्ने चलन छ ।

त्यसो त समाजशास्त्री डा. मृगेन्द्र कार्की धुम्रपानले नेपाली समाजमा प्रतिष्ठाकै रुप लिएको बताउँछन् । विगतमा रोधी, मेलापात, हाटबजार जाँदा ठूलाबडाहरुले अरुभन्दा भिन्न देखिनका लागि हुक्का, बिँडी खाने गरेको उनको भनाइ छ । “विगतमा ठूलाबडाहरुले अरुभन्दा भिन्न देखिनका लागि मेला उत्सवमा जाँदा, सम्मान ब्यक्त गर्दा यसको प्रयोग गर्थे पछि संस्कारकै रुपमा फैलियो,” डा. कार्की भन्छन् । जनचेतना भन्दा पनि यसको प्रयोग पहिलेदेखि हुँदै आएकाले यसको लत बसेको उनको भनाइ छ । “सुर्तीजन्य पदार्थको बेफाइदाबारे जनचेतना धेरैपछि आयो, तर त्यसअघि नै यसको सेवन ब्यापक भईसकेको थियो”,उनले भने ।

सुर्तीजन्य पदार्थको प्रभाव साहित्यिक क्षेत्रमा पनि उत्तिकै परेको देखिन्छ । ‘मलाई त धूम्रपान विरोधी लेख लेख्न पनि चुरोटै चाहिन्छ । एक-दुई सर्को चुरोटको धूवाँ निलेपछि मात्रै लेख फुर्छ ।’ नेपाली साहित्यमा यो भनाइ चर्चित नै छ ।

हृदयचन्द्रसिंह प्रधानको निबन्ध ‘सालिक’ मा बहादुर चुरोटको प्रसङ्ग उल्लेख छ भने जनकलाल शर्माको निबन्ध सङ्ग्रह ‘भूमिकै भूमिका’ मा फूलमार चुरोटको प्रसँग भेटिन्छ । यस्तै जनकवि केशरी धर्मराज थापाका कृतिहरुमा पनि आशामार र लाल्टिनीमार चुरोटको प्रसङ्ग उल्लेख छ भने केशवराज पिँडालीले निबन्धमा गोरखा चुरोटको नाम उल्लेख छ । पिँंडाली र भैरव अर्यालले पनि आफ्ना सिर्जनाहरुमा प्रशस्त मात्रामा चुरोटको बयान गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि चुरोटका पारखी थिए ।

पछिल्लो समय प्रकाशित साहित्यिक कृतिहरुमा झन धुम्रपानको चर्चा बाक्लैरुपमा हुने गरेको छ । कृतिमा मात्रै होइन साहित्यिक जमघटमा समेत धुम्रपान र मद्यपानको राम्रै चर्चा, परिचर्चा र उपभोग हुने गरेको छ । पछिल्लो समय चलचित्र र सिरियलहरुमा धुम्रपानको दृश्य अनिवार्य जस्तै हुन थालेको छ ।

चुरोट छोड्न गाह्रो भएको प्रसङ्गलाई ब्यंग्य गर्दै अमेरिकी लेखक तथा व्यंग्यकार मार्क ट्वीनले भनेका छन्, ‘संसारमा चुरोट छोड्नु जत्तिको सजिलो काम कुनै छैन । मैले हजारौँपटक चुरोट छाडेको छु ।’

सुर्ती अम्मलको आँकडा 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुन्छ । यसैगरी, विश्वमा ४० करोडभन्दा बढीले १३ देखि १७ वर्षको उमेरमा सुर्तीजन्य पदार्थ सेवन सुरु गरेका हुन्छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थ सेवनले हरेक वर्ष २७ हजार एक सय नेपालीको मृत्यु हुन्छ । यो भनेको प्रतिघन्टा तीनजना मानिसले ज्यान गुमाइरहेका छन् । यो नेपालको कुल मृत्युको १४.९ प्रतिशत हो । अप्रत्यक्ष धुम्रपानबाट मात्रै वार्षिक झण्डै ४ हजार जनाले ज्यान गुमाउँछन् ।

