हामी सधैँ सम्झिरहने छौं, जो हाम्रो माझ रहेनन्

रामजी बलामी/काठमाडौं- वर्ष २०७७ को बिदाईसँगै हामी नयाँ वर्ष २०७७ मा प्रवेश गर्दैछौं । हामीले यो वर्ष केही त्यस्ता महत्वपूर्ण र प्रतिभाशाली व्यक्तिहरु गुमायौं जो अब कहिल्यै फर्किदैनन् । तर पनि उनीहरु हाम्रो स्मृर्तिमा रहिरहने छन् । ती ब्यक्ति थिए,

माधवप्रसाद घिमिरे

वर्ष ०७७ मा हामीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई गुमायौं । श्वासप्रस्वास रोगले पीडित राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा २ भदौमा काठमाडौंको कपुरधारास्थित निवासमै निधन भएको हो।

बहुमुखी प्रतिभाका धनी घिमिरेलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । घिमिरे थुप्रै कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, निबन्धहरु चर्चित छन् ।

७ असोज १९७६ मा लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरे ११ वर्षको उमेरमा घर छाडेर लमजुङकै संस्कृत पाठशाला हुँदै काठमाडौँको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालाबाट प्रथमा श्रेणीमा उत्तीर्ण भएका थिए । त्यसपछिको थप अध्ययनका क्रममा बनारस पुगेका घिमिरेले त्यहाँको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए । राष्ट्रकवि घिमिरेलाई ०६७ मा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो भने ०७५ मा महाउज्ज्वल पदकबाट विभुषित गरिएको थियो ।

आङरिता शेर्पा

यो वर्ष ज्यान गुमाएका अर्का ब्यक्ति हुन्, आङरिता शेर्पा । शेर्पाको गत असोजमा निधन भएको हो । उनले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँचितुवा’ का नामले चिनिने आङरिताले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए ।

शेर्पाले सर्वोच्च शिखर सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक पटक आरोहण गरेका थिए ।

सन् १९४८ मा जन्मिएका आङरिता १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिनाअक्सिजन पहिलो पटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

नवीन्द्रराज जोशी

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको १४ चैतमा निधन भयो । मस्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता जोशीको उपचारकै क्रममा निधन भएको थियो।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका जोशीले उद्योगमन्त्री हुँदा गरेका कामहरु निकै तारिफयोग्य बन्यो । उनले ०६७ देखि पूर्णरूपमा बन्द भएको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा ल्याए । औषधीको उत्पादन शुरु गराए । अहिले यो उद्योगबाट सिटामोल,एमजिट, आइरन चक्की, जीवनजल, नेमोक्सिल, डिस्टिल वाटर, कफहिष्ट, स्यानिटाइजर लगायतका औषधिहरु उत्पादन भइरहेको छ ।

जोशी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । उनी ०४९ मा काठमाडौं महानगरको उपमेयरमा निर्वाचित भएका थिए । उनलाई कांग्रेसभित्र इमान्दार छवि भएका नेताका रुपमा चिनिन्थ्यो ।

अंगुरबाबा जोशी

यो वर्ष शिक्षासेवी अंगुरबाबा जोशी पनि हामीबाट सदाका लागि बिदा भइन् । छात्राशिक्षाकी अभियन्ता जोशीको ८९ वर्षको उमेरमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । काठमाडौंको डिल्लीबजारमा विसं १९८९ मा जन्मेकी उनको ११ वर्षको उमेरमै १२ वर्षका बलराम जोशीसँग विवाह भएको थियो । नेपालको शिक्षा र सामाजिक क्षेत्रमा उनको ठूलो योगदान छ ।

१७ वर्षअघि घाँटीको क्यान्सरको शल्यक्रियाका क्रममा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तन क्यान्सर पनि भयो । ०१९ मा तत्कालीन राजा महेन्द्रले गठन गरेको चार सदस्यीय संविधान मस्यौदा समितिमा जोशी मात्र महिला सदस्य थिइन् ।

नेपालकी पहिलो महिला क्याम्पस प्रमुखसमेत रहेकी जोशीले बेलायतमा अध्ययन सकेर फर्किनासाथ पद्मकन्या क्याम्पस प्रमुखको जिम्मेवारी बहन गरेकी थिइन्।

उनको ‘कल्पना’,  ‘क्यान्सर ः वरदान’, ‘वृद्धा अवस्था ः जीवनको श्रीपेच’ र ‘दीक्षा’ नामका कृतिहरु प्रकाशित छन् । जोशीले ०७२ को जगदम्बाश्री पुरस्कार पाएकी थिइन् । उनले मुलुकमै पहिलोपटक छात्राहरूका लागि ‘गार्गी कन्या गुरुकुल’ स्थापना गरिन् जहाँ दलित महिलालाई पनि वेद पाठ गराइन्छ ।

विष्णुबहादुर मानन्धर

वर्ष २०७७ मा अस्ताएका अर्का व्यक्ति हुन्,पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धर । ९१ वर्षीय मानन्धरको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो ।

मानन्धर नेपालको वामपन्थी आन्दोलनका इमान्दार नेताका रुपमा परिचित थिए । जीवनभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धर नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर क्रियाशिल थिए । नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान छ । सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गरेका मानन्धरका छोरा सुनिल मानन्धर अहिले नेकपा (माओवादी केन्द्र) का नेता छन् ।

