भाषण कलाको रोचक इतिहास: राम्रो बोल्नेहरुका लागि यी व्यवसाय उपयुक्त

भाषणको इतिहास

अगस्ट २८, सन् १९६३ का दिन मार्टिन लुथर किंग जुनियरले ‘आइ ह्याभ अ ड्रिम’ अर्थात् मेरो एउटा सपना छ भन्दै हजारौँ जनताका माझ भाषण गरे । नागरिक अधिकार अभियान्ता लुथर किंगले अमरिकाको जातीय विभेद विरुद्ध दिएको त्यो भाषण अहिले पनि स्मरण गरिन्छ । चोटिला शब्द, बुलंद आवाज, ओजिलो तर्क, स्वच्छ भाव र आकर्षक शैली समेटिएको त्यस भाषणलाई इतिहासकै सुन्दर र शक्तिशाली भाषणको संज्ञा दिइन्छ ।

हुन पनि भाषणकै धरातलमा टेकेर ठूल्ठूला तानाशाहीहरु भूइँमा बजारिएका छन् भने भूइँ मान्छेहरु शासनको सिंहासनसम्म पुगेका छन् । यस्तो गर्विलो इतिहास बोकेको भाषणको आफ्नै इतिहास के होला ? भाषणको अवधारणा कहाँबाट आयो? यसलाई निरन्तरता दिने काम कसले गरे ? राजनीति, सामाजिक अभियान हुँदै अहिले भाषण आफँैमा एउटा छुट्टै विधा कसरी बनेको छ ? यस्ता जिज्ञासाहरु स्वभाविक हुन् ।
‘भाषण’ बुझ्न चाहने व्यक्तिले एकपटक प्राचीन ग्रीससम्म पुग्नैपर्ने हुन्छ ।

प्राचीन ग्रीसको एक झलक…

संस्कृति, सभ्यता, दर्शन, विज्ञान आदिको उद्गमस्थल मानिने प्राचीन ग्रीसबाट नै पहिलो पटक भाषणको शुरुवात भएको थियो । करिब २५०० वर्ष अघि ग्रीस तथा रोममा जनतालाई सामाजिक समारोहमा सहभागी गराउनका लागि भाषणको औपचारिक शिक्षा शुरु भएको थियो ।

प्राय संसदमा अथवा अदालतमा पुरुषहरुले जमातलाई सम्बोधन गर्दै वक्तव्य राख्नु उनीहरुको कर्तव्य नै थियो । अदालतमा आफ्नो बचाउका निमित्त पनि बोल्नैपर्ने हुन्थ्यो किनकी साधारण जनताका लागि छुट्टै अधिवक्ता हुँदैन थिए । हाटबजार वा अन्य सार्वजनिक स्थलमा भेट हुँदा उनीहरु युद्ध, अर्थ व्यवस्था, राजनीतिका बारेमा छलफल तथा वादविवाद गर्दथे । समाजमा आदरणीय बन्न तथा सम्भ्रान्त वर्गसँग नजिक हुनलाई पनि राम्रो बोल्ने क्षमता आवश्यक पर्दथ्यो ।

यसरी दैनिक जीवनमा अभ्यास गरिने ‘बोल्न सक्ने कला’लाई निश्चित नियम तथा प्रक्रियामा बाँधेर व्यवस्थित बनाउने काम गर्ने जश जान्छ । प्रख्यात दर्शनशास्त्री एरिस्टोटल र क्विनटिलिएनलाई । उनीहरुले भाषणको नमूना र खाकाहरु तयार पारे ।

एरिस्टोटलले भाषणलाई निश्चित विषयमा मानिसलाई मनाउने, सहमतिमा ल्याउने वा विश्वास दिलाउने कलाका रुपमा परिभाषित गरेका छन् । उनले भाषणका तीन रणनीति विकास गरेः

इथोसः यस अन्तर्गत भाषण दिने व्यक्ति वा स्रोत विश्वसनीय हुनुपर्छ वा सम्बन्धित विषयमा विशेष दखल राख्ने हुनुपर्छ ।