नेपालमा सुर्ती सेवनको डरलाग्दो तथ्यांक, प्रतिवर्ष २७ हजार बढीको मृत्यु | Rautahat Today

नेपालको कुल पुरुष जनसंख्यामा ६१ प्रतिशतभन्दा बढीले र महिला जनसंख्यामा झण्डै २२ प्रतिशतले धुम्रपान गर्छन् । हरेक ३ मा १ नेपाली अम्मली भएको आंकडा छ । नेपालमा पहिलोपटक धुम्रपान सुरू गर्दाको औसत उमेर १७.८ रहेको छ । दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करिब ६.५ वटा चुरोट खाने गरेका छन् ।

नेपालमा वार्षिक २ अर्ब रुपैंया भन्दा बढीको सुर्तीजन्य पदार्थको आयात हुने गरेको छ । नेपालीहरूले वार्षिक ४७ अर्ब भन्दा बढी रुपैयाँ सुर्तीजन्य पदार्थमा खर्च गर्ने गरेको पाइएको छ ।
चिनियाँ बजारमा हुने कारोबारबाहेक पनि विश्वमा प्रतिवर्ष ७६० अर्ब अमेरिकी डलर बराबरको सुर्तीजन्य पदार्थको कारोबार हुन्छ । तीमध्ये ६ सय ८० अर्ब अमेरिकी डलर बराबरको चुरोटको कारोबार हुन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१२/०१३ मा गरेको सर्वेक्षणमा नेपालमा सुर्तीजन्य पदार्थको सेवन दर ३०.८ प्रतिशत रहेको थियो । तर नेपाल विकास अनुसन्धान प्रतिष्ठानले २०१९/२० मा गरेको सर्वेक्षणमा यसको प्रयोग दर ३१.७ प्रतिशत पुगेको पाइएको छ ।

स्वास्थ्यका लागि मन्दविष

सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि मन्दविष मानिन्छ । सुर्तीजन्य पदार्थमध्ये सर्वाधिक प्रयोग हुने चुरोटमा निकोटिन, वेरन्जन, आर्सनिक, अलकत्रा, फर्माल्डिहाइट, एसिटोन, कार्बनमनो–अक्साइड, क्याड्मियम, नाइट्रोजन, एमोनिया, क्रोमियम, कपुर, हाइड्रोजन साइनाइट र सिसा यी तत्वहरू पाइन्छन् ।

कोभिड-१९ को महामारीका बेला त झन् धुम्रपान निकै घातक हुने बताउँछन् स्वासप्रश्वास रोग विशेषज्ञ डा. रवि महत । कोरोना भाइरसले स्वासप्रस्वासका अंगहरुमा संक्रमण हुने भएकाले धुम्रपान गर्ने ब्यक्तिलाई बढी जोखिम हुने डा.महतको भनाइ छ ।

त्यसो त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि कोभिडको समयमा सुर्तीजन्य पदार्थको सेवन न्युनीकरणका लागि विश्वभरि ‘कमिट टु क्विट’ अभियान सुरु गरेको छ ।

छाती क्यान्सर हुनुको कारण मध्ये ९० प्रतिशत धुम्रपानले हुने गर्छ । धुम्रपानका अम्मलीलाई धुम्रपान नगर्ने व्यक्तिलाई भन्दा २२ गुणा बढी फोक्सोको क्यान्सरको सम्भावना हुन्छ । यस्तै गर्भपात, बाँझोपन, शिशुको शारीरिक र मानसिक विकास अवरुद्ध हुन सक्ने, सौन्दर्य घट्ने, शरिरका विभिन्न अंगको क्यान्सर, मुटुरोग, कमजोर शुक्रकीट, प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउने जस्ता समस्याहरु यसले ल्याएको देखिन्छ ।

यसका साथै मोतिविन्दु, श्रवणशक्ति घट्नु, पक्षघात, दम, हाड कमजोर, पेटको अल्सर, स्नायु, नसा तथा धमनी सुन्निने जस्ता शारिरीक समस्याहरु देखा पर्ने सम्भावना उच्च हुने चिकित्सकहरु बताउँछन् ।

सुर्ती अम्मली छाड्न किन सकस ?

