२०७७, २९ असार सोमवार १०:३१

चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खोजे महासंघको शाख कमजोर हुन्छः शेखर गोल्छा (अन्तर्वार्ता)


प्रकाशित मिति : २०७७, २९ असार सोमवार १०:३१

काठमाडौं । आगामी साउन २६ र २७ गते नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलो पटक प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहबाट शेखर गोल्छा अध्यक्ष बन्दै छन् । तीन वर्ष अगाडि सम्पन्न साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा चयन भएसँगै उनी अध्यक्ष बन्ने पक्का थियो । आफू अध्यक्ष हुने पक्का भए पनि गोल्छा यतिबेला आफू अनुकूलको टिम निर्माणमा जुटेका छन् ।

आफ्नो शताब्दी पुरानो पुर्खाैली व्यापार तथा व्यवसायलाई नयाँ उचाइमा पुर्याएका गोल्छालाई कोरोनाको कारण उत्पन्न विषम परिस्थितिमा देशभरिका उद्योगी र व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई नयाँ उचाइ पुर्याउनु पर्ने चुनौती छ । कोरोना कहरले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने अवस्था छ । देशको समसामयिक अर्थतन्त्र, भावी योजना र विशेषगरी महासंघको आगामी निर्वाचनको विषयमा केन्द्रित रहेर लोकपथले गरेको कुराकानीको सारसंक्षेप:

गोल्छा अर्गनाइजेसनबाट पहिलो पटक एफएनसीसीआईमा अध्यक्षको रूपमा आउँदै हुनुहुन्छ ? कुनै बेला दिवाकर गोल्छाको सम्भावना हुँदाहुँदै पनि अध्यक्ष बन्न सक्नुभएन, तर तपाईले यो लडाँई जित्नुभयो, कसरी सम्भव भयो ?

यसमा म इतिहासमै जान चाहन्छु । आजभन्दा झन्डै ५५ वर्ष पहिला जब काठमाडौंंको खिचापोखरीको एउटा सानो कोठामा महासंघको परिकल्पना गरियो । त्यसबेला नेपालमा पहिलो उद्योग खोल्ने मेरो हजुरबुवा र मेरो बुवा पनि सम्मिलित हुनुहुन्थ्यो । यो संस्थाको विधान निर्माणका लागि पनि मेरो बुवाले भूमिका लिनुभएको थियो । त्यो बेलादेखि नै हाम्रो परिवार यस महासंघमा जोडिएको छ । मलाई लाग्दैन, अहिलेसम्म उद्योग वाणिज्य महासंघको जति पनि कार्यसमिति बनेको छ त्यसमा हाम्रो परिवारको एउटा पनि सहभागिता छैन ।

मेरो बुवाले उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रलाई विभिन्न भूमिका र पदमा रहेर लामो समयसम्म सेवा गर्नुभयो । उद्योग वाणिज्य महासंघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन प्रतिनिधित्व गर्नुभयो । त्यसपछि मेरो दाइ दिवाकर गोल्छा पनि नेपालमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने एक जना व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ एक्लैले १६ हजारभन्दा बढी मानिसलाई रोजगारी दिनुभएको थियो । उहाँले पनि महासंघमा विभिन्न तहमा रहेर सेवा गर्नुभएको थियो । उहाँ पनि उपाध्यक्षसम्म जानुभयो । तर, उहाँ अध्यक्ष बन्न खोज्दा उहाँको विरोधमा केही षड्यन्त्रहरू भयो र उहाँ अध्यक्ष बन्नबाट बञ्चित हुनुभयो । जुन यो उद्योग वाणिज्य महासंघकै लागि एउटा क्षति थियो । किनभने जो मान्छेले यति धेरै रोजगारी सिर्जना गरेको छ, त्यो मान्छेले महासंघको नेतृत्व गर्न नपाउनु पनि उद्योग वाणिज्य महासंघका लागि दुःख लाग्दो घटना थियो ।

