२०७७, ६ श्रावण मंगलवार ११:१८

लालचा लिएर महासंघमा कोही पनि आउनु हुँदैन : उमेशलाल श्रेष्ठ (अन्तर्वार्ता)


प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलवार ११:१८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा हाल वस्तुगत तर्फ उपाध्यक्ष रहेका उमेशलाल श्रेष्ठ फेरी सोही पदलाई दोहोर्याउने अभियानमा छन् । पारिवारिक पृष्ठभूमी राजनिती रहे पनि श्रेष्ठ भने व्यवापार व्यवसायको क्षेत्रमा सक्रिय छन् । महासंघको अनुभवलाई अझै तिखार्ने सोचका साथ अहिलेको पदलाई नै निरन्तरता दिन लागेका श्रेष्ठ राजनितिज्ञ पुष्पलाल श्रेष्ठ तथा साहना प्रधानका छोरा हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल टीमबाट वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठसँग गरिएको संवादको सम्पादित अंश ।

तपाईं यसअघि पनि वस्तुगतको तर्फबाट एफएनसीसीआईको उपाध्यक्ष भइसकेको व्यक्ति फेरि यसपालि पनि सोही पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ? किन ?

किनभने यो मेरो अधिकारको कुरा हो । मेरा साथीहरुको इच्छा पनि हो । त्योभन्दा नि ठूलो कुरा के छ भने म एउटा उद्देश्य लिएर उद्योग वाणिज्य महासंघमा छिरेको हो । एउटा, ६/८ वर्षदेखि निजी क्षेत्रलाई सरकारले खासै वास्ता नगरेको अवस्थामा हामीले प्रोफेसनल टिमलाई अगाडि लानुपर्छ । भनसुनका भरमा लिडरसिपमा लान हुन्न भन्ने हो । म पनि ग्रास रुटदेखि आएको हो । मेरो संस्थामा पनि म सदस्यदेखि ग्रासरुटबाट नै आएको हुँ । यहाँ पनि दुई/तीन पटक सदस्य भएर अहिले यहाँ छु, र म यही रोकिन्न म नेतृत्वको अर्को तहमा पुग्छु । भन्छन् नि भेल आएको बेलामा पानीमा हाम नफाल्नु भन्छन् । अहिले भेल आइरहेको छ जस्तो लाग्छ मलाई । दुई जना त यसै पनि हुनुहुन्छ । तेस्रो व्यक्ति किन चाहियो ? होइन ? मैले गर्दा राम्रो व्यक्ति केही गरी हार्याे भने अन्याय नै हुन्छ । मैले राम्रो व्यक्ति भनेर चन्द्र ढकालजीलाई मानेको हो । किनभने उहाँ एउटा मृदभाषी त हुनुहुन्छ नै उहाँ त्यति मात्र नभएर २०/२२ वर्षमा जुन उहाँले यो क्षेत्र, हाम्रो कर्पोरेट क्षेत्रमा जुन प्रकारको आफ्नो स्टाटस बनाउनुभयो । त्यो अनूकरणीय छ । त्यसले गर्दा मलाई के लाग्छ भने उहाँ सक्षम र सही उम्मेदवार एफएनसीसीआईका लागि उहाँ उमेर र अरु कुरामा पनि म भन्दा जुनियर हो तर पनि मैले ठीकै छ । उहाँ प्रोफेसन व्यक्ति हो । दुई/तीन वर्ष कुरेर केही पनि फरक पर्दैन भन्ने कुरा राखे र साथीहरुले पनि यसरी नै जाँदा राम्रो होला महासंघ छोड्न हुन्न भन्ने धेरैले सल्लाह दिएकाले त्यस अर्थमा म यहाँ छु ।

मैले वस्तुगतमा किन भनेर प्राविधिक कारणले सोधेको थिएँ । एफएनसीसीआई कमजोर हुँदै जाँदा पनि सबैभन्दा कमजोर वस्तुगत नै छ । एफएनसीसीआईले वस्तुगतको विषयहरु राम्रोसँग उठाउन पनि सकेन् । त्यसले गर्दा फेडेरेसनहरु यहीभित्र बन्यो, पहिला के–के कमजोरीहरु भए ?

