सडक बालिकाहरु यौन धन्दाको दलदलमा, उद्धारकर्तालाई भन्छन्, मरिदिन्छु !

‘सडकको स्वतन्त्रतामै बाँच्न चाहन्छन्’

काठमाडौं । भनिन्छ, चलचित्र समाजको ऐना हो । समाजका कथाहरु चलचित्रले बोल्छ, देखाउँछ । केही चलचित्रले सडकका कथा पनि बोलेका छन् । अधिकांश सडकका कथालाई समेटेर बनाइएका चलचित्रमा देखाइन्छ, सडक बालबालिकाहरु एउटा छुट्टै संगठनजस्तै गरी परिचालित भइरहेका हुन्छन् । उनीहरुभित्रै गुट, उपगुट हुन्छ । आफ्नो नियम उनीहरु आफै बनाउँछन् । बाहिरबाट हेर्दा मागेर गुजारा चलाउने उनीहरु भित्रभित्रै ड्रग्स लगायत २ नम्बरी वस्तुहरुको ओसारपसार गर्छन् ।

के वास्तविक सडक बालबालिकाहरु पनि यस्तो दलदलमा फसेका हुन्छन् त ?

राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम सहायक चित्र पौडेल भन्छन्, ‘किन नहुनु ? धेरैजसो सडक बालबालिकाहरु आफै पनि लागू पदार्थको कूलतमा फसेका हुन्छन् र ओसारपसारको काम पनि गर्ने गरेको हामीले पाएका छौं ।’

‘प्राय किशोरीहरु चाहिँ यौन धन्दामा लागेका हुन्छन्,’ उनी अगाडि थप्छन्, ‘बाध्यताले पनि होला मागेको पैसाले मात्र नपुगेर उनीहरु गलत बाटो रोज्छन् ।’

‘सडकमा स्वतन्त्र भएर सजिलैसँग धेरै पैसा कमाउने महत्वकांक्षाले गर्दा पनि उनीहरुले यसो गरेको हुनसक्छ, सत्य कुरा कहाँ भन्छन् र ?,’ पौडेल थप्छन् ।

उनका अनुसार लागू पदार्थ तथा यौन धन्दाजस्ता गलत बाटो पक्रिएपछि सजिलो तरिकाले पैसा कमाउन थाल्छन् उनीहरु । सडकमा पाइने स्वतन्त्रताले उनीहरुलाई त्यही जीवन जिउन झन् उक्साउँछ ।

कतिपय अवस्थामा उनीहरु एक आपसमै पनि शारीरिक सम्बन्ध कायम हुने र सडकमै बच्चा जन्माउने पनि हुने गरेको छ । पौडेलका अनुसार त्यस्ता धेरैजना छन् जसले आफू पनि सडकमै हुर्किएर, आफ्ना बालबच्चा पनि सडकमै जन्माएर हुर्काएका छन् ।

यही कराणले गर्दा सडक बालबालिकाको सङ्ख्या झन् बढ्दै गरेको बताउँदै उनी भन्छन्, ‘हामीले उद्धार गरेपछि पनि उनीहरु त्यही जीवनमा फर्किन खोज्छन् ।’

किन भाग्छन् सुधार गृहबाट ?

सडक बालबालिका उद्धार गर्न प्रत्यक्ष फिल्डमा खटिने पौडेलसँग थुप्रै नमीठा अनुभव छन् । ‘उनीहरु सडक छोड्नै चाहँदैनन्, सिरिन्जमा एड्स संक्रमितको रगत बोकेर त्यसैले हामीलाई हान्छु पनि भन्छन्,’ आफ्नै सुरक्षालाई रिस्कमा राख्दै फिल्डमा खटिँदाको अनुभव उनी यसरी सुनाउँछन्, ‘उद्धार गरेर ल्याइसकेपछि पनि भाग्छन् कतिजना ।’

उद्धार गरिएका बालबालिकाहरु सुधार गृहबाटै भागेका घटना पनि छन् ।

परिषद्का कार्यक्रम सहायक चित्र पौडेल यस विषयमा भन्छन्, ‘केही समय सम्पर्क गृह, सामाजिकीकरण केन्द्रमा बिताएपछि उनीहरुले सडक जीवन र संस्थाको जीवनलाई तुलना गर्छन् । आफू खुशी गर्ने बानी परेका उनीहरुलाई अनुशासित वातावरणमा बस्न पक्कै पनि सहज हुँदैन त्यसैले भागेर सडकमै जान्छन् ।’

‘उद्धार गरिएका बालिकाहरु जो यौन धन्दामा संलग्न थिए उनीहरु त झन् सोझै “संस्