सुर्तीजन्य पदार्थको सेवन न्यूनिकरणका लागि सरकारले वर्षेनी कर बढाउँदै लगेको छ । सरकारले २०४९ देखि नै सार्वजनिक स्थानमा धुम्रपान निषेध गरिसकेको छ । सुर्तीजन्य पदार्थ (नियमन र नियन्त्रण) ऐन २०६८ पनि कार्यान्वयनमा छ । तर पनि यसको सेवन घट्न सकेको छैन । किनकी यो एकखालको अम्मल नै हो ।

नेपालमा विशेषगरी साथीहरुको लहलहै, सांस्कृतिक प्रचलन, सर्वत्र उपलब्ध, कानूनको फितलो कार्यान्वयन लगायतका कारण यसको सेवन बढीरहेको पाइएको छ। यसका साथै साथीहरुको रमाइलो, जिज्ञासा, इन्जायटी, डिप्रेशन र मानसिक रोगले गाँजेकाहरु चुरोटको नशामा झुम्ने गरेको बताउँछिन्, मानसिक अस्पताल पाटनमा कार्यरत मनोचिकित्सक डा बिनिता ढुंगेल । सुर्तीजन्य पदार्थले मस्तिष्कमा हुने रसायनहरुलाई प्रभावित पारेर रमाइलो महशुस गराइने उनको भनाइ छ । “चुरोटले दिमागमा हुने रसायनलाई प्रभाव पारेर रमाइलो अनुभूति गराइदिन्छ तर यस्तो खालको खुशी र रमाइलोपन क्षणिक मात्रै हो,” उनले भने ।

यसको सेवनले केही क्षण मात्रै रमाइलो अनुभुति गराउने र विस्तारै नरमाइलो हुने उनको भनाइ छ । सुर्तीजन्य पदार्थको सेवनपछि मस्तिष्कले त्यसको सेवनको चाहना राख्ने डा ढुंगेलको भनाइ छ । खाए रमाइलो अनुभूति हुने, क्षणभरमै त्यो रमाइलो घमाइलोमा परिणत हुने र मस्तिष्कले फेरि चाहना राख्ने यो प्रक्रियाले नै सुर्तीजन्य पदार्थको लत लाग्ने उनको भनाइ छ । यसको लत छाड्न स्वयंले अडान लिनुपर्ने उनको भनाइ छ । “म धुम्रपान छोड्छु भनेर ब्यक्ति स्वयंले भित्रैदेखि आँट्नुपर्छ अनि सजिलै छोड्न सकिन्छ,” डा. ढुंंगेल भन्छिन् । यसका अलावा चिकित्सकको मनोपरामर्श र औषधिको सेवनबाट पनि यसको लत हटाउन सकिने उनको सुझाव छ । सुर्तीजन्य पदार्थको लत छोड्न चाहनेले चटक्कै छोड्नु पर्ने उनी बताउँछिन् । “थोरै थोरै खाएर विस्तारै छोड्छु भनेर सम्भव हुन्न, नखाने भनेपछि सुर्तीजन्य पदार्थ केही पनि खानु भएन,” उनले भनिन् ।

कुनैपनि ब्यक्ति किन नशामा डुब्यो भनेर कारण पत्ता लगाएर त्यो समस्याको समाधान गर्न सके सहजै लतबाट मुक्त गराउन सकिने उनको भनाइ छ । यसका साथै सुर्तीजन्य पदार्थको बेफाइदाबारे ब्यक्ति स्वयंलाई लेख्न र भन्न लगाउँदा पनि यसबाट मुक्त गराउन सकिने उनी बताउँछिन् । यस्तो नशाबाट मुक्त हुन चाहनेलाई घरपरिवारले प्रोत्साहन गर्नुका साथै ब्यस्त र खुशी राख्नुपर्ने डा. ढुंगेलको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?