लोगोसः यस अन्तर्गत भाषण गर्नेले प्रस्तुत गरेको तर्कहरु चोटिलो र अर्थपूर्ण हुनुपर्छ ।

प्याथोसः यस अन्तर्गत स्रोता वा दर्शकलाई भावनात्मक तवरले आफ्नो कुरा मनाउन सक्ने हुनुपर्छ ।

यता क्विनटिलियनले भने वक्तृत्वका बारेमा १२ वटा पाठ्यपुस्तक तयार पारे जसलाई आज पनि धेरै नेताहरुले अध्ययन गर्ने गरेका छन् ।

२० औं शताब्दीमा हुर्किएको भाषण…

२० औं शताब्दीलाई क्रान्तिको शताब्दी पनि भनिन्छ किनकी यस १०० वर्षको अवधिमा विश्वभरि थुप्रै किसिमका क्रान्ति तथा आन्दोलनहरु भए । रसियन क्रान्ति, भारतमा जारी अङ्ग्रेज विरुद्धको क्रान्ति, अमेरिकामा जातीय विभेद विरुद्धका अभियान आदि । र, भाषण भनेकै क्रान्तिको ईन्धन हो । त्यसैले यस अवधिमा भाषणको महत्त्व झन् चुलियो ।

यस शताब्दीमा भाषणले अझै परिस्कृत स्वरुप पनि पायो । विद्यालय तथा विश्व विद्यालयमा ‘पब्लिक स्पिकिङ’का विषयहरु राखिएपछि वक्तृत्व कला छुट्टै अध्ययनको क्षेत्रका रुपमा स्थापित भयो । यति मात्र नभएर २० औं शताब्दीमा वक्तृत्व कलाको विकासका लागि अन्य विषयहरुको पनि कोर्स डिजाइन गरियो ।
मार्टिन लुथर किंग जुनियरको ‘आइ ह्याभ अ ड्रिम’ वक्तव्य पनि यही शताब्दीको हो ।

७० प्रतिशत व्यवसायिक क्षेत्रमा वाक कला आवश्यक

एक अनुसन्धानले देखाएअनुसार संसारमा जति थरीका व्यवसाय तथा कामहरु छन् तीमध्ये ७० प्रतिशतमा कुनै न कुनै तरिकाबाट वक्तृत्व कला आवश्यक पर्दछ । यो आधुनिक समयमा धेरै कुरा जानेर मात्र हुँदैन जानेको कुरालाई प्रस्फूटन पनि गर्न सक्नुपर्छ । र आफ्नो कुरालाई अरु समक्ष राख्नका लागि ‘बोली’ भन्दा प्रभावशाली माध्यम नै अरु के होला र ?

एउटा भनाइ पनि छ, ‘नबोल्नेको चामल समेत बिक्दैन तर बोल्नेको पीठो पनि बिक्छ’ । अर्थात्, बोल्ने क्षमता भएका व्यक्तिहरुले सहजै जुनसुकै काम फत्ते गर्नसक्छन् ।

फेरि अहिले त ‘पब्लिक स्पिकिङ’को कला भएकाहरुका लागि थुप्रै व्यवसायिक विकल्पहरु पनि छन् ।

वाक शक्ति भएकाहरुका लागि निम्न व्यवसायहरु उपयुक्त हुन सक्छन्ः

शिक्षक
नेता
अभियान्ता
समाचार वाचक/रिपोर्टर
अधिवक्ता
प्रवक्ता
जनसम्पर्क अधिकारी
मोटिभेस्नल स्पिकर
वक्तव्य लेखक

इतिहासका केही प्रखर वक्ताहरु

विन्सटन चर्चिल

विन्सटन चर्चिल दोस्रो विश्व युद्धका दौरान बेलायतका प्रधानमन्त्री थिए । उनले वक्तृत्वको महत्व झल्काउँदै लेखेका पनि थिए, ‘मान्छेसँग भएका सबै प्रतिभामध्ये सबैभन्दा बहुमूल्य हो, वाक क्षमता ।’

