ताप्लेजुङको धुपी तेल उद्योग बन्द

RSS
0
Shares

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ घुन्सामा अवस्थित धुपी तेल उद्योग १० वर्षदेखि बन्द छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा बन्द भएको बताइएको छ ।

हिमाली क्षेत्रमा पाइन धुपीलाई प्रशोधन गरेर तेल उत्पादने लक्ष्य लिइएको थियो । उद्योग बन्द भएको १० वर्ष भएको उद्योग सञ्चालक पेमा शेर्पाले जानकारी दिए ।

उनले उद्योग स्थापना भएको करीब तीन वर्ष सञ्चालनपछि बन्द गर्ने अवस्था आएको बताए । स्थापन भएदेखि २३० लिटर मात्र तेल उत्पादन भएर बन्द भएको हो । स्थानीयवासीको आयआर्जन गर्ने उद्देश्यले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिद्षले २०६४ सालमा उद्योग स्थापनाको लागि आश्यक सामग्री औजार समूहलाई हस्तान्तरण गरेको थियो ।

उद्योग दर्ता प्रक्रियाको लागि घरेलु तथा साना उद्योग कार्यालयमा आश्यक कागजातसमेत बुझाएको सञ्चालक शेर्पाले बताए ।

फुङलिङबाट उद्योग भएको स्थान घुन्सा पुगेर फर्किन कम्तीमा ७ दिन पैदल हिँड्नुपर्छ । कार्यालयले प्राविधिकलाई अवलोकन गर्न जाँदा लाग्ने सबै खर्च उद्योग सञ्चलकले गर्नुपर्ने भनेपछि आफूसँग प्राविधिकलाई दिने पैसा नभएको उद्योग सञ्चालक शेर्पा बताउछन् ।

उनका अनुसार विपन्न तथा आर्थिक अवस्थाले कमजोर १३ व्यक्तिले धुपी सङ्कलन गर्न अनुमति पाएका थिए । सङ्कलित धुपी प्रति किलो सात रुपैयाँमा उद्योगले खरीद गर्दै आएको थियो । धुपी सङ्कलन गरेबापत प्रति किलो एक रुपैयाँ सामुदायिक वनको कोषमा जम्मा गर्नुपर्ने प्राबधान रहेको थियो ।

उद्योगमा उत्पादन भएको धुपी तेल बिक्री तथा बजारको लागि काठमाडौंसम्म धुपी तेल लानुपर्ने शेर्पाले बताए । काठमाडौंमा एक लिटर तेलको तीन हजार ५०० मा बिक्री हुने शेर्पाले बताए । धुपी तेल विभिन्न सुगन्धका लागि सेन्ड, मालिस तेल, मगमगाउने धुपी, विभिन्न अगर बत्तीमा प्रयोग हुने गर्दछ । धुपीको तेल विभिन्न देशबाट पनि माग आउने गरेको शेर्पाले बताए ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम संयोजक जीतेन चेम्जोङले उद्योगलाई आवश्यक सामग्री उपलब्ध गराएको जानकारी दिए ।

उद्योग सञ्चालन गर्न आवश्यक उपकरण निःशुल्क उपलब्ध गराएर पनि दर्ता गरेर सञ्चालन गर्न नसक्नु सञ्चालकको कमजोरी भएको उनले बताए । घरेलु कार्यालयका सूचाना अधिकारी निजा भट्टराईले केही वर्ष अगाडि उद्योगको अवलोकन गर्न जाँदा उद्योग सञ्चालकले खर्च गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, “तर अहिले उद्योग अवलोकन र प्राविधिक प्राविधिक खर्च उद्योग कार्यालयले गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?