गाईभैँसीका भँडार फर्कने समस्यामा वृद्धि

RSS
0
Shares

काठमाडौं । गाईभैँसीको भँडार (भ्रुण रहने स्थान) फर्कने समस्या कञ्चनपुरमा बढ्दै जान थालेको छ । गाईभैँसी ब्याउनुभन्दा अगाडि, ब्याउने बेला र ब्याएको छ महिनासम्म भँडार फर्कने समस्या ल्याएर पशु सेवा केन्द्रमा पुग्ने पशुपालको सङ्ख्या बढ्दोरुपमा रहेको छ । भँडार फर्कने समस्या विगतको तुलनामा ब्याउने गाईभैँसीमा १० देखि १५ प्रतिशतसम्म बढेको देखिएको छ ।

विगतमा यस समस्या एक प्रतिशत मात्रै रहेको पशु विज्ञको भनाइ छ । पाँच वर्षयतादेखि यस समस्याले विकराल रुप लिँदै आएको छ । गाईभैँसी ब्याउनुअघि र पछिको समयमा मात्रै देखिँदै आएको भँडार खस्ने समस्या पशुले गर्भधारण गरेको तीन महिनापछिको समय र ब्याएको छ महिनापछि देखिन थालेपछि पशुपालक निकै चिन्तित हुन थालेका छन् । “ब्याएको तीन महिनापछि मात्रै भैँसीमा भँडार फर्कने समस्या देखापर्‍यो”, झलारीका पशुपालक अङ्कबहादुर ऐरले भने, “भैँसीमा कहिल्यै यस्तो समस्या देखिएको थिएन । पहिलो पटक देखियो । पशु प्राविधिकको सहयोगमा भँडारलाई पुरानै ठाउमा फर्कायौँ ।”

भँडार फर्कने समस्या भएका दुधालु गाईभैँसीलाई पशुपालकले भारतीय व्यापारीलाई सस्तोमै बेच्नेसमेत गरेका छन् । यसबाट पशुपालकले निकै घाटा व्यहोर्नु परेको छ । पछिल्लो समय रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गरेको घाँस ब्याउने र ब्याइसकेका गाईभैँसीलाई खुवाउन थालिएपछि यसले भँडार फर्काउने समस्यालाई बढाएको शुक्लाफाँटा नगरपालिकाको पशु शाखाका पशु विकास अधिकृत नारायणप्रसाद भट्टले बताए । “पहिले नगन्यमात्रामा मात्रै यस्तो समस्या देखिने गरेको थियो”, उनले भने, “हाल हप्तामा एक जना पशुपालक यो समस्या लिएर पशु शाखामा उपचारका लागि पुग्ने गरेका छन् ।” उनले भने । पोटासियम पदार्थ बढी भएको धानको ब्राण्डलाई चारोका रुपमा खुवाउँदासमेत यो समस्या निम्तिएको उनको भनाइ छ ।

इष्ट्रोजन पदार्थ बढी भएको घाँसपात खुवाएमा ढुसीपरेको दाना खुवाएमा, पाठेघरमा असजिलो भई पशु बढी कनेमा, पशुको पछिल्लो भाग ओरालो भएमा, बाच्छाबाच्छी ठूलो भएमा, पाठेघरभित्रको बसाई नमिलेमा, पाठेघरको मुख पूर्णरुपमा नखुलेमा र उमेर नपुग्दै पशु ब्याउने भएमा भँडार खस्ने समस्या देखिने गरेको जनाइएको छ । आन्तरिक परिजीवी, कुपोषण, कब्जियत र रक्तअल्पताका कारणलेसमेत भँडार खस्ने समस्या देखिने गरेको भेटेनरी अधिकृत रामप्रसाद भट्टले जानकारी दिए । “पहिला यो समस्या फाट्टफुट्टरुपमा मात्रै देखिने गरेको थियो”, उनले भने, हाल व्यावसायिकरुपमा पशुपालन हुन थालेपछि बढी देखिन थालेको छ ।”

यस्तो लक्षण देखाउने पशुलाई बस्ने ठाँउ अगाडिकोभन्दा पछाडिको भाग अग्लो बनाउने, हरियो घाँस ओइलाएपछि मात्रै दिने, खानेकुरा दिँदा एकैपटक टन्न गरेर नदिने गर्नुपर्दछ । भँडार फर्कने समस्या देखिन थालेपछि पशु प्राविधिकसँग सल्लाह लिने वा पशु प्राविधिक बोलाएर समस्या समाधानका लागि प्रयत्न गर्नुपर्ने हुन्छ । सालको राम्रोसँग व्यवस्थापन गर्न नसक्दासमेत कहिलेकाहीँ भँडार फर्कने समस्या हुने भएकाले होसियारीपूर्वक साल निकाल्नु पर्दछ । पशुले साल आफैँ नझार्दा पशुपालकले आफैं बलगरी साल तान्दासमेत भण्डारण फर्कने समस्या हुने गरेको पाइएको पशु प्राविधिकको भनाइ छ ।

थुनिलोको समस्यासमेत बढ्दो

ब्याएका र ब्याउने गाईभैँसीमा थुनिलोको समस्यासमेत बढ्दोरुपमा रहेको पाइएको छ । गोठ व्यवस्थापनको कार्य राम्ररी नगरिँदा, गोठको फोहर सफा नगरिँदा र ब्याक्टेरियाको सङ्क्रमणका कारण थुनिलोको समस्या बढ्दै गएको हो । ब्याएका अधिकांश पशुमा थुनिलो रोग देखिने गरेको पशु विकास अधिकृत नारायणदत्त भट्टले जानकारी दिए ।

नगरपालिकाको पशु शाखामा ब्याएको पशुमा थुनिलोको समस्या ल्याएर आउने किसानको सङ्ख्या दैनिक छदेखि १० जनासम्म रहने गरेको उनले बताए। उनका अनुसार थुनिलो भएमा पशुको थुन छाम्दा कडा, रातो हुने, थुन छुँदा पशुले पीडा महसुस गर्ने र दूध निकै कम आउने गर्दछ । “समयमै उपचार नगरे थुनबाट दूध नआउने पनि हुन सक्दछ”, उनले भने, “कुनै पशुमा थुन झर्ने समस्यासमेत देखिएको छ ।” कल्चौँडो सुनिएको (एक वा धेरै थुन सुनिएको) लाई थुनिलो भन्ने गरिएको छ । थुनिलो भएका गाईभैंसी लगातले दूध कम दिने भएकाले पशुपालकले बढी हानि व्यहोर्नुपर्ने हुन्छ ।

थुनिलो हुनबाट ब्याएका गाईभैँसीलाई जोगाउनका लागि गोठदेखि पशुको थुनसम्म सरसफाइ गर्नुपर्ने पशु प्राविधकको भनाइ छ । थुनिलो भइहालेका खण्डमा पशु प्राविधिकको सल्लाहमा एन्टीबायोटिक औषधि खुवाउनुपर्छ । थुनिलो भएको पशुलाई अरु पशुबाट अलग्गै राख्नु पर्दछ । दूध दुहुँनुअघि कल्चौँडोलाई मनतातो पानीले धोएर सफा कपडाले पुछेपछि दुहुँन सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?