काठमाडौं । प्रदेश नं ५ को प्रदेशसभाको बैठक प्रारम्भ भएको छ । प्रदेशको राजधानीको विषयमा विवाद हुँदा सोमवार बसेको बैठक प्रतिपक्षीको अवरोधका कारण कार्यसूची नसकिकनै सकिएको थियो ।
प्रदेश ५ मन्त्रिपरिषद्ले प्रदेश राजधानी दाङको भालुवाङ र लुम्बिनी नामाकरणको लागि प्रदेश सभामा प्रस्ताव पेश गरेसँगै असन्तुष्ट बनेको प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक तताइरहेको थियो । भने सोमवारको बैठक प्रारम्भ हुने वित्तिकै नारावाजीमा उत्रिएको प्रतिपक्षी दल कांग्रेसले कुर्सी तोडफोडको समेत हर्कत गरेको थियो । दलिय सहमती गर्न आधा घण्टाको समय छुट्याएपनि कुनै सहमती नभएपछि सभामुखले सभा सञ्चालन गरेका थिए ।
कांग्रेस सांसदहरुले एकलौटी ढंगले निर्णय गरेको भन्दै प्रश्न उठाएका थिए । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सांसदहरुको प्रश्नको जवाफ दिएका थिए ।
आज प्रदेशको राजधानी तोक्न र लुम्बिनी नामाकरणको लागि मतदान हुनसक्ने सम्भावना रहेको छ । प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदहरुलाई दाङको विपक्षमा मतदान गर्नको लागि ह्वीप जारी गरेको छ । तर केही सांसदहरु भने पार्टीको ह्वीप नमान्ने पक्षमा देखिएका छन् । हिजो बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई दाङको पक्षमा मतदान गर्नको लागि ह्वीप जारी गरेको थियो ।
८७ जना सदस्य रहेको प्रदेश नं ५ को संसदमा १९ जना प्रतिपक्षी कांग्रेसका सांसदहरु रहेका छन् । ती मध्ये केही सांसदहरुले पार्टीको ह्वीप नमान्ने पक्षमा देखिएसँगै नेकपालाई बहुमतबाट राजधानी र प्रदेशको नामाकरण पास गराउन सहज हुने देखिन्छ । ६१ जना नेकपा सांसद भएपनि ५८ जना भए दुइ तिहाइ बहुमतका साथ प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव प्रदेश सभाबाट पास हुने देखिन्छ ।
प्रदेश सरकारले राजधानी तोक्ने विषयमा प्रस्ताव गरेसँगै बुटवल लगायतका ठाउँहरुमा विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् । त्यस्तै अप्रीय घटना नघटोस भन्नका लागि रुपन्देही प्रशासनले मुख्य मुख्य स्थानमा निषेधाज्ञा समेत जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया