ग्यासको अभावले उपभोक्ता मारमा, लुकाएको थाहा पाए ११३७ मा फोन गर्नुस् !

काठमाडौं । २ महिना पूरा भयो काठमाडौंस्थित पुरानो बानेश्वर निवासी त्रिपुरा बस्नेत, ३२, ले ग्यास पसलमा आफ्नो नाम टिपाएको । तर, अफसोच ग्यास पाएकी छैनन् ।

विगत ७ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी उनी ग्यास आयो कि भन्दै लगभग दिनहुँजसो पसल धाउँछिन् । पसले आश्वासन दिन्छन्, ‘ग्यास आएकै छैन, आएपछि पक्का शुरुमा तपाईलाई नै बोलाउँछु’ ।

‘अस्ती एकचोटी त गाडीबाट ग्यास झार्दाझार्दै २० जना जति गुरुरु आएर बाटैबाट लगे रे,’ त्रिपुरा गुनासो पोख्छिन्, ‘म पनि ग्याँस लिनै गएको थिएँ तर, म पुग्दा सकिएछ ।’

त्रिपुराको परिवारमा ३ जना छन् : उनी, श्रीमान र छोरी । कोठा भाडामा बस्ने भएकाले उनीहरुसँग दाउरा बाल्ने विकल्प पनि छैन । त्यसैले, ग्यास नभइ उनको चुलो बल्दैन ।

काठमाडौंमा कोठा भाडा बस्ने अधिकांशको नियति यही भएको छ अहिले । कोरोना भाइरसको सन्त्रासले बजारमा ग्यास अभाव हुन थालेपछि अतालिएका छन् उपभोक्ता ।

त्यस्तै, सिनामंगलमा बस्दै आएकी कमला ओझा, ४५, लाई पनि ग्यास अभावले साह्रै पिरोलेको छ । घर सँगसँगै मेडिकल सम्हाल्ने जिम्मेवारी भएकाले उनी दैनिक पसल धाउन भ्याउँदिनन् । ‘हामीजस्तो कामकाजी महिलालाई झन् गाह्रो भएको छ, जहिले पसल जान पनि भ्याइँदैन,’ केही आक्रोश मिसिएको आवाजमा उनी बोल्छिन्, ‘अनि ग्यास आइपुग्नासाथ सबैले लगिहाल्दा रहेछन् ।’

त्रिपुरा र कमला प्रतिनिधि पात्र हुन् । अहिले काठमाडौंमा धेरैजना ग्यासको अभावसँग जुधिरहेका छन् । तर, के यो अभाव वास्तवमै भएको हो या सिर्जित गरिएको ? यस विषयमा बहस भइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन गरेरै ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव हुने कुनै सवालै नरहेको दाबी गरेतापनि उपभोक्ताले छुट्टै नियतिको सामना गर्नुपरेको छ ।

तस्वीर : गुगल

आयात बढी भइरहँदा पनि किन अभाव ?

जाडो महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुन्छ । विगत २ वर्षदेखि जाडो महिनामा ४० हजार टन ग्यासले नेपाली बजारको माग धान्दै आएको नेपाल आयल निगम प्रवक्ता विरेन्द्र गोइत बताउँछन् । तर, यस वर्ष फेब्रुअरी महिनामा मात्रै ४१ हजार टन ग्यास आयात भएको आयल निगमको तथ्याङ्कले देखाउँछ ।

मागभन्दा बढी ग्यास भित्रिँदा पनि बजारमा हाहाकार भएको हल्ला आइरहेकोमा चिन्ता व्यक्त गर्दै गोइत भन्छन्, ‘जनवरी महिनामा ३९ हजार १ सय २७ टन मात्रै ग्यास आउँदा त अभाव भएको थिएन भने यत्रो ४१ हजार टन आउँदा कसरी पुग्दैन ?’

यदि उनले भनेअनुसार हो भने बजारमा कृत्रिम अभाव सिर्जना भएको छ ।

ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाका अनुसार आपूर्तिमा कुनै समस्या नभएकाले बजारमा ग्यास अभाव नहुनुपर्ने हो । यस विषयमा उनी भन्छन्, ‘४–५ वटा ग्यास हुनेले हतारहतार सबै ग्यास भर्दैगर्दा एउटा मात्र सिलिन्डर हुने उपभोक्ता सास्तीमा पर्छन् त्यसैले उपभोक्ता आफै पनि सचेत हुन जरुरी छ ।’