त्यसपछि मेरो अर्को दाइ महेन्द्र गोल्छाले पनि पूर्वाञ्चलमा लामो समयसम्म नेतृत्व गर्नुभएको थियो । त्यसपछि हाम्रो परिवारबाट अध्यक्षका रूपमा नेतृत्व गर्ने मौका पाएको छु । देशभर रहेका साना मझौलादेखि ठूला व्यवसायीले विश्वास गरेर मलाई मत दिनुभएको थियो । त्यसबाट म गएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा आएको थिएँ र अहिलेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने अवस्था भएकाले म अब आउने महिनामा अध्यक्षका रूपमा स्थापित हुनेछु ।

अहिलेको यो निकै कठिन अवस्थामा अध्यक्षको जिम्मेवारी लिँदै हुनुहुन्छ । कोभिडले अर्थतन्त्र र समग्र उद्यमी व्यवसायीमा पारेको नकारात्मक प्रभावलाई कसरी समाधान गर्नुहुन्छ ?

नेपालको निजी क्षेत्रको कुरा गर्ने हो भने यो पहिलो चुनौतीचाहिँ पक्कै पनि होइन, योभन्दा पहिला पनि भूकम्प, नाकाबन्दी, ऊर्जाको समस्यादेखि लिएर श्रमसम्बन्ध बिग्रिएको समय लगायतका ठूला–ठूला चुनौतीहरू हामीले भोगिसकेका छांै । तर, निश्चित रूपमा अहिलेसम्म आएको चुनौतीमा कोभिड–१९ सबैभन्दा ठूलो चुनौती हुन्छ ।

निजी क्षेत्रले दैनिक १० अर्ब बढीको व्यापार गर्छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुन किसिमको लकडाउन भएको छ यसले ९० प्रतिशत व्यापार–व्यवसाय कम भएको छ । दैनिक ९ अर्ब बराबरको व्यापार कम भएको अवस्थामा हामी छौं । यसले जीडीपीमा ठूलो असर पारेको छ । हाम्रो राजस्वमा ठूलो असर पारेको छ ।

झन्डै १५ लाख युवा बेरोजगार रहने अवस्था छ र लाखांै व्यक्तिहरू गरिबीको रेखामुनि पुगेका छन् । यसले एउटा ठूलो विषम परिस्थिति पनि लिएर आएको छ । र, अहिलेसम्म निजी क्षेत्रलाई पर्न आएको चुनौतीमा कठिन चुनौती यो नै हो । यसमा हामीले सबै जिल्लाका साथीहरूसँग कुरा गर्दा मुख्य चार क्षेत्रमा चुनौती रहेको हामीले देख्यौँ ।

पहिलो नगद प्रवाह व्यवस्थापन, अहिले सबै बजार बन्द छ । नगद प्रवाह प्रभावित हुँदा बैंकको ब्याज, कर, तलब, भाडा लगायतका अन्य खर्चहरू तिर्न नसक्ने अवस्था छ । यसले ठूलो समस्या निम्त्याएको छ । यसको समाधानका लागि हामीले राष्ट्र बैंक, बैंकर एसोसिएसनमा पटक–पटक छलफल गरेको छौं । त्यसमा केही राहतका कार्यक्रमहरू पनि आएका छन् । जस्तो ब्याजदरमा दुई प्रतिशत छुट पाएका छौं, त्यस्तै यस अवधिमा कर्जा तिर्नेलाई ब्याजमा १० प्रतिशत छुट पनि माग गरेका थियौं, त्यसपछि अब आउने मौद्रिक नीतिमा खास गरेर पुनर्कर्जा ठूलो रूपमा आउँछ भन्ने आशा हामीले राखेका छौं । यो पुनर्कर्जा साना र मझौला व्यवसायीले समेत पाउने गरी नियमावली बनाउनका लागि हामीले राष्ट्र बैंकसँग सहकार्य गरिराखेका छौँ । त्यसैगरी हाम्रो कर्जाहरू जुन पुनर्संरचनाको कुरा पनि राष्ट्र बैंकसँग गरेका छौं । मलाई विश्वास छ अब आउने मौद्रिक नीतिमा यी विषय सम्बोधन हुनेछन् ।

 कोभिडको असरको कुरा गर्दा श्रमिकको विषय पनि त जोडिन्छ होला नि ? यो एउटा ठूलो चुनौती होइन र ? अर्को तिर ऊर्जा उपभोगको सन्दर्भमा पहिले नै राज्य र उद्यमी व्यवसायीबीच मतमतान्तर थियो त्यसमाथि यो कोभिड थपियो ?

