कोरोना जोखिम बढेसँगै चन्द्रागिरी नगरपालिका सील

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका सील गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले नगरपालिकाले सील गर्ने निर्णय गरेको हो ।

सुरक्षा अधिकारी तथा नगरपालिकामा जनप्रतिनिधिहरुको संयुक्त बैठकले नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका अन्तर्गत पर्ने कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी साधन चल्न बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

हिजो मात्र त्यहाँ ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै गत बैशाख ३० गते ३३ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो ।
त्यससँगै जोखिम थप नहोस भन्नका लागि सील गरिएको नगरपालिकाले जनाएको छ ।

हालसम्म नेपालमा २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । आज (शुक्रवार) मात्र थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै नेपालका २४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ३६ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?