मेरो एक मात्र एजेण्डा काम गर्ने हो, रिजल्ट ल्याउने हो : सौरभ ज्योति (अन्तर्वार्ता)

काठमाडौं । नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, बित्त तथा बीमा समितिको सभापति रहेका सौरभ ज्योती एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यवसायिक घराना ज्योति समूहका निर्देशक ज्योतिले महासंघको भूमिका पुरा गर्न आफ्नो व्यवसायलाई भन्दा धेरै जोड दिनु पर्ने धारणा राख्दै आएका छन् । आगामी दिनको नेपालको आर्थिक चुनाती र समाधानका उपायसँगै उद्योग वाणिज्य महासंघको आगामी दिनका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

एफएनसीसीआईको चुनाव पनि नजिकिँदै छ, करिब–करिब दुई वर्ष अघि नै तपाईं चुनाव लड्नुहुन्छ भन्ने प्रष्ट थियो । तर, एसोसिएटमा नै सौरभ ज्योति किन ?

सर्वप्रथम त २ वर्षदेखि होइन ६ वर्ष अघिदेखि नै प्रष्ट थियो । किनभने मैले पहिलो कार्यकालमै एसोसिएटमा इच्छा जायर गरेको थिए । तर, विभिन्न परिस्थिति र टिम स्प्रिडका लागि मैले छोड्नुपर्यो । एक प्रकारले मलाई युवा नेता पनि भन्छन्, हुनतः केश पनि फुलिसकेको छ । टिमको भावना र एकरुपता हुनुपर्छ भन्ने निजी क्षेत्रमा मेरो स्ट्रोङ प्रिन्सिपल छ । म अर्को पटक आउँछु भनेर पहिलेको कार्यकाल छोडेको हो । यहाँ मेरो ६ वर्ष भयो । त्यसैले अहिले आएर मैले दाबी गरेको हुँ । यसमा मेरो एउटा मात्रै मुख्य एजेण्डा के छ भने काम गर्ने हो । रिजल्ट ल्याउने हो । समग्र रुपमा अर्थतन्त्रको विकासमा लाग्ने हो । व्यवसायहरुको समृद्धि हुनुपर्यो, व्यवसायीको समृद्धि हुँदा ठूला व्यवसायको मात्र होइन समग्र रुपमा साना, मझौला उद्योगदेखि लिएर सबै वर्गको हुनुपर्यो । त्यो भयो भने मात्र हाम्रो समग्र रुपमा आर्थिक विकास हुन्छ । नत्र भने सीमित व्यक्तिले मात्र प्रगति गर्न सक्यो भने हाम्रो आर्थिक विकास हुने सम्भावना हुँदैन । जुन समृद्ध नेपाल र सुखी नेपालीको सपना हामीले लिएका छौं, त्यो साकार पार्न ग्राह्रो हुन्छ । त्यसैले हामी भन्छौं, साझा समृद्धि र समावेशी विकासमा लाग्नुपर्छ भन्ने मुख्य एजेण्डा हुनुपर्छ ।