निजी क्षेत्रको चुनौतीको कुरा गर्ने हो भने श्रमिकको व्यवस्थापन पनि महत्वपुर्ण विषय हो । किनभने सरकारले मन्त्रिपरिषद्बाट एउटा निर्णय गरेर शतप्रतिशत तलब दिनुपर्छ भनेको थियो । हामीले चाहिँ घर बस्नेलाई ५० प्रतिशत र काम गर्नेलाई शतप्रतिशत तलबको अडान लिएर बसेका थियौं, घरमै बसेर शतप्रतिशत तलब पाउने हो भने कोही पनि काममा आउँदैनन्, अहिले पनि काममा ल्याउन धेरै गाह्रो भैरहेको छ । अहिले पनि श्रम समन्वय समितिमा यो विषय विचाराधीन अवस्थामा छ । आशा गर्छौं यसमा पनि केही समाधान आउनेछ ।
यस्तै ऊर्जा व्यवस्थापन पनि कोभिड–१९ को अर्को चुनौती हो । हामीले के भन्यौ भने लकडाउनको अवधिमा डिमान्ड शुल्क राख्न हुँदैन, यो पनि सरकारले मानेको छ, तर अहिलेसम्म लागू भइसकेको छैन । त्यसै गरेर अब आउने समयमा ऊर्जा चाहिनेभन्दा बढी नै हुन्छ । डेडिकेटेड लाइन र फिडर लाइनको कुनै योगदान नरहने भएर यसलाई खारेज गर्न माग गरेका थियौं र खारेज पनि भएको छ ।

हामीले अर्को स्टुमेलस प्याकेजको कुरा गरेका थियांै । हामीले के भनेका थियौं भने त्यो स्टुमेलस प्याकेजले गरीब जनतालाई कुनै न कुनै रूपमा राहत दिन सक्यौं भने त्यो पैसाले डिमान्ड र स्टुमेलस हुन्छ र पूरै बिजनेस चल्न सक्छ । यो पनि बजेटमा केही न केही रूपमा सम्बोधन भएको छ ।

 कोभिडजन्य आर्थिक चुनौतीलाई सरकारले चलाखीपूर्ण रूपमा वित्तीय पोलिसीबाट मौद्रिक पोलिसमा समस्यालाई केही समयका लागि धकेलिदियो । के मौद्रिक नीतिले मात्रै कोभिड जन्य आर्थिक चुनौतीलाई समाधान गर्न सक्छ ?

अब धेरै कुरा मौद्रिक नीतिले नै सम्बोधन गर्ने हो, ब्याजदर, कर्जा पुनर्तालिकीकरण, पुनर्कर्जा लगायतका विषयहरू मौद्रिक नीतिमार्फत नै समाधान हुने हो । यी कुराहरू एकले अर्कोलाई पास ग¥यो भन्ने कुरामा म त्यति सहमत छैन ।

अख्तियार र निजी क्षेत्रको चर्चित मुद्दालाई हाल केही समयसम्म संसद्मा प्रस्तुत हुनबाट रोक्न त तपाईंहरु सफल हुनुभयो तर पछिल्ला दिनमा स–साना विषयमा समेत नाम चलेका व्यवसायिक घरानालाई धडपकड गरिएको छ, सरकारको नियत कहाँ बिग्रिएको छ, यसलाई सम्हाल्ने जिम्मा त तपाईंकै हो नि ?

पक्कै पनि, अहिलेको समय निजी क्षेत्रलाई प्रोत्साहन गर्ने समय हो, निजी क्षेत्रलाई कसरी उत्पादन क्षेत्रमा बढी लगानी गर्न सकिन्छ यसमा प्रोत्साहन गर्ने समय हो । तर, अहिले अनुगमनको नाममा निरुत्साहित गर्ने काम भइरहको छ । म भन्दिन कि हामी सबै पारदर्शी छौँ । हामीमा पनि गल्ती हुन सक्छन्, तर जुन हिसाबले अहिले निजी क्षेत्रलाई अनुगमन र मानमर्दन गरिएको छ यसले लगानी प्रभावित हुन्छ । खास गरेर अन्तर्राष्ट्रिय लगानी, देशको यो स्थिति देखेर त अन्तर्राष्ट्रिय लगानीकर्ता त हचकिन्छ नि । किनभने अनुगमनको नाममा यहाँ धेरै दुर्घटनाहरू पनि देखिएका छन् । यस्तो कुराहरू हुनुहँुदैन भन्ने हाम्रो राय हो ।