फेरि यस्तो अवस्थालाई अवसर मान्ने व्यवसायीका कारण कालोबजारी र मूल्यवृद्धि पनि हुनसक्ने बताउँदै उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना भन्छन्, ‘व्यवसायीहरुले जानीजानी उत्पादन लुकाएर उपभोक्ताहरुलाई ठगेको हुनसक्छन् ताकि पछि त्यही वस्तु महंगो मूल्यमा बेच्न सकुन् ।’

नाकाबन्दीको झल्को दिने कोरोना भाइरसको त्रास

त्रिपुरा र कमला दुवैजनाका अनुसार यस्तो हाहाकार उनीहरुले पछिल्लो पटक भारतले नाकाबन्दी गर्दा मात्र झेलेका थिए ।

हुन पनि नाकाबन्दीका दौरान नेपालीहरुले पेट्रोलियम पदार्थसँगै खाद्य र उपभोग्य वस्तुहरुको समेत अभाव झेल्नुपरेको थियो । त्यसवेला नेपालमा पेट्रोलियम पदार्थ निर्यात गर्ने भारतको एकमात्र कम्पनी इन्डियन आयल कर्पोरेशनले मागको एक चौथाइ मात्र प्रदान गरेको थियो । जसकारण नेपाली बजारमा पेट्रोलियम पदार्थको भाउ अकाशिनुका साथै बजारमा कालोबजारी पनि बढेको थियो ।

तस्वीर : गुगल

घण्टौं लाइन लागेर पेट्रोल लिनुपरेको, दाउरा बालेर खाना पकाउनुपरेको बाध्यात्मक दृश्यहरुले अझै पनि सर्वसाधारणको मनोविज्ञानलाई तर्साइरहेको छ । जसकारण कतिपयले फेरि त्यही दृश्य दोहोरिने डरले खाद्यान्नदेखि उपभोग्य सामाग्री तथा ग्यासहरु ‘स्टक’मा राखिरहेका छन् । पहुँचमा हुनेले अहिलेदेखि सामान भण्डारन गर्न शुरु गरेकाले आवश्यकता परेका धेरैले अभाव झेल्नुपरेको ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष थापा बताउँछन् । भन्छन्, ‘सरकारले जनतालाई स्पष्ट बुझाउन सक्नुपर्छ कि नाकाबन्दी वा भूकम्प जस्तो आत्तिनुपर्ने अवस्था छैन भनेर ।’

उपभोक्ता अधिकारकर्मी तिमल्सिना पनि सरकारले सही तरिकाले बजार अनुगमन गर्न नसकेको र जनतालाई अभाव हुँदैन भनेर आश्वासन दिनबाट चुकेकै कारणले अहिले व्यापारीहरुले उपभोक्तामा फैलिएको सन्त्रासको फाइदा उठाइरहेको बताउँछन् ।

कालोबजारीविरुद्ध शून्य सहनशीलता !

यही फागुन २३ गते पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यासको आपूर्तिमा कुनै समस्या नभएकाले अभाव नहुने आश्वासन दिएका छन् । साथै उपभोक्ताहरुलाई पनि अभाव हुने त्रासमा आवश्यकता भन्दा बढी ग्यास भण्डारन नगर्न आग्रह गरेका छन् ।

मन्त्रालय, उपभोक्ता हित तथा अधिकार संरक्षणमा कार्यरत विभिन्न विभाग तथा निकायहरुले बारम्बार बजार अनुगमन गरिरहेकाले कालोबजारी वा मूल्य वृद्धि हुने समस्या पनि नआउने प्रतिवद्धता उनले जनाए ।

यदि कुनै व्यवसायीले कालोबजारी गरेको वा अत्याधिक मूल्यमा बिक्री गरेको देखिएमा कसूर अनुसारको सजाय दिने भन्दै यस्ता क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए ।

मन्त्री भट्टले कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिएको अवस्थामा ११३७ वा ९८५११४४१८९ सम्पर्क नम्बरमा फोन गरी जानकारी दिन आग्रह समेत गरेका छन् ।

यसअघि लोकपथमा प्रकाशित यी समाचार पढ्नुभएको थियो ?

भारतले औषधिको निर्यात रोकेपनि सरोकारवाला भन्छन् – डराउनुपर्दैन, नेपालसँग कति छ स्टक औषधि ?

कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)

कोरोना भाइरस अपडेट : मुकाविला गर्न नेपाल तयार छ ? (हालसम्मको विवरणसहित)

सडक बालिकाहरु यौन धन्दाको दलदलमा, उद्धारकर्तालाई भन्छन्, मरिदिन्छु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?