दोस्रो भनेको महासंघ भनेको के हो ? ५४ वर्ष पुरानो एउटा प्रोफेसनल संस्था हो । सबै उद्योग व्यवसायीको छाता संगठन हो, जसको सञ्जाल कुनै क्षेत्रमा नेपाल सरकारको भन्दा पनि बढी छ । म, करको सभापति भएर पहिलो कार्यकाल काम गर्दा हाम्रो महासंघको सञ्जाल नेपाल सरकारको कर कार्यालयको सञ्जालभन्दा पनि बढी भएको पाए । त्यसैले पनि हाम्रो एजेण्डा वस्तुनिष्ठ हुनुपर्छ । नतिजामुखी हुनुपर्यो । सचिवालय विज्ञसहितको प्रोफेसनल हुनुपर्यो । हाम्रो उद्देश्य भनेको रोजगारी सिर्जना गर्ने हुनुपर्यो । आर्थिक समृद्धि र सबै सदस्यको हकहितका लागि हामी लड्ने हो । त्यसैले यो विषयबाट महासंघ अलि बाहिर गइरहेको एक दशकभन्दा बढी भइसक्यो । हाम्रो मुद्दा नै के हुन्छ भने राजनीति हुन्छ । को कुर्चीमा आउने ? कार्य समितिमा पनि छलफल हुँदा आधा कुरा त हाम्रो आन्तरिक राजनीतिकै हुने गरेको छ । यस्तो हुनुहुँदैन । हाम्रो मुख्य मुद्दा भनेको अर्थतन्त्र जोगाउने हो । खासगरी अहिलेको परिस्थितिमा कोभिडले पुर्याएको असरको आर्थिक रिकभरिमा हामी लाग्नुपर्ने अत्यन्त आवश्यक छ । अर्थतन्त्र धरासायमा छ । विदेशबाट लाखौं युवा फर्कन लागेका छन् । उनीहरुको रोजगारी सिर्जना गर्ने वातावरण कसरी बनाउने ? दीर्घकालीन स्थायी नीतिहरु कसरी स्थापित गर्ने, थिंक ट्यांकमा कसरी अघि बढ्ने त्यो हाम्रो मुद्दा हो ।

त्यसैले महासंघ राजनीतिक संस्था होइन, यो हाम्रो वस्तुनिष्ठ व्यावसायिक संस्था हुनुपर्छ । नेपाल सरकारलाई उचित सल्लाह दिएर क्षेत्रगत रुपमा सामाजिक र राष्ट्रकै विकासमा ठूलो योगदान गर्ने निजी क्षेत्र भएको हुनाले त्यो दिशामा जाने हो । प्रोफेसनल संस्था बनाएर राजनीतिमुक्त संस्था बनाउने मेरो व्यक्तिगत सिद्धान्त र उद्देश्य हो । व्यक्तिगत भने पनि टिमको कुरा आइहाल्छ । टिम पनि यही सोच भएका साथीहरु हुनुहुन्छ, जो परिवर्तन चाहन्छन् । नेता भए भनेर सबैले नमस्कार गरे भन्दैमा धाग देखाउने त होइन नि ? तपाईं अध्यक्ष भन्नुस्, उपाध्यक्ष भन्नुस्, सबैसँग झुकेर सबै साथीहरुको सेवामा लाग्ने हो । त्यो हो मेरो लागि नेतृत्व । हामी सेवक नेतृत्वको सोचमा छौं । त्यसैले हामी सबै साथीहरुको जहाँ समस्या छ, जहाँँ अफ्ठ्यारो परिरहेको छ । त्यो एजेण्डा बोकेर आगाडि बढ्छौं र सम्बन्धित सरकारी निकाय, सम्बन्धित संघ–संस्थामा गएर समस्या समाधान गर्ने र महासंघको गरिमा अझै उच्च बनाउने उद्देश्यले म र हाम्रो इन्टायर टिम लागेको छ ।

चुनाव भनेको चुनाव नै हो, चुनावमा उठ्ने दुई जना भइसकेको अवस्था छ । एसोसिएटको वेटेज पनि कम छ र नम्बर अफ भोटर त्यो पनि विग पर्सनालिटिजहरु यही ठाउँमा छन् । तपाईंको चुनाव जित्ने रणनीति चाहिँ के छ ?