यस्तो पनि होइन, तपाईंहरुले बाहिर बसेर हेर्दा भनेको जस्तो अवस्था पनि होइन, महासंघको सञ्जालभित्र थुप्रै महासंघहरु छन् । तिनीहरुको झण्डै महासंघको जस्तै सञ्जाल छ । महासंघ भनेको यस्तो संस्था हो, यो महासागर नै हो । जहाँ जस्ता खालका माछा पनि बाँच्न सक्छन् । अहिले हामीसँग १०३ वटा संघ आबद्ध छन् । कतिपय संघलाई खासमा महासंघ नभए पनि हुन्छ, आफैंमा उहाँहरु सक्षम हुनुहुन्छ । तैपनि उहाँहरुले महासंघलाई मानेर बस्नुभएको छ । किनभने महासंघ यस्तो संस्था हो कसैको के लागेन भने महासंघमा ठोक्किन आउने हो । मेरो पनि आफ्नै संघ छ । जसले महासंघलाई कहिल्यै गुहार गर्न आउँदैन्, आफैँ सक्षम छ । कन्स्ट्रक्सन निर्माण कार्य संघ उहाँहरु आफंै सक्षम हुनुहुन्छ । महासंघलाई एकदमै कम गुहार गर्नुपर्छ सायद एक/दुइटा मुद्दामा होला महासंघमा गुहार गर्न गएको, हामीहरुसँगै भएकाले उहाँहरुको छलफलमा हामीहरुलाई बोलाउनुहुन्छ हामी गइदिन्छौँ । त्यसले गर्दा महासंघ कमजोर भएको भन्ने मानिसहरुले भनेका मात्र हुन् । खासमा भएको चाहिँ छैन । महासंघ जंगलमा हिजो एउटा मात्र सिंह थियो, महासंघै मात्रै । अहिले छैन ।

अहिले कोभिड–१९ ले संकट निम्त्याएको बेला नै हो, महासंघ नै किन चाहियो भन्ने, महासंघको औचित्य पुष्टि गर्ने ? कोभिडको कारण वस्तुगतमा जुन सेट ब्याकहरु छ, हरेक सेक्टरमा छ, विशेष गरी वस्तुगतमा भएको क्षतिलाई उकास्न तपाईं निर्वाचित हुनुभयो भने विशेष योजनाहरु के छन् ?

हेर्नुस्, अब सरकारको योजना र हाम्रो योजनालाई ह्यान्डल गर्नुपर्छ भन्ने मलाई लाग्छ । सरकारले आफ्नो आर्थिक नीतिमा त खासै केही ल्याएन् तर मौद्रिक नीतिले धेरै हदसम्म करेक्सन गरेको छ । सरकारले ७.५ को ग्रोथ होला भनेर प्रक्षेपण गरेको छ । भए त राम्रै हो । सरकारले ल्याएको ग्रोथ अनुसार हुने आधारहरु देखिएको छैन भन्दा सरकारको विरुद्ध कुरा गरे जस्तो होला । अब पर्यटन क्षेत्र त लड्यो अब दशैंसम्म राम राम केही पनि हुँदैन । अब आन्तरिक पर्यटन जति आउँछ त्यतिसम्मले धान्न सकिएँला ।