रत्नशम्शेर थापा

वर्ष ०७७ मा गीतकार रत्नशम्शेर थापाको पनि निधन भयो । नशा च्यापिएपछि अस्पतालमा भर्ना भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो ।

थापाद्वारा रचित ‘जाग लम्क चम्क हे’, ‘ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो’, ‘घुम्तीमा नआउ है‘, ‘उकारी ओरालो गर्दै’ ‘विछोडको पीडा नसकी खप्न’, ‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन’, ‘पन्छीमा राम्रो डाँफे,’ ‘गोरेटो त्यो गाउँको’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् ।

‘चक्लाभरिको घाम’, ‘ताराका काँचा रङ्ग’ (कविता संग्रह), ‘ओभानो सिउँदो’, ‘रुझेका परेला’ (गीत संग्रह) लगायतका उनका कृतिहरु चर्चित छन् । उनले देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान, साधना सम्मान, लाइफटाइम एचिभमेन्ट अवार्ड (हिट्स एफएम), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आदि प्राप्त गरेका थिए ।

स्वनाम साथी

वर्ष ०७७ मा अस्ताएका अर्का व्यक्ति हुन् स्वनाम साथी अर्थात् पूराना वामपन्थी नेता शशी शेरचन । निमोनियासँगै कोरोना संक्रमण भएका उनको काठामाडौंँस्थित मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वनामले ०२५ मा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको थिए । ०३३ मा उनकै नेतृत्वमा सर्वहारा कम्युनिस्ट लिग गठन भएको थियो । ०३८ मा स्वनामले सर्वहारा श्रमिक सङ्गठन नेपाल निर्माण गरी किसान आन्दोलन चलाएका थिए ।

स्वनाम ‘ध्यान योग आरोग्य साधना नेपाल’ तथा शिक्षा मन्त्रालयद्वारा गठित ‘ध्यान योग प्रोटोकल कार्यदल, २०२०’ को संयोजक समेत थिए ।

कृष्णप्रकाश श्रेष्ठ

वर्ष ०७७ मा हामीले साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई पनि गुमायौं । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको हो । उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।

विदेशमा बसेर नेपाली भाषा र साहित्यको विकासमा दिएको अतुलनीय योगदानवापत उनलाई ०५९ मा जगदम्बाश्री पुरस्कारले सम्मानित गरिएको थियो । रुसमा पनि उनले पुस्किन स्वर्णपदक प्राप्त गरेका थिए ।

कुबेरप्रसाद शर्मा

वर्ष २०७७ मा अस्ताएका अर्का व्यक्ति हुन्,नेपालको पहिलो चार्टड एकाउटेन्ट तथा पूर्व पर्यटनमन्त्री कुबेरप्रसाद शर्मा । उनको ८१ वर्षको उमेरमा हृदयघातबाट निधन भएको हो।

शर्मा सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट ०४८ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ००७ देखि प्रजातान्त्रिक आन्दोलनमा सहभागी उनले ०४६ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।भ्रष्टाचारको विरुद्धमा जेहाद छाड्ने शर्मा ०५३ पछि कांगे्रसबाट अलग भई हरियाली नेपाल पार्टीको संस्थापक सभापति बनेका थिए ।

बिकम र एफसिए गरेका शर्मा नेपालको पहिलो चार्टड एकाउण्टेन्ट र बिमा संस्थाको संस्थापक हुन् । समाजवादी अवधारणा राख्दै आएका शर्मालाई प्रष्ट विचार राख्ने, इमान्दार र योग्य व्यक्तिको रुपमा लिइन्छ।

निरञ्जन कोइराला

वर्ष ०७७ मा सधैंका लागि बिदा भएका अर्का व्यक्ति हुन् निरु दा अर्थात् निरञ्जन कोइराला । पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय कोइरालाको ७५ वर्षको उमेरमा भारतको नयाँ दिल्लीमा निधन भएको हो । केशव कोइराला र नोना कोइरालाका सुपुत्र कोइराला कांग्रेस नेता डा. शेखर कोइरालाका दाजु हुन् ।

शेरबहादुर देउवा, डा. रामशरण महत, ध्यानगोविन्द रन्जितलगायतका समकक्षी कोइरालाले ०४६ भन्दा अघि दलविहीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनमा अग्रस्थानमा उभिएर काम गरेका थिए । नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी समेत रहेका कोइराला गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदा ०४८ मा पर्यटन सल्लाहकार र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकार समेत रहेका थिए । उनी पछिल्लो समय भारतको दिल्ली र कलकत्तामा व्यवसाय गरिरहेका थिए ।

ध्रुव केसी

नेपाली आधुनिक गीतसंगीतका साधक ध्रुव केसीको पनि यसै वर्ष निधन भयो । करिव १० वर्षदेखि पार्किन्सन रोगसँग लडिरहेका केसीको भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा निधन भएको थियो ।

नेपाली संगीतमा निकै उत्कृष्ट गीतहरु दिएका केसीले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’,‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’, ‘सबैले भन्छन्’, ’नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी ?’, ‘बगी जाने खोला’ जस्ता चर्चित गीतमा स्वर दिएका छन्।

 

यो पनि 

जो विवादमा तानिए

जसले हामीलाई गुन लगाए

यी सेलिब्रिटी जसले यो वर्ष घरजम गरे (भिडियो रिपोर्ट सहित)

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?