हाम्रो ९२७ जना एक्टिभ भोटर छन् । तर, यो भोटर को हो भने सबै उद्योग, व्यवसायका सीईओहरु, प्रोपाइटरहरु, मालिकहरु सबै प्रोफेसनल व्यक्तिहरु छन् । र, मेरो चुनाव जित्ने रणनीति धेरै सरल छ । नेपालमा कुरै गर्न त सबैले ठूला–ठूला गर्छन्, कुरा होइन काम हुनुपर्यो । जसले काम गर्नका लागि त्यो पदमा पुग्ने योग्यता राख्छ त्यो व्यक्ति नै पुग्नुपर्छ । सबै जना बिजनेस लिडर भएको हुनाले कामको योग्यताले उहाँहरुले मलाई सहयोग गर्नुहुन्छ । किनभने मैले दाबी गरेको पदमा सेवा गर्नलाई मौका मागेको हो । कामबाटै अगाडि बढेर मैले उहाँहरुको सहयोग माग्ने हो र सहयोग पाएर त्यो पद पाइसकेपछि म एक्लै होइन, टिम भएर काम गर्ने हो । एउटा टाउको दुईवटा हात छ एक्लै के गर्न सकिन्छ र ? हाम्रोे १९ जनाको टिम हुन्छ, उहाँहरु र ९२७ जना नै मासिक रुपमा छलफल गर्ने हामीले एजेण्डा बनाएका छौं, सबैको सुझावहरु संकलन गरेर हामी अघि बढ्छौं । समस्या छ भने समाधान गर्ने, आर्थिक समृद्धि बढाउने, निजी क्षेत्रलाई अझ बलियो कसरी बनाउने त्यो एजेण्डा लिएर हामी अघि बढिरहेका छौं ।

उमेरको हिसाबले पनि तपाईं तुलनात्मक रुपमा युवा हुनुहुन्छ । तपाईंले यो टिमले काम गर्छ भनिरहनु भएको छ । तपाईंले भने जसरी काम गर्नका लागि आफ्नो व्यवसायलाई छोडेरै महासंघमा होमिनुपर्ने हुन्छ, के यो सम्भव छ ?

अवश्य पनि यो सम्भव छ, हाम्रो संरचना कस्तो छ भने अलिकता म्यानेजमेन्ट र वनरसिप पनि प्रोफेसनलाइज छ । हाम्रो प्रोफेसनल म्यानेजमेन्ट सिस्टम छ । अहिले पनि म नेपाल उद्यमी मञ्चमा काम गरेको ६ वर्ष भयो । उद्योग वाणिज्य महासंघमै काम गरेको चार कार्यकाल गरेर १२ वर्ष भइसक्यो, त्योसँगै म नेपाल अटोमोबाइल डिलर एसोसिएसनमा थिए र त्यहाँ अध्यक्ष पनि भए । त्यो बेला पनि म आधा समय संघ–संथामा नै बिताउँथेँ । आधा समय मात्र म आफ्नो अफिसमा बस्थेँ । मेरो भाइ, मेरो परिवार सबैजना यही संस्थामा काम गर्छन् । उहाँहरुले यो जिम्मा लिनुहुन्छ र आफ्नो काम छाडेर महासंघको काममा दिनरात लाग्ने मेरो प्रतिबद्धता छ । मेरो आफ्नो धारणा के हो भने, आफ्नो काम गर्दा आफ्नो विकास होला, आफ्नो नाफा बढ्ला, हुनतः यो पनि सजिलो छैन, मेरो दायित्व आफ्नो कर्मचारीहरुप्रति पनि रहन्छ । ज्योति समूहमा नै अहिले झण्डै–झण्डै तीन हजार जति कामदार कर्मचारी छन् । उहाँहरुप्रति पनि मेरो दायित्व छ । किनभने यहाँबाट नाफा भएन भने बिजनेस बन्द भयो भने उहाँहरु बेरोजगार हुनुहोला, उहाँहरुप्रति पनि दायित्व छ ।