हाम्रा नेपाली कम्पनीहरुले विदेशमा लानेलाई लोकल गर्ला तर त्यसले कति धान्छ, त्यो ठीकै छ । एउटा छिटो रिकभरी गर्ने ठाउँ के छभन्दा सेवा क्षेत्र हो । त्यसमा पनि विशेष गरेर आईटी हो । किनभन्दा आईटीसँगै आज हामीसँगै छौं, वर्क फरम होम सुरु भयो । हुनतः विदेशमा धेरै अगाडिदेखि सुरु भएको थियो । आईटी सबैभन्दा मुख्य क्षेत्र हो जहाँ हामी धेरै कुरा गर्न सक्छौं । अहिले जुन ई–बिजनेस जसरी विस्तार भएको छ । सरभाइव होला, नहोला आफ्नो ठाउँमा छँदैछ । तर, हाम्रा युवाहरुले बानी लाइसके, आफ्ना सामानहरु इन्टरनेटमार्फत अर्डर गर्ने भइसके, हाम्रो पनि हुन्छ, मेरै घरमा पनि बच्चाहरुले विभिन्न माण्डुबाट अनेका प्रकारका फुड ल्याउँछन् । त्यसैले यो एक क्षेत्र हो । त्यस्तै जलविद्युत्, ऊर्जा क्षेत्रमा पनि अहिले देखिन्छ । मौद्रिक नीतिले पनि यसलाई राम्रै गरेको छ । तर, नेपालमा डरलाग्दो कुरा भनेको कार्यान्वयनको हो । आज निर्णय भयो भने त्यसको ६ महिनासम्म पत्र काटिदैन, त्यो भयो भने के हुन्छ ? त्यो सोचनीय कुरा छ । हामीले ऊर्जा बिक्री गर्न सक्यौं भने हामी अर्को वर्षसम्म सेफ ल्यान्डमा आउन सक्छौं, हामी अहिले ऊर्जा आयात गरिरहेका छौँ भने अब ऊर्जा निर्यात गर्ने अवस्थामा पुग्न सक्छौं । यो चाहिँ सबैभन्दा ठूलो अवसर हो । अब हाम्रो जस्तो रेमिट्यान्सले बाँचेको देश, हामी ९ खर्ब बराबरको रेमिट्यान्स बाहिरबाट भित्र्याउँछांै, भारतमा मात्र ४ खर्ब जान्छ यसलाई हामीले व्यवस्थापन गर्न सक्नुपर्छ । के सरकार र हामी मिलेर लोकल पलम्बर बनाउन सक्दैनांै ? सीटीईभीटीले पलम्बर त बनाउँछ तर उनीहरु खाडीमुलुक पुग्छन्, सरकारले यी कुराहरुमा सुधार गर्नुपर्छ । मैले पनि वैदेशिक रोजगारका साथीहरुलाई भन्ने गर्छु, अब तपाईंहरुले वैदेशिक रोजगार नभन्नुस् वैदेशिक तथा स्वदेशी रोजगार भन्नुस् । हामीले ५० हजार मात्र हजाम उत्पादन गर्ने बारेमा काम गरिरहेका छौं ।

यस विषयमा श्रम तथा रोजगार मन्त्रालयसँग हाम्रो सम्झौता भइसकेको छ । अब साउनको दोस्रो–तेस्रो साताबाट यो कार्यक्रम सुरु हुन्छ होला । सबभन्दा ठूलो क्षेत्र कृषि हो ण्। जहाँ कि प्रतिफल दुईदेखि तीन महिनामा आउँछ । अहिले मौद्रिक नीतिले बाँझो जग्गामा पनि कर्जाको व्यवस्था गर्ने जुन कुरा भनेको छ । हामी कृषि प्रधान देश भनेर बाँचिरहेका छौं, झण्डै दुई/तीन खर्बको कृषि वस्तु आयात गर्ने अवस्थामा छौं । यसले सरकारले कृषि क्षेत्रमा तुरुन्तै ध्यान दिनुपर्छ । यसो नगरेसम्म यो वर्ष सरकारले सोचेजस्तो आर्थिक ग्रोथ आउँला जस्तो लाग्दैन । हामी महासंघमा गएर गर्ने कुरा यही हो र गरिसकेका छौं ।

यति कुरा गर्दै रहँदा हामीले विगत २० वर्षदेखि हामी यही कुराहरु गरिरहेका छौं, त्यही जिंकअक्साइड र पाम आयल अनि डिउटी ड्र ब्याक जस्ता फितला र अल्पकालीन फाइदका मुद्दामा महासंघ जस्तो संस्था अल्झिरहेको देखिन्छ, यस्तो कहिलेसम्म ? नेतृत्वमा राम्रो मान्छे हुनुपर्यो भनेको कारण यही नै हो । तर, नेतृत्वमा तपाईंहरु नै हुनुहुन्छ लामो समयदेखि र तपाईंहरुले नै अब कसरी परिवर्तन ल्याउनुहुन्छ ?