जब दोस्रो विश्व युद्धमा फ्रान्स पराजित भयो तब उनले ‘हामी समुद्री तटमा लडाइ गर्नेछौं’ शीर्षकमा निकै प्रेरणादायी भाषण गरेका थिए । जब लन्डन इतिहासकै ठूलो बम विस्फोटबाट अस्तव्यस्त भएको थियो तब उनको भाषणले बेलायतीहरुको हौसला बढाएको थियो । यिनै कारणले उनले सन् १९५३ मा नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए ।

जोन एफ केनेडी

जोन एफ केनेडी संयुक्त राज्य अमेरिकाका ३५ औं राष्ट्रपति हुन् । उनले सन् १९६१ देखि १९६३ सम्म कार्यकाल सम्हालेका थिए । उनका वक्तव्यहरु निकै शक्तिशाली र प्रेरणादायी हुने गर्दथे । उनको ‘हामी चन्द्रमामा जानेछौँ’ वक्तव्यले अमेरिकीलाई चन्द्रमामा जान उत्प्रेरित गरेको बताइन्छ ।
उनले सन् १९६३ मा बर्लिन वालमा राखेको वक्तव्यलाई पनि इतिहासको उत्कृष्ट भाषणमध्ये एक मानिन्छ ।

एडोल्फ हिटलर

उनले भाषण दिँदै गर्दा लाखौं मानिस मन्त्रमुग्ध हुन्थे । उनीसँग भीडलाई आकर्षित गर्ने र बाँधेर राख्ने क्षमता थियो । हिटलरले आफ्नो राजनीतिक जीवनमा भाषणको महत्व बुझेकाले नै घण्टौंसम्म उनी वक्तव्यको अभ्यास गर्दथे ।

हिटलर एक त्यस्ता नेता हुन् जसले आफ्नो वाक कलाको फाइदा उठाएर त्यसलाई युद्ध, द्न्द्व, लाखौँ निर्दोषहरुको हत्यामा दुरुपयोग गरेका थिए ।

वाककलाको शक्ति कतिसम्म हुन्छ भन्ने कुराका उनी ज्वलन्त उदाहरण हुन् ।

मार्टिन लुथर किंग जुनियर

मार्टिन लुथर किंग जुनियर अमेरिकी जातीय विभेदका अधिकारकर्मी थिए । उनी अहिंसावादी अभियान्ता थिए जो समानता र मानवताका लागि लड्थे । उनको ‘आइ ह्याभ अ ड्रिम’ शीर्षकको वक्तव्यलाई अझै पनि चाख मानेर सुनिन्छ, पढिन्छ । उनको यो वक्तव्य नेपालको पाठ्यक्रममा पनि समावेश गरिएको छ ।

मार्गरेट थ्याचर

उनी बेलायतकी पहिलो महिला प्रधानमन्त्री हुन् । उनले आफ्नो खरो भाषण कलालाई निकैवटा चुनाव जित्न र पदमा टिकिरहन प्रयोग गरिन् ।
उनले अन्तर्राष्ट्रिय स्तरमा खुल्ला बजारको नीति फैलाउने काम गरिन्, फल्कल्यान्डसँगको युद्ध लडिन् र उत्तर आयरल्यान्डसँगको समस्याको पनि सामना गरिन् ।

बाराक ओबामा

बाराक हुसेन ओबामा संयुक्त राज्य अमेरिकाका ४४ औं राष्ट्रपति हुन् । उनले सन् २००९ देखि २०१७ सम्म अमेरिकाको नेतृत्वको बागडोर सम्हाले । उनी अमेरिकाका पहिलो एफ्रो अमेरिकन राष्ट्रपति हुन् ।

ओबामाको सरलता र संयमताले हरेकलाई प्रभावित पार्दछ । जनतासँग सहज ढंगले बोल्ने बानी देखि ठूल्ठूला मञ्चमा लाखौं दर्शकका सामू विषयगत भाषण गर्ने कलाले उनलाई एक उत्कृष्ट वक्ताका रुपमा उभ्याएको छ ।

उनलाई २१ औं शताब्दीकै प्रखर वक्ताहरुमध्ये एक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?