चन्द्र ढकाल टिमका प्रत्यासीहरु भन्छन् – ‘बोलेर हैन गरेर देखाउँछौँ’

काठमाडौं । आगामी साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भए पनि वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र उनको समूहले औपचारिक उम्मेदवारी घोषणा गरेको छ । जिल्ला नगर समूहको उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार दिएका छन् ।

समुन्नत नेपाल निर्माणमा हाम्रो टिमले काम गर्छः चन्द्र ढकाल

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई परास्त गर्दै उद्योगी व्यवसायीले खोजेको आर्थिक समुन्नत नेपाल प्राप्त गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उम्मेदवारी घोषणा गर्दै ढकालले भने, “महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टिमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ । आज हामी चुनावमा छौं, स्वाभाविक रुपमा हाम्रो टिमसँग प्रतिस्पर्धा गर्नका लागि विपक्षी टिम पनि खडा भएको छ । आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टिमको तुलना गर्नुस्, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हेर्नुहोस् ।”

हामी बोल्नुभन्दा पनि व्यवहारमा काम गरेर देखाउन चाहन्छौं: गुणनिधि तिवारी

‘उपाध्यक्षका उम्मेदवार, जिल्ला नगर उद्योग वाणिज्य संघ’

“निजी क्षेत्रको प्रतिनिधि मूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले देशभरिका उद्योगी व्यवसायीलाई समेटेर स्थापना भयो । जुन उद्देश्यले महासंघ स्थापना भएको थियो भोलिका दिनमा त्यही उद्देश्यहरु पूरा गर्न हामी एकढिक्का भएर अघि बढ्नेछौँ ।

हामी व्यवसायीका तमाम समस्याहरु छन्, चाहे बैंकका कुराहरु हुन, नियम कानुनका कुराहरु हुन्, हामी आघातमा परेका छौं । धेरै चोटमा परेका छौं । हाम्रो व्यवसाय धरासायी भएको छ । हाम्रो आज बैंक किस्ता र ब्याज तिर्नसक्ने अवस्था पनि छैन । हामीलाई कर विषयमा कानुनी जटिलताहरु छन् । यी सबै समस्याहरु समाधन गर्नका लागि पनि यो टिम सशक्त रुपमा अघि बढ्ने प्रतिबद्धता जनाउँछौं । हामी बोल्नु भन्दा पनि व्यवहारमा काम गरेर देखाउन चाहन्छौं । परिणाम दिन चाहन्छौं, त्यो किसिमको नेतृत्व चन्द्रप्रसाद ढकाल हुनुहुन्छ । हामीसँग वस्तुगत, एसोसिएटतर्फ सबैतिर त्यस किसिमको व्यक्तित्व हुनुहुन्छ । यही किसिमले हामीले हरेक क्षेत्रबाट केन्द्रीय सदस्य चयन गर्छौं। भोलिका दिनमा हाम्रा समस्याहरु समाधान गर्न हामी एक जुट भएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्छौं ।

विशेष गरेर साना मझौला व्यवसायीहरुका समस्याहरु सुनुवाइ भएको छैन, हाम्रो तराईदेखि हिमालसम्मका व्यवसायीको समस्या सुनुवाइ भएको छैन ती समस्या सुनुवाइ गर्न पनि आज यो टिमको जरुरी छ। तपाईंहरुको सहयोगबाट नेतृत्वमा पुग्यौ भने निश्चित रुपमा तीन वर्षको कार्यकालमा महासंघलाई एउटा सिस्टममा काम गर्ने वातावरण बनाउँछौँ ।

अहिले आएर बैंक ब्याजदरको विषय पेचिलो बनेको छ । हामीले महासंघको तर्फबाट भनिसकेका छौं, कमसेकम हामीलाई अबको दुई वर्ष बैंकको फोन नआओस् । बैंकको ब्याज पूँजीकरण गरेर दुई वर्षसम्म स्वतन्त्र रुपमा व्यवसाय गर्ने वातावरण बनाइयोस्। हामी दुई वर्षपछि सबै रकम चुक्ता गर्छौं । हामीलाई अहिले व्यवसाय सञ्चालनका लागि ३० देखि ४० प्रतिशत सहुलियतदरमा संचालन पूँजी दिनुपर्छ भन्ने माग राखेका छौं । राष्ट्र बैंकले जारी गर्ने आगामी मौद्रिक नीतिले यी समस्याहरु सम्बोधन गर्नेछ भन्नेमा हामी आशावादी छौँ ।