टिम भनेको यस्तो हो, हामी नेकपा पनि होइनौं, नेपाली कांग्रेस पनि होइनौ, चुनावको एक डेढ महिना अघिसम्म अलिअलि घोचपेच हुन्छ, चुनाव सकिएपछि एकै टिम हो, फेरि अर्को चुनावमा मन मिल्ने साथीहरु मिल्छौं अनि टिम बन्छ । अहिले पनि त्यही हो, साउन २७ गतेपछि हामीसँगै एउटै टिम हो, सँगै एउटै टेबलमा बसेर खान्छौं, अहिले पनि नखाने होइन सँगै बसेर खान्छौं । तर, कुरा को भन्यो हामी नीतिगत विषयमा नलागी व्यक्तिगत विषयमा लागेको छौं । मैले हामीभन्दा सबैलाई भनेको उद्योग वाणिज्य महासंघ भनेको हो । मचाँहि एकदम शुद्ध दूधले नुहाएको मान्छे, अरु सबै बदमास भन्न खोजेको होइन, हामी भन्नाले महासंघ हो । २० वर्ष भन्नुभयो, त्यतिबेला त अवस्था अर्कै थियो, अहिले ६÷७ वर्षयता अलिकति केही सुधार हुन खोजेको छ । यसैलाई सुधारका लागि हामी आएका हौं । अर्को कुरा म साधुसन्त नै चिम्टा काँटा बोकेर आओस् त भन्दिन तर लालचा भएका व्यक्तिहरु आउनु भएन । मलाई लाग्छ चन्द्र ढकालजीलाई पुगिसकेको छ । अझै कमाउने सायद त्यति धेरै इच्छा छैन होला, मेरो त छँदै छैन । म आफ्नो ४० वर्ष अगाडिको आर्थिक अवस्था हेर्छु अहिले हजार गुणा फरक छ ।

चुनावमा त जित्छु भनेर नै उठिन्छ, यो चुनावमा तपाईंको इक्वेसन र तयारी कस्तो छ ? प्रतिस्पर्धीको अवस्था पनि हेर्नुपर्यो, प्रतिस्पर्धीले पनि आफू विनिङ पोजिसनमा भन्दै गरेको अवस्था छ ? वस्तुगतमा त कडा प्रतिस्पर्धा हुँदैछ होइन त ?

अब म कति बलियो छु भनेर मिडियामा भन्दिन्, भन्नेलाई भन्न दिने हो, मैले पनि सुने, अब केभन्दा म तपाईंलाई एउटै कुरा भन्छु, म राम्रो समयको पर्खाइमा छु ।

यो एफएनसीसीआईको चुनाव कसरी जितिन्छ ? प्रोक्सीले जितिन्छ कि व्यक्तिगत रुपमा हालेको भोटले जितिन्छ ?
मेरोमा त व्यक्तिगत नै हो, यहाँ प्रोक्सीले काम गर्दैन, वस्तुगतमा व्यक्तिगत नै हो ।

तर, खेल त यहाँबाट सुरु हुन्छ, एफएनसीसीआईको खराब पक्ष यहाँबाटै सुरु हुन्छ नि ?

जिल्लामा प्रोक्सी नहुने हो, वस्तुगतमा व्यक्तिगत गणना नै हुने हो, एसोसिएटमा हुनतः विधानमा प्रोक्सी दिन पाइँदैन भन्ने लेखेको छ । १२/१३ वर्षदेखि म पनि यसको विरुद्ध लागेको छु, त्यो रोक्न एक न एक जनाले आँट गर्नुपर्छ । एउटा व्यक्तिले ५० वटा माला भिरेर आउँछ, योचाहिँ रोक्नुपर्छ ।

यो कसले करेक्सन गर्छ ? यो ठूलो समस्या हो ?

एउटा अलिकति आँट भएको मान्छे आयो भने यो गर्न सक्छ, यो विधानमै व्यवस्था छ भने दायाँबायाँ हेर्नुपर्दैन ।

तपाईंहरुले आँट गर्नुहुन्छ ? तपाईंहरुको नेतृत्व आउँछ भनेर ? अवश्य पनि । यसमा हाम्रो पनि शुभकामना छ, र तपाईंले चुनाव जितेपछि गर्ने कामहरु के–के छन् ? एक, दुई र तीनमा बताउन सक्नुहुन्छ ?

