प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ, पूरानै मन्त्रिमण्डललाई निरन्तरता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

शुक्रवार (आज) राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

यससँगै प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदबाट पुनः विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

सोमवार संसदबाट विश्वासको मत प्राप्त सकेनन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि दिइएको समयमा अन्य दलहरुले सरकार गठन गर्न नसकेपछि ओली नै पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

बिहीवार राति ९ बजे बहुमतको सरकार गठन गर्ने समय सकिएपछि राष्ट्रपतिले ओलीलाई हिजो रातीनै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(३) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले पूरानै क्याबिनेटलाई निरन्तरता दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा उपप्रधानमन्त्री ईश्वरपोखरेलसहित सबै मन्त्रीहरुले पुनः पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?