राजनीतिमा रडाको

रामेश्वर सापकोटा/काठमाडौं । अनेक उतारचढावका बीच आज मध्यरातबाट वर्ष २०७७ बिदा भएर नयाँ वर्ष २०७८ प्रारम्भ हुँदैछ।

वर्ष ०७७ मा नेपाली राजनीति हलचलयुक्त रहयो । सत्तारुढ दल नेकपाभित्रको विवाद,प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिनिधिसभा विघटन,सर्वाेच्च अदालतद्वारा प्रतिनिधिसभा पुनः स्थापना, र नेकपा नाम ऋषि कट्टेललाई दिएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा व्यूँताउनेजस्ता घटना चर्चित रहे । यो वर्ष राजनीतिक क्षेत्रमा घटेका विभिन्न ११ मुख्य राजनीतिक घटना जसले नेपाली राजनीतिलाई तरङ्गीत बनायो । जस्तै,

–राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको सिफारिसमा ८ वैशाखमा संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भयो । राजनीतिक दलद्वारा त्यसको बिरोधपछि सरकार केहि दिनपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भयो ।

–२८ कात्तिकमा तत्कालीन नेकपाका (हाल माओवादी केन्द्र) कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै पार्टी सचिवालय बैठकमा १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरे । ओली पक्षका नेताहरुले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि दाहालले फिर्ता लिन मानेनन् । १३ मंसिरमा ओलीले जवाफी प्रत्युत्तर दिए । त्यसपछि नेकपाको विवाद उत्कर्षमा पुग्यो।

–३० मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनः सवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भयो । अध्यादेश जारीसँगै   सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षीदल कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थिति बिनै अख्तियार लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति भयो।

–५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर वैशाख ०७८ मा मध्यावधि निर्वाचनको घोषणा गरिन् ।

ओलीको उक्त कदमको प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायत नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षबाट पनि विरोध भयो ।

सोही दिन ओली सरकारमा सहभागि ७ जना मन्त्रीहरुले आ–आफ्नो पदबाट सामूहिक राजीनामा दिए ।

विघटन असंवैधानिक भएको भन्दै विभिन्न अधिवक्ताद्वारा सर्वाेच्च अदालतमा रिट दायर गरियो ।

८ पुसमा प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्षीदल लगायत दलद्वारा आन्दोलनको घोषणा गरे।

–११ फागुनमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै २३ फागुनमा प्रतिनिधिसभा बैठक बस्नेगरी फैसला गरयो । यो घटना नेपाली संसदीय ईतिहासमा महत्वपूर्ण घटनाका रुपमा रहन पुग्यो।

–१९ फागुनमा सरकार र नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता भयो । २१ फागुनमा दुवैपक्षबीच ३ बुँदे सहमति भयो।

–२३ फागुनमा नेकपा नामको विषयमा सर्वाेच्चद्वारा ऋषि कट्टेललाई मान्यता दिंदै एमाले र माओवादी व्यूँताउने फैसला भयो । सर्वाेच्चको यो फैसलाले एमाले र माओवादी आ–आफ्ना बाटो लाग्न बाध्य भए । फैसलाले संसदमा कुनै पनि दलको एकल बहुमत रहेन । यसले नेपाली राजनीतिलाई नयाँ मोडमा ल्यायो ।

–१६ चैतमा नेकपा एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेताहरु माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरे । ओलीले यसको ३ दिनपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गरे । आफ्ना बिरोधीलाई तह लगाउन पार्टीका शीर्ष नेताहरुलाई ओलीले गरेको यो कारवाहीले एमालेभित्रको विवाद छताछुल्ल भयो।

–१९ चैतमा नेकपा नामबारे पुनरावलोकनको माग राखी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको निवेदनमा सर्वाेच्च अदालतले पुनरावलोकन नहुने फैसला गर्यो । यो फैसलासँगै नेपाली राजनीति पुर्ववत स्थितीमा फर्किने सम्भावना पनि समाप्त भयो ।

–२६ चैतमा नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका र मन्त्री रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले सांसद पदबाट हटाएको घटना पनि नेपाली संसदीय इतिहासमा महत्वपूर्ण घटनाका रुपमा रह्यो । चारैजनाले सांसद र मन्त्री पद गुमाएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टा बित्न नपाउँदै २७ चैतमा उनीहरुलाई पुनः मन्त्रिमा नियुक्ति गरे र सोही दिन चारै जनाले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथग्रहण गरे।

–३० चैतमा प्रदेश–२ का एमालेतिर लागेका ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रद्वारा बर्खास्त गरियो । बर्खास्त भएकाहरुमा रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिर रहेका छन् ।

यसरी वर्ष ०७७ मा नेपाली राजनीतिमा विभिन्न आरोह अवरोहका घटना भए । जुन कतिपय घटना इतिहासमा समेत रहनेछन् । किनकी यो वर्ष नेपाली राजनीतिमा जे जे घटनाहरु घटे, त्यसले नेपाली राजनीतिलाई नयाँ मोडमा लग्यो । अब नयाँ वर्षमा नेपाली राजनीति कसरी अघि बढ्छ ? कौतुहल यही छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?