 अर्को चुनौती सम्पत्ति शुद्धीकरण, सरकारको बुझाई, उद्यमी व्यवसायीको बुझाई र यसबीचको खाडल यसलाई कसरी समाधान गर्नुहुन्छ ? निजी क्षेत्र र सरकारबीचको यो द्वन्द्वले दुवै पक्षको हित हुँदैन । अध्यक्षको नाताले अबको तपाईंको चुनौती सरकार र उद्यमी व्यवसायीबीच सम्पत्ति शुद्धीकरणको सम्बन्धमा ठोस समाधानको पहल गर्नु पर्ने छ ? नयाँ पुस्ताको व्यवसायीको रुपमा यो क्रिटिकल इस्यु कसरी व्यवस्थापन गर्नु हुन्छ ?

सम्पत्ति शुद्धीकरणको कुरा पनि अन्तर्राष्ट्रिय दबाबले आएको हो जस्तो लाग्छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दबाबले यो आएको हो । यो पनि हामीलाई अनुगमन गर्ने अर्को निकाय छ, जब राजस्व अनुसन्धान छँदैछ, सम्पत्ति शुद्धीकरणले गर्ने काममा अहिले पनि हामी त्यति प्रष्ट छैनौं । बीचमा सम्पत्ति शुद्धीकरणले सबैको फाइल पनि मगाएर राखेको थियो ।
हामीले समानान्तर रूपमा संस्था थप्दै जाने हो भने झन् नियन्त्रण बाहिर जानसक्छ, जब राजस्व अनुसन्धानको दायरामा सबै कुरा छ भने फेरि अर्को संस्था बनाएर निजी क्षेत्रलाई मात्रै अनुगमन गर्ने के आवश्यकता छ ? केही अन्तर्राष्ट्रिय सन्धिहरू छन् जसमा हामीले हस्ताक्षर गरेका छांै, हाम्रो देशका लागि उपयुक्त छन् कि छैनन् भन्नेमा पनि फेरि एकपटक सोच्नुपर्ने अवस्था छ ।

 विनोदबहादुर श्रेष्ठको कार्यकालको अन्तिम समयदेखि भवानी राणाको कार्यकालसम्म आउँदा एफएनसीसीआईको डिफ्याक्टो प्रेसिडेन्टका रुपमा चण्डीराज ढकाललाई लिने गरिन्छ । भनिन्छ महासंघमा चण्डीराज ढकालको यो दबदवा कायम रहेसम्म कुनै अध्यक्षको केही चल्दैन । तपाईंलाई डाइनामिक अध्यक्षको रुपमा प्रस्तुत गरिँदै आइएको छ । के शेखर गोल्छासँग चण्डीराज ढकालको अनुचित प्रभाव र दबाबमा लगाम लगाउने डाइनामिजम छ ?

मेरो दृढ मान्यता के हो भने, उद्योग वाणिज्य महासंघको नेतृत्व चुनाव जितेर मत पाएर आएकाहरुले मात्र गर्नुपर्छ । जब नेतृत्वमा चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खाज्छन्,संस्था कमजोर भएर जान्छ । मेरो दृढ भावना के छ भने आउने समयमा जो साधारण सभाबाट मत लिएर यो संस्थाको नेतृत्वमा आउँछन्, उनीहरूले मात्रै, बाहिरको कुनै इन्फ्ल्युएन्सबिना आफ्नो काम अगाडि बढाउनुपर्छ । यसरी नै महासंघको छबि अगाडि बढाउनुपर्छ । निजी क्षेत्रको सेवा गर्नुपर्छ भन्नेमा म विश्वस्त छु । जब–जब मनोनीत व्यक्तित्वहरू आएर अनावश्यक रूपमा महासंघको काममा हस्तक्षेप गर्नुहुन्छ भने यो संस्थाको गरिमाका लागि कहिल्यै पनि राम्रो हुन सक्दैन ।

अध्यक्ष चयन भइसक्नु भएको छ तर तपाईंको पनि टिम देखिएको छ । गुटको खेलमा सुरुमै तपाईं लागिसक्नु भएको छ भन्दा हामी सही कि गलत ? यही पारामा कसरी पार लाग्ला नेपालका उद्यमी व्यवसायीका मुख्य समस्या, कसरी उँभो लाग्ला महासंघ ?

