पूरै देश लकडाउनको निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो ।

अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए ।

नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी लकडाउनको निर्णय गरिएको खतिवडाले बताए ।
जसअनुसार औषधि उपचार र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरिएको छ भने अनुमतिप्राप्त सवारी साधन, सुरक्षा निकायबाहेक सबैप्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै आन्तरिक व्यवसायिक उडानमा पनि रोक लगाइएको छ भने अतिआवश्यक पर्ने सरकारी कार्यालयका कर्मचारीबाहेक अन्यलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?