सबैभन्दा पहिले त एकदिन मज्जाले सुत्छु, (हा हा हा हा हा लामो हाँसो ।)

त्यस पछि मैले अघि नै भने नि तीन/चारवटा क्षेत्र छन्, उत्पादन मुलुक क्षेत्र, कृषि क्षेत्र, सेवा क्षेत्र, उद्योग क्षेत्र र पर्यटन क्षेत्र । पर्यटन क्षेत्रलाई अहिले सहयोग गर्ने बाहेक अरु केही गर्न सकिँदैन । त्यो भनेको आन्तरिक पर्यटन हो । सेवा क्षेत्र जसको प्रशस्त सम्भावना छ, उद्योग क्षेत्रमा पनि अहिले ठीकै छ, मौद्रिक नीतिले थुप्रै सुविधाहरु दिएको छ । हामीलाई प्राप्त हुने पैसा सजिलै प्राप्त होला । सायद ब्याजदर पनि घट्दै जाँदा राम्रै होला, हामी जाने भनेको कृषिमै हो, कृषिमा नजाने हो र रेमिट्यान्स नियन्त्रण हुनुपर्छ । आउनेमा सुधार गर्ने र बाहिरिनेमा कम गर्ने । हामी जस्तो देशले भारतमा ४ खर्ब रेमिट्यान्स पठाउँदा रहेछांै । भारतमा धेरै रेमिट्यान्स पठाउने देशहरुमा हामी सातौं हौं । त्यसलाई हामीले नियन्त्रण गर्नुपर्छ । तपाईं धनी कसरी हुनसक्नु हुन्छ खर्च नियन्त्रण गरेर नि धनी हुन सकिन्छ । खर्च कम गर्ने हो धनी हुने हो ।

एफएनसीसीआईको संरचना र सचिवालयको सुधारका लागि के पहल गर्नुहुन्छ ?

सचिवालयलाई त बलियो बनाउनै पर्छ, यसपालि अवश्य नै हुन्छ, मलाई के विश्वास छ भने शेखरजी अध्यक्ष चयन भइसक्नु भएको छ । उहाँ आफैं पनि सफल व्यक्तित्व हुनुहुन्छ । चन्द्रजी हुनुहुन्छ, म छु अरु साथीहरु हुनुहुन्छ । त्यसले गर्दा त्यहाँ केही नै परिवर्तन आउँछ । मुख्य परिवर्तन आउन त हामीले मात्र गरेर हुँदैन । विधानका कतिपय बुँदाहरु छन् हामीले बसेर छलफल गर्नुपर्ने हुन्छ । विधान संशोधन गर्नुपर्ने हुन्छ, त्यो नगरी हुँदैन् । बाँकी संरचनात्मक सुधार, थिंक ट्यांक बनाउने यसमा हामीले हुने वाला अध्यक्षलाई साथ दिन्छौं, देखिँदा अर्को टिम देखिएला, प्रतिस्पर्धी जस्तो देखिएला तर कसैले पनि केही नराम्रो नमाने हुन्छ । हामी जितेर गएपछि व्यक्तिको पछाडि लाग्दैनौं, महासंघको पछाडि लाग्ने हो । महासंघलाई जसले भलो गर्छ उसको पछि लाग्ने हो, राम्रोलाई राम्रो भन्ने हो, नराम्रोलाई नराम्रो । रातलाई रात र दिनलाई दिन भन्ने हो । त्योभन्दा बढी अन्टसन्ट कुरा गरिँदैन, चुनावमा भएका पक्ष विपक्षका कुराहरुलाई अगाडि बढाइँदैन यसमा मेरो एकदमै स्पष्ट धारणा छ ।।

यो पनि

उद्योग वाणिज्य महासंघमा महादंगल, कसको पल्ला भारी ?

चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खोजे महासंघको शाख कमजोर हुन्छः शेखर गोल्छा (अन्तर्वार्ता)

पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु: किशोर प्रधान (अन्तर्वार्ता)

चन्द्र ढकाल टिमका प्रत्यासीहरु भन्छन् – ‘बोलेर हैन गरेर देखाउँछौँ’

प्रतिक्रिया दिनुहोस