अब कस्तो छ भने म वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने भएपछि कुनै पनि पक्षमा लाग्नु आवश्यक थिएन र अहिलेसम्म प्रत्यक्ष रूपमा कुनै पनि पक्ष लिएको छैन । हो, केही विकृतिहरू महासंघमा छन्, जसले खुल्ला रूपमा यस्ता विषयको चर्चा परिर्चाा गर्दै गराउँदै हिँडेका छन् । ६ महिना भित्रमा मलाई अविश्वासको प्रस्ताव ल्याएर अध्यक्षबाट हटाउँछु सम्म भन्नेहरु छन् । यो सुन्दै गर्दा म बाध्य भएको छु कि अलि–अलि भए पनि आफ्नो टिमका लागि काम गरौं । यो सबै विकृतिको कारणले नै मलाई यो स्थितिमा ल्याएको हो ।

महासंघको सचिवालय र संगठनात्मक संरचनामा आफ्नै किसिमका क्रोनिक समस्याहरू छन् । त्यसको समाधान नगरी कुनै अध्यक्ष सफल हुँदैन भनियो भने सही वा गलत ? र, यसको क्षमता अभिवृद्धिका लागि के योजनाहरु छन् ?

मेरो दृष्टिकोणमा उद्योग वाणिज्य महासंघमा कार्यरत जति पनि व्यक्तित्वहरू हुनुहन्छ उहाँहरू सबैसँग काम गर्ने मौका पाएको छु । मलाई लाग्छ उहाँहरू एकदमै सक्षम र आफ्नो क्षेत्रमा जानकार मान्छेहरूले उद्योग वाणिज्य महासंघको सचिवालय चलाइरहनु भएको छ । केही कमजोरी हाम्रो पनि होला वहाँहरुलाई हामीले मोटिभेट गर्न सकेनांै । किनभने हामीले महासंघमा अनावश्यक राजनीति छिराएका छौं । अब यो राजनीति हटाएर एउटा व्यवसायिक वातावरण बनाउन सक्यौं भने यही सचिवालयले राम्ररी कार्यसम्पादन गर्न सक्छ भन्ने मलाई विश्वास छ । किनभने वहाँहरु आफैंमा सक्षम हुनुहुन्छ । अर्को, केही नियमावलिमा परिवर्तन गर्नुपर्छ होला, केही अनुशासनका नियमहरू लिएर आउनुपर्छ । मुख्य कुरा एउटा व्यवसायिक वातावरण निर्माण गर्न सक्यो भने यो टिमले डेलिभर गर्न सक्छ । यो टिम एकदमै राम्रो छ ।

अन्त्यमा आजको दिनमा सबै नेपाल उद्योग महावाणिज्य महासंघका सरोकारवलाहरुसँग के भन्न चाहनुहुन्छ ?

म के भन्न चाहन्छु भने एउटा चुनौतीपूर्ण समय छ । अहिले हामीले काम गरेर देखाउने सुवर्ण समय पाएका छौं । मैले धेरै योजनाहरू पनि बनाएको छु । यसलाई हामीले आफूमा रहेका असहमति र राजनीतिलाई छाडेर हामी एउटै टेबलमा बसेर काम गर्न जरुरी छ । अब हामीले काम गरेर देखाउन सकेनौं भने इतिहासले हामीलाई माफ गर्दैन भन्ने कुरा म सबैलाई सन्देश दिन चाहन्छु ।

लोकपथ : महासंघको आगामी कार्यकालको नेतृत्वका लागि यहाँलाई शुभकामना
शेखर गोल्छा : धन्यवाद ।।

प्रतिक्रिया दिनुहोस