एमालेमा ओली रणनीति : अप्ठ्यारोमा एकताको कुरा, सहज हुँदा कारबाही

नेपाल पक्षका नेता तान्ने ओलीको रणनीति

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिमसम्म एकता प्रयास गर्ने भन्दै माधव नेपाल र झलनाथ खनाल पक्षका नेता कार्यकर्ता आफूतिर तान्ने प्रयास गरेको आरोप लागेको छ ।

ओलीले खासगरी नेपाल–खनाल पक्षमा रहेका केही नेतालाई आफ्नो पक्षमा ल्याउन सके नेपाल–खनाल समूह कमजोर हुने र आफू बलियो हुने आँकलन गरेका छन् । त्यसमा पनि नेपाल पक्षका निवर्तमान सांसदहरुमा ओलीको आँखा छ । किनकि भोली केही गरी संसद पुनःस्थापना भयो भने प्रधानमन्त्रीमा आफ्नो निरन्तरता चाहेका छन् ओलीले ।

चुनाव भएको खण्डमा पनि आफ्नो पक्षमा वकालत गर्न सक्ने क्षमता भएका नेताहरु जम्मा गर्ने पक्षमा छन ओली । त्यसकारण प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई रोक्ने रणनीति छ ओलीको । ओलीले नेपाल–खनाल पक्षमा रहेका नेताहरुलाई हेरेर कारवाही गर्ने गरेका छन् । ओलीले अप्ठयारोमा पर्दा एकताको कुरा उठाउने र सहज हुँदा कारवाही गर्ने रणनीति अपनाएका नेपाल–खनाल पक्षका नेताहरुको गुनासो छ । नेपाल–खनाल पक्षमा रहेका नेता प्रेमल खनालले लोकपथसँग भने,“ओलीले नेपाल पक्षमा विभाजन ल्याउन विभिन्न अफवाह फैलाएका छन् । २०७५ जेठ २ को अवस्थामा फर्कने सहमति नभएसम्म ओलीको पक्षमा कोही जाँदैन ।”

प्रेमल खनाल, नेता एमाले

नेपाल–खनाल पक्षमा रहेका दोस्रो पुस्ताका नेताहरुलाई फुटाएर आफ्नो पक्षमा तान्नका लागि रणनीति बनाउन बिहीवार बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित काल सम्मका लागि स्थगित भएको छ ।

बिहीवारको बैठकमा नेपाल–खनाल समूहमा रहेका अन्य १२ नेताहरुलाई कारवाही गर्ने तयारी गरिएको थियो । तर त्यसले नेपाल पक्षमा रहेका नेताहरु थप बिच्किने आँकलन गरेर बैठक स्थगित गरिएको एक नेताले बताए । “उताका (नेपाल–खनाल) नेताहरुसँग हामी निरन्तर छलफलमा छौ,” ती नेताले भने ।

खासगरी नेपाल–खनाल समूहमा रहेका नेताहरु सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट,योगेश भट्टराई,घनश्याम भुसाल लगायतलाई आफ्नो पक्षमा पार्न सके खनाल–नेपाल समूह केही कमजोर बन्ने ओली पक्षको बुझाई छ । त्यसकारण ओली पक्षका नेताहरुले नेपाल–खनाल पक्षमा केही नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । नेपाल–खनाल पक्षले आफ्ना मान्छे ओलीतिर गए भनेर ओलीका मान्छेले हल्ला मात्रै फैलाएको बताएको छ । “तर पार्टी एकता रहिरहनु पर्छ भन्ने हाम्रो अडान हो । ओलीले आफू बलियो बन्न सुनियोजित प्रचार गरेका छन्,” माधव पक्षका नेता प्रेमल खनालको भनाई छ ।

ओलीले अन्तिमसम्म पार्टी एकताका लागि प्रयास गर्ने बताएर नेता कार्यकर्तामा भ्रम छर्न खोजेका एमालेका अर्का एक नेताको भनाई छ । उनका अनुसार ओली कुनै पनि हालतमा वरिष्ठ नेता नेपाल,खनाल र भीम रावल लगायत केही नेता पार्टीबाट बाहिरिउन भन्ने पक्षमा छन् । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । यदि प्रतिनिधि सभा ब्यूँतिएमा देउवा कुनै पनि हालतमा प्रधानमन्त्री नबनुन भनेर ओलीले नेपाल–खनाल पक्षका नेतालाई फकाइरहेका हुन् ।

नेपाल–खनाल समूहमा रहेका केही नेतालाई मन्त्री बनाउने आश्वासन पनि दिइएको ओली निकट एक नेताको दाबी छ ।देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेपाल–खनाल समूहमा रहेका २३ जनाले हस्ताक्षर गरेका छन् । ती मध्ये आफू अनुकुल रणनीति तयार पार्न देउवालाई समर्थन गर्ने केही नेताहरुको हस्ताक्षर फिर्ता गराउन ओली लागिपरेका छन् ।

उता ओली पक्षका नेता एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ एमालेमा लामो समयसम्म पहिचान बनाएका र हिजो पार्टीका लागि योगदान गरेका कुनै पनि नेता पार्टी छोडेर बाहिर नजाउन भन्ने चाहना प्रधानमन्त्री ओलीको रहेको बताउँछन्।

शेरबहादुर तामाङ, नेता, एमाले

“पार्टीलाइ एक बनाउन हामी गम्भीर रुपले लागि रहेका छौं । उहाँहरुले जति अप्ठ्यारो पार्ने हो पारिसक्नु भयो । आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सट्टा अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुभयो । यो भन्दा कस्तो अप्ठ्यारो हुन्छ ?,” तामाङले भने,“तर पनि एकताबद्ध एमाले हुनुपर्छ भन्नेमा वार्ता र छलफल भइरहेको छ ।”

नेपाल–खनाल पक्षले गत फागुन २३ यता (सर्वोच्चले एमाले र माओवादी ब्यूँताएपछि) ओलीले गरेका सबै निर्णय फिर्ता लिनुपर्ने र पार्टीलाई एमाले र माओवादी एकता हुनुपूर्व २०७५ जेठ २ कै अवस्थामा फर्काउनु पर्ने अडान कायमै राखेको छ । नेपाल–खनाल समूहको बिहिबारको भर्चुअल संवादमा केन्द्रीय सदस्यहरुले ओलीसँग सँगै हिड्ने सम्भावना कम रहेको भन्दै नेपाल–खनाललाई आगामी कदमबारे छिट्टै निर्णय लिन सुझाव दिएको बताइएको छ ।

ओलीले जेठ २ मा फर्कन देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेको बताइएको छ । तर ओलीप्रति तत्काल विश्वस्त हुन सकिने अवस्था नरहेको नेपाल–खनाल पक्ष नेताको बुझाइ छ । ओलीले नेपाल–खनाल सहित ११ जना नेतालाई पार्टीबाट निष्कासित गरिसकेका छन् । ओलीले कम्युनिष्ट एकता र नेकपा एमालेलाई तहस नहस पारेका नेपाल–खनाल पक्षको आरोप छ ।

लेखकबाट थप

व्यवस्था फेरियो, अवस्था फेरिएन

त्यो कालो शुक्रवार : बिलियार्ड हलमा राजा वीरेन्द्रको वंशनाश

जसपाभित्रको दुई धार : पहिले छाँया अहिले घाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?