तर, हाम्रो म्यानेजमेन्ट प्रोफेसनल भएको र परिवारका अन्य सदस्यहरुले पनि व्यवसाय हेर्न सक्नुहुन्छ । म त यस्तै सेवाको काममा लागिरहेको छु, उहाँहरुले हेरिरहेको हुनाले मलाई यसमा खासै समस्या पर्दैन् । तर, यसमा हामीले अलिकता फरक ढंगले हेर्नुपर्छ । महासंघमा काम गर्ने तौरतरिका र आफ्नो निजी व्यापार व्यवसायमा काम गर्ने तरिका धेरै फरक हुन्छ, तपाईं आफ्नो निजी उद्योग व्यवसायमा एकदम सफल हुन सक्नुहुन्छ । यसका लागि तपाईंमा फरक क्षमता हुनुपर्छ किनभने तपाईं बोस हो । तपाईंले भनेको कुरा जसले पनि मान्छ, मान्नुपर्छ, तर महासंघमा तपाईंले सेवा गर्ने भएकाले आफ्नो सबै साथीहरुसँग मिलेर काम गर्नुपर्ने हुन्छ । तपाईंले यो गर त्यो गर भन्न मिल्दैन । त्यहाँ त तपाईंले सबैलाई कन्भिस गराएर एजेण्डा सेट गरेर उहाँहरुसँगको सल्लाह र सहकार्यमा अगाडि बढ्नुपर्छ । त्यहाँ र यहाँ गर्ने लिडरसिप अलग–अलग खालको हो । र, म विभिन्न संघ–संस्थामा काम गरेको हुनाले म अलिकता मिलनसार पनि हुनसक्छु । म ठान्दिन कि म सबैभन्दा विज्ञ मान्छे हो, केही सीमित क्षेत्रमा आफ्नो ज्ञान छ । थाहा नभएको कुरा थाहा भएन भनेर मान्न तयार छु । कमजोरी भएको क्षेत्रमा त्यो क्षेत्रको विज्ञहरुसँग सहकार्य गरेर कमीकमजोरी सुधार गर्दै अघि बढ्ने हो । मभन्दा विज्ञ व्यक्ति हाम्रो सचिवालयमा होस्, विज्ञहरुको सहयोगमा निजी क्षेत्रलाई विकास गर्ने एजेण्डा लिएर हामी अघि बढ्ने हो । यो लिडरसिप लिएर हामी अघि बढ्यौं भने एउटा इन्क्युलिसिभ ग्रोथको कुरा हामी गरिरहेका छौं ।

तपाईंले भन्नुभयो कि महासंघ सरकारपछिको सबैभन्दा बढी सञ्जाल भएको संस्था हो । तर, पहिला र अहिलको अवस्थामा हेर्दा महासंघको भूमिका कमजोर नै देखिन्छ । पछिल्लो ५। ७ वर्ष, अझ यो सरकार आइसकेपछि महासंघ र सरकारकाबीचमा सम्पत्ति शुद्धीकरण, कोभिडको बेलामा उठाएका विषयमा ठूलो खाडल देखियो महासंघले कुनै कुरालाई पनि प्रष्ट्याउन नसकेको देखिन्छ । तपाईंले जुन डायनामिक लिडरसिप भन्दै हुनुहुन्छ, यसले महासंघलाई बलियो बनाउने केही प्रष्ट भिजन त राखेको होला नि ?

यस सन्दर्भमा दुईवटा कुरा राख्न चाहन्छु, पहिला भिजनको कुरा, जुन यो टिम छ, यो शेखर गोल्छाको टिम हो । शेखर गोल्छा जो अध्यक्ष हुँदै हुनुहुन्छ उहाँको नेतृत्वको टिम हो, जसमा म पनि छु । हाम्रो यो टिम उहाँको तीन वर्षे कार्यकालको रोड म्यापका लागि तयार भएको टिम होइन । हामीले ९ वर्षको इकोनोमिक रोडम्यापको छलफल गरिराखेका छौं, रिसर्च गरिराखेका छौं, डेटाहरु खोजेर हाम्रो प्राथमिकता क्षेत्रहरु निर्धारण गरिरहेका छौं, सम्भावना कहाँ–कहाँ छ भनेर । त्यसैले शेखर गोल्छाको नेतृत्वमा तीन कार्यकालसम्मका लागि हामीले आर्थिक विकासको त्यो रोड म्याप बनाउँछौं । हाम्रो उद्देश्य एकदमै क्लियर छ । हामी दीर्घकालीन सोचले अगाडि बढिरहेका छौं ।

