बढ्दैछ वित्तीय पहुँच : यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । पछिल्लो समय वित्तीय पहुँचमा उल्लेख्य मात्रामा विस्तार भएको देखिन्छ ।

सरकारले वित्तीय पहुँच विस्तार गर्न ‘एक व्यक्ति एक बैंक खाता’ योजना शुरु गरेको थियो । सो बेलादेखि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम बैंक खाता खोल्न थाले । त्यतिमात्रै होइन, सरकारले ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्ने रणनीति लिएपछि वित्तीय पहुँच उल्लेख्य मात्रामा भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए । त्यस्तै, राष्ट्र बैंकले वित्तीय पहुँच विस्तारका लागि लिएको वित्तीय साक्षरताको नीतिका कारण पनि वित्तीय पहुँच उल्लेख्य रुपमा भएको राष्ट्र बैंकको भनाई छ ।

यस्तो छ वित्तीय पहुँचको पछिल्लो अवस्था

कुल ७५३ स्थानीय तहमध्ये २०७७ पुससम्म ७ सय ४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । ०७६ पुससम्म ७ सय ४५ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । राष्ट्र बैंकका अनुसार प्रदेश १ मा १३६,प्रदेश २ मा १ सय ३६,बाग्मती प्रदेशमा ११८ ,गण्डकी प्रदेशमा ८५,लुम्बिनी १०९, कर्णाली प्रदेशमा ७८ र पश्चिममा ८७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । यस अवधीसम्म बैंक तथा वित्तीय संस्थाहरुको संख्या १४४ रहेको राष्ट्र बैंकले जनाएको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

त्यस्तै, पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या १० हजार १ सय ८७ पुगेको छ । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या ९ हजार ७ सय ६५ थियो । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकका ४ हजार ६ सय १३,विकास बैंकका १ हजार ४८,वित्त कम्पनीका २ सय ५४,लघुवित्त वित्तीय संस्थाका ४ हजार २ सय ७२ वटा शाखा सञ्जाल रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अकोतर्फ वित्तीय प्रविधिको प्रयोग समेत तीब्र रुपमा बढ्दै गएको ले वित्तीय पहुँच विस्तार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समयमा नेपालमा बैंकिङ्ग सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६० प्रतिशत भन्दा बढी नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान गर्न सहजै सकिन्छ ।

नेपालमा बैकिङ्ग प्रणाली खण्डीकृत अवस्थामा रहेको र ठूलो संख्यामा स्थापना भएका स–साना बैंकहरूको पुँजीको आधार सानो भएको कारण तिनीहरूले लागत कम गरी बढी मुनाफा आर्जन गन सकेको देखिँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?