त्यसै गरेर अहिले वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनीहरु स्वदेश फर्कने क्रम बढेको छ । उहाँहरुलाई पनि सहुलियत दरमा बिनाधितो कर्जा दिएर व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ । उहाँहरुले जुन सीप सिक्नु भएको उहाँहरु यही बसेर आवश्यकता अनुसारको उत्पादनहरु गर्न हुन्छ । जुन हामीले विदेशबाट ल्याउने खाद्यन्न लगायतका सामानहरु यही उत्पादन गर्ने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो भनाई छ । चन्द्रप्रसाद ढकालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छविलाई हेरेर यो टिमलाई सहयोग गर्नुभयो भने भोलिका दिनमा जिल्ला नगरका हुन्, एसोसिएटका हुन वा वस्तुगतका समस्या हुन् । तत्काल हामी समाधान गरेर परिणाम देखाउँछौं भन्ने विश्वास दिलाउँछौं 

व्यक्तिगत लालचा धेरै हुनु नै हाम्रो नेतृत्वको कमजोरी रह्यो :उमेशलाल श्रेष्ठ

‘वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार’

“उद्योग वाणिज्य महासंघ राजनीति गर्न जन्मिएको संस्था होइन् । हामीले स्वतन्त्र रुपमा व्यापार गरिरहेका छौं । हामीलाई नेपाली कांग्रेस र नेकपा मात्र होइन सबै पार्टीको समर्थन छ । उद्योग वाणिज्य महासंघलाई उहाँहरुले विश्वास गर्नुहुन्छ नै ।

अहिले जुन चन्द्रप्रसाद ढकाल ज्यूले नेतृत्व गर्दै हुनुहुन्छ । गुणनिधिजी हुनुहुन्छ, रामचन्द्र संघईजी हुनुहुन्छ, ढकालजी २२/२३ वर्ष अगाडिको सामान्य जागिरे जीवनबाट अहिलेको अवस्थामा जुन प्रोफेसनल रुपमा आउनुभएको छ । त्यो नै काफी छ । गुणनिधि र रामचन्द्रजी आफ्नो क्षेत्रमा उत्कृष्ठ हुनुहुन्छ । मेरो क्षेत्र व्यापार थिएन् । म बाबु आमाको पछि लागेको भए मेरो ठेगान यो ठाउँभन्दा फरक हुन्थ्यो होला । मेरो बुबा आमाले सिकाएको बाटो मैले सोचिन, भनाई अर्थ राजनीतिमा जाने मैले कहिल्यै सोचिन । मैले जहिले पनि जब उद्यम व्यापार नेपालमा फस्टाउँदैन्, तबसम्म नेपालले उन्नति गर्न सक्दैन् भन्ने मान्यता साथ म उद्योग तथा व्यापार क्षेत्रमा आए ।

म मेरो कुरा गर्न चाहान्न, मलाई प्रायः सोधिने एउटा प्रश्न छ । म त्यसको जवाफ दिन चाहन्छु, तपाँई किन दोर्याउन खोज्दै हुनुहुन्छ ? मेरो जवाफ मैले किन रिपिट नगर्ने ? किनभने म एक निदृष्ट लक्ष्य लिएर हिँडेको छु । हिँड्दै गर्दा बाटोमा अनेक अफ्ठयाराहरु आउँछन् त्यो आयो भन्दैमा म विचलित हुँदिन । मेरो बुबा आमाले भन्नु हुन्थ्यो, जे काम गर्छौं त्यसको सफलताको सगरमाथा चढ्नु भन्नुहुन्थ्यो । मेरो उद्देश्य महासंघमा त्यही हो ।

अर्को कुरा म के भन्छु भने हामीले आदरणीय चण्डीदाइलाई नेता बनाएर अघि बढेका छौं । हाम्रा अन्य अग्रजहरु पनि यहाँ हुनुहुन्छ, मलाई सबैले के सोध्छन् भने सबै पूर्वअध्यक्षहरु एक ठाउँमा तपाईंहरुका जम्मा एक जना मात्र छ भन्छन् । मेरो जवाफ के छ भने । असल मान्छेको साथमा एक जनाको साथ भए पुग्छ । सबको साथ चाहिन्न। यसो भन्दैमा मैले पूर्वअध्यक्षहरुको विरोध गर्न खोजेको होइन। उहाँहरु सम्मानित हुनुहुन्छ, उहाँहरु नभएको भए उद्योग वाणिज्य महासंघ आज यो ठाउँमा हुने थिएन । एउटा हामीले गल्ती गरेका छांै, कसैले मान्नु हुन्छ, कसले मान्नु हुन्न, पूर्वअध्यक्षहरुलाई एउटा वैधानिक रुप दिएर पूर्वअध्यक्ष मण्डल बनाएर राख्दा अन्यन्त राम्रो हुन्छ । यो सल्लाह बारम्बार दिएको छु, आशा छ हामी जितेर आएपछि यो काम गछौँ।