दोस्रो कुरा, हामीमा कमीकमजोरी छ । म मान्छु, सबै कुरा नसुनेका पनि हुन सक्छन् तर सुनेका पनि छन् । काम भएकोमा भएको पनि भन्नुपर्छ, कोभिडको बेलामा पनि हामीले धरै अध्ययन गर्याै । अन्तर्राष्ट्रिय कन्सल्टिङ एजेन्सीसँग ग्लोबल तथा स्थानीय रुपमा पारेको उच्च र न्यून प्रभाव तथा रिकभरिका विषयमा सबै अध्ययन गरेका छौं । नगरेका होइनौं हामीले । सरकारसँग केही राहत र केही नीतिगत विषयहरुमा सुधार भएको छ । जसले गर्दा हामीलाई भविष्यमा थप राहत मिल्छ । तर, कति प्रभावकारी भयो भन्ने एउटा छलफलकै विषय हो । १० मा १० हामी नपुगेको होला, १० मा ५र ६ त अवश्य पुगेका छौं । यही कुराहरु सुधार गर्न यो प्रोफेसनल टिम लागेको छ । कस्तो छ भने सब जनाले मलाई साहूजी–साहूजी भन्छन् । तर, साहूजी भनेको कस्तो व्यक्ति हो भने, तपाईं पसलमा जानुहुन्छ । म पनि हाम्रो हिमालयन डण्डीको पसलमा जान्छु वा होण्डा शो रुममा जान्छु । साथीलाई भेट्छु र म्यानेजरलाई सोध्छु, सब ठीक छ होइन ? सब ठीक छ, बिक्री राम्रो छ होइन ? राम्रो छ राम्रो, अनि म खुसी भएर हिँड्छु । त्यो हो साहूजी ।

अब प्रोफेसनल मान्छे त्यहाँ जाँदा के सोध्छ भने उसले आज तिम्रो सय टन डण्डी बेच्ने लक्ष्य थियो, कति बिक्री भयो ? कति जना मान्छे पसलमा आउनुभयो ? भन्ने सोध्छ, उसलाई डेटा, तथ्य चाहिन्छ । त्यसैले हामीले महासंघमा सुधार गर्नुपर्ने भनेको सचिवालयमा रिसर्चर विज्ञहरु राखेर डेटाहरु बलियो बनाउनु पर्नेछ । डेटा, सूचनातर्फ हामीले ध्यानदिन्छौं । यो भयो भने हामीले सम्बन्धित सरकारी निकाय, एजेन्सीमा तथ्य राखेर कुरा गर्यौ भने हाम्रो उद्देश्य बुझाउन, समस्या बुझाउन हामी बढी प्रभावकारी हुन्छौं र रिजल्ट पनि आउँछ । यतातर्फ पनि हाम्रो एजेण्डा छ ।

तर, यो चुनाव हो, जो अध्यक्ष हुँदै हुनुहुन्छ उहाँ प्रत्यक्ष रुपमा एउटा समूहको समर्थनमा देखिनुभएको छ । अर्को समूहबाट पनि दुई चार जनाले त जित्नुहोला, तपाईंहरुले चाहे जस्तो टिम नबन्न पनि सक्छ ? यस्तो अवस्थामा त पुरानै कुराहरु दोहोरिरहन्छन्, त्यसमा तपाईंको भनाइ के छ ?

चुनाव भनेको एउटा प्रजातान्त्रिक प्रक्रिया हो, स्वच्छ हो, प्रतिस्पर्धामा आएकामध्ये बढी राम्रो मान्छे हाम्रो सदस्यहरुबाट छनौट हुने हो र उहाँले प्रतिनिधित्व गर्ने हो । यसलाई नराम्रो भन्न मिल्दैन । तर, जुनसुकै टिम आए पनि मेरो व्यक्तिगत धारणा के हो भने जोसुकै भए तापनि हामी मिलेर अघि बढ्नुपर्छ । हामी यत्रो समयसँगै काम गरिसक्यौं ६ महिना त चुनाव लडेको हो नि त । त्यो पनि एक किसिमको माइण्डसेट र टिम बनाएर तर हामी सबैको उद्देश्य त एउटै हो नि । अलिकति टिमको विषयमा अलग–अलग देखिएको हो । उद्देश्य एउटै छ तर इगो मात्र हो । तर, मलाई लाग्दैन चुनाव सकिएपछि पनि इगो रहिरहन्छ । किनभने हामी एकै ठाउँमा, एकै समितिमा बसेर काम गर्नुपर्छ, हुन सकेन भने पनि हामीले प्रयास गरेर सबैलाई एउटै एजेण्डामा जोड्न सक्यौं भने मलाई लाग्छ समस्या हुँदैन ।

