यस्ता छन् आज बसेको मन्त्रीषरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले संविधान संशोधनका लागि संघीय संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको हो । अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन गर्ने निर्णय भएको सरकरका प्रवक्ता डा. युवराज खतिवडाले बताए । अर्थ/सञ्चारमन्त्री समेत रहेका प्रवक्ता डा. खतिवडाले अनुसूची ३ र निशान छापलाई परिमार्जन गर्न मात्रै संविधान संशोधनको प्रस्ताव पेश हुने बताए । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधनको आवश्यकता परेको हो ।

नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधानका लागि सरकारले वार्ताको प्रयास गरिरहको उनले बताए । कुटनीतिक माध्यमबाट वार्ता गरी समस्या समाधान हुनेमा सरकार आशावादी रहेको उनले बताए । उनले भने, ‘‘अन्तर्राष्ट्रियकरण गर्ने अवस्था सोचेका छैनौँ । हामीसँग भएका तथ्य, प्रमाणहरुका आधारमा छिमेकीहरुसँग वार्ता गरेर समस्या समाधान गर्ने प्रयास हुन्छ । त्यसपछि मात्रै के गर्ने भन्ने कुरा हुन्छ ।’’

शुक्रबार नै मन्त्रिपरिषद्ले मुस्लिम धर्मावलम्बिहरुको पर्व इदुल फित्रमा सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय पनि गरेको छ । मुस्लिम धर्मगुरुहरुको सल्लाह अनुसार विदाको दिन तोकिने उनले बताए ।

साथै सरकारले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि (पहिलो संशोधन) अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस अघि

मन्त्रीपरिषद् बैठक सकियो, संविधान संशोधनका विषयमा के भयो निर्णय ?

मन्त्रीपरिषद् बैठक शुरु, संविधान संशोधनबारे छलफल हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?