तेस्रो कुरा तीन वर्षमा तैले के गरिस् ? म राजनीतिमा लड्ने नेता होइन, महासंघको सामान्य नेता, म पुल बनाउँछु पनि भन्दिन एयरपोर्ट बनाउँछु पनि भन्दिन, हामीले गर्न सक्ने काम भनेको सरकारसँग लबिङ गर्ने हो । मेरो दिनचर्या प्रायः व्यवसायी साथीहरुसँग सिंहदरबारमै बित्छ । किनभन्दा हाम्रा १०३ वटा वस्तुगत संघका अनेक किसिमका समस्या छन् । झनै भन्ने हो भने यो सरकारले हामीलाई समस्या माथि समस्या थपिदिएको छ । मैले टिवट् गरेको थिए यो सरकारले जेठ १५ मा ल्याएको अशुद्ध बजेटलाई शुद्धीकरण गर्ने एउटै माध्यम हो मौद्रिक नीति । हामीले जतिसुकै टिव्ट गरे पनि विगत ५/७ वर्षयता सरकारले महासंघलाई सुनेको छैन । यो हुनुको कारण भनेको सायद हाम्रो नेतृत्वको कमजोरी हो । महासंघको संरचना अनुसार नेतृत्व भनेको अध्यक्ष मात्रै हो। हाम्रो कमजोरी नेतृत्वमा व्यक्तिगत लालचा धेरै भो सामूहिक लालचा कम भयो । त्यो चिजलाई हामीले सुधार गर्नुपर्छ । अहिले हामी चार जना कोही पनि व्यक्तिगत लालचा लिएका छैनौं ।

सम्पूर्ण उद्योगी व्यवसायीको समस्याको सही समाधान खोज्ने तथा सरकारलाई अझै जिम्मेवार बन्न घच्घच्याउने छु: रामचन्द्र संघई

 ‘एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार’

“लामो समय विभिन्न क्षेत्रमा काम गरेको मेरो अनुभवले महासंघलाई थप सुदृढ र सफल बनाउन सहयोग गर्नेमा म पूर्ण विश्वस्थ छु । यहाँहरुलाई समेत विश्वास दिलाउन चाहन्छु। कोरोनाले गर्दा देश र दुनियाँको अर्थतन्त्र तहस नहस भएको सबैलाई थाहा नै छ । यस्तो अवस्थामा छिटोभन्दा छिटो देशको अर्थतन्त्रलाई चलायमान बनाई माथि उठाउनुपर्ने हुन्छ । सरकारसँग मिलेर देशका विभिन्न ठाउँमा नयाँ–नयाँ उद्योग कलकारखाना स्थापना गरी थुप्रै नयाँ रोजगारी सिर्जना गर्ने वातावरण बनाउनेमा मेरो ध्यान सम्पूर्ण रुपमा केन्द्रित हुनेछ । हाम्रा धेरै अग्रजको अथक प्रयास र मिहेनतले हाम्रो यो गरिमामय महासंघ आजको यो अवस्थामा आइपुगेकोमा कुनै दुईमत छैन। तर, सुधारका लागि ठाउँहरु रहन्छन्। हाम्रो यो महासंघलाई अझ जिम्मेवार बनाउने काममा म लाग्नेछु । सम्पूर्ण उद्योगी व्यवसायीको समस्याको सही समाधान खोज्ने तथा सरकारलाई यस क्षेत्रप्रति अझै जिम्मेवार बन्न घच्घच्याउने छु ।”

यो पनि

उद्योग वाणिज्य महासंघमा महादंगल, कसको पल्ला भारी ?

चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खोजे महासंघको शाख कमजोर हुन्छः शेखर गोल्छा (अन्तर्वार्ता)

पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु: किशोर प्रधान (अन्तर्वार्ता)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?