एफएनसीसीआईसँग प्रोजेक्ट नै देखिँदैन, केहि छन् र ती पनि फितला र बेलाबेलामा बिवादीत हुने गर्दछन् । देशभित्र यतिधेरै डोनर पार्टनहरु छन् ,डिब्लोमेटिक मिसनहरु छन् । के तपाईहरुको नयाँ टिमले एफएनसीसीआईलाई साच्चिकै अर्थपूर्ण प्रोजेक्टहरु संचालन गरी समग्र क्षेत्रलाई समेट्न सक्छ ?

यो कुरामा हामीले बारम्बार छलफल गरेका छौं । प्रोजेक्ट आइसकेपछि हाम्रो गरिमा पनि बढ्छ र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन पनि गर्नसक्छौं, किनभने हामी उद्योग व्यवसायीहरु भनेको प्रत्यक्ष रुपमा बजारमै खटेर वास्तविक परिस्थिति बुझेको मान्छेहरु हो । तपाईंले सही भन्नुभयो यसमा हाम्रो प्रयास जारी छ । यसमा हामीले आत्मविश्वासी नेतृत्व ल्याउनसक्यो भने स्वतः विभिन्न एजेन्सीहरु आउनेछन् र उनीहरुसँग सहकार्य गरेर हामी अघि बढ्न सक्छौं । यो कुरा हाम्रो प्राथमिकतामा र एजेण्डामा पनि छ ।

अन्त्यमा, यो चुनावको बेला छ, आफ्नो सहकर्मी र साथीभाइहरुलाई केही भन्न चाहनुहुन्छ ?

आई अलवेज विलिभ वेस्ट पर्सन फर द जब, फेयर इलेक्सनमा हामी जानुपर्छ । यो संस्थामा आफ्नो व्यक्तिगत एजेण्डा होइन संस्थागत हितमा र संस्था बलियो बनाउने उम्मेदवारहरु हामीले जिताउनुपर्छ । र एकरुप भएर निजीक्षेत्र अघि बढ्नुपर्छ । किनभने हामी सबैको एजेण्डा एउटै हो । अहिले हामी विभाजित भयो भने झ्न कमजोर हुन्छौं, अहिले जुन विषम परिस्थिति छ कोभिडको महामारीले अब यो तीन वर्ष अत्यन्तै चुनौतीपूर्ण समय छ । त्यसैले हामी एकजुट भएर अघि बढेर रोजगारी सिर्जना गर्ने र आर्थिक समृद्धिको बाटोतर्फ लाग्नुपर्छ । र, निजी क्षेत्रको हकहितका लागि स्थायी नीति ल्याएर आर्थिक समृद्धिको यात्रामा निजी क्षेत्रले नेतृत्वदायी भूमिका लिनुपर्छ । अर्थतन्त्रलाई निकास दिएर मुलुकको विकास गर्नुपर्छ ।

उद्योग वाणिज्य महासंघ सम्बन्धि यस अघि प्रकाशित यी सामाग्री पढ्नुभएको थियो ?

उद्योग वाणिज्य महासंघमा महादंगल, कसको पल्ला भारी ?

चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खोजे महासंघको शाख कमजोर हुन्छः शेखर गोल्छा (अन्तर्वार्ता)

पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु: किशोर प्रधान (अन्तर्वार्ता)

चन्द्र ढकाल टिमका प्रत्यासीहरु भन्छन् – ‘बोलेर हैन गरेर देखाउँछौँ’

लालचा लिएर महासंघमा कोही पनि आउनु हुँदैन : उमेशलाल श्रेष्ठ (अन्तर्वार्ता)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?