भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हुँदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना घरघरमा गएका फेरि काठमाडौँ उपत्यका फर्कन थालेपछि भक्तपुर नाकामा अत्यावश्यकबाहेकका सवारी साधन प्रवेशमा निषेध गरिएको हो ।
पूर्वी र तराईका जिल्लामा कोरोना सङ्क्रमतिको सङ्ख्या बढेपछि अरनिको राजमार्ग, बिपी राजमार्ग, सिन्धुली बर्दिबास भएर काठमाडौँ फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएपछि भक्तपुरको विभिन्न नाका भएर प्रवेश गर्ने सवारीसाधनमा रोक लगाइएको हो ।
पूर्वबाट आउने सवारी पास भएका साधनलाई समेत जगाती नाका र ताथली नाकाबाट फर्काउने गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। अस्पतालका गाडी, कर्मचारी, तरकारी, दूध, खाद्यान्न, सरकारले तोकेका सरकारी कर्मचारीबाहेकका सबैको सवारीसाधनमा रोक लगाएको हो ।
निजी तथा साना गाडीमा यात्रु बोकेर आउने, बिरामी भनेर छदेखि १० जनासम्म आउने गरेपछि मङ्गलवारदेखि त्यस्ता गाडीलाई भक्तपुर र काभ्रेको नाका साँगाबाटै फर्काउने गरेको र त्यहाँबाट आए पनि जगाती चेक पोष्टबाट फर्काउने गरेको उहाँको भनाइ छ । कतिपय सवारीसाधन काभ्रेको बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह भएर उपत्यका भित्रिने भएकाले त्यस्ता सवारीसाधनलाई ताथलीबाट आउने नाकाको चेक पोष्टबाट फर्काउने गरिएको उनको भनाइ छ ।
यो नाका भएर यसअघि दैनिक १०० देखि २०० वटासम्म गाडीमा उपत्यका छाडेर जाने भित्रिएपछि यो नाकामा कडाइ गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले खाद्यान्न, पानी र एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधनबाहेक अरु साधनलाई नाकाबाट फर्काउने गरेको बताए ।
उनले भने, “विभिन्न जिल्लाबाट ई–पास बनाएर उपत्यकामा यात्रु बोकेर आउने सवारीसाधनको सङ्ख्या बढ्यो, विभिन्न बाहना बनाउँदै त्यस्ता सवारीसाधन आउन थालेपछि त्यसलाई रोकेर नाकाबाटै फर्काउन थालेका छौँ, पास भएकालाई पनि प्रवेश दिँदैनौँ ।”
अब कुनै पनि निजी तथा सार्वजनिक यातायातका साधनलाई भक्तपुर नाका भएर उपत्यका प्रवेश गर्न नदिने भएकाले यो नाका भएर नआउन प्रहरीले सार्वजनिकरुपमा नै अपिल गरेको छ । ठूला विकास निर्माण आयोजनाको काम अगाडि बढाउने भएकाले त्यस्ता आयोजनाका लागि निर्माण सामग्री बोकेका पास भएका ढुवानीका साधनलाई भने रात्रीको समयमा प्रवेश दिईने भएको छ । जगाती नाका भएर उपत्यका पस्नेको जगाती नाकामा तापक्रम (ज्वरो) मापन र व्यक्तिगत विवरण संकलन कार्य पनि एकसाता अघिदेखि जारी छ ।
काभ्रेको नाका हुँदै ग्रामीण क्षेत्रका कच्ची बाटो हुँदै लुकेर उपत्यका छिर्नेलाई समेत विभिन्न प्रहरी पोष्टबाट रोक्न प्रहरी परिचालन गरिने भएको छ । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अरु सवारीसाधनलाई जुनसुकै नाकाबाट प्रवेश गरे पनि रोक्न सबै नगरपालिकामा रहेका प्रहरी प्रभागलाई समेत सर्कुलेशसन जारी गरिएको प्रहरीको भनाइ छ ।
अनावश्यक रुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत बढ्न थालेसँगै काठमाडौँ उपत्यकामा यात्रु बोकेर बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यकामा प्रवेश गर्ने गाडी रोक्न प्रहरी सक्रिय भएको हो । रासस
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस : के हर्टअट्याक हुने मान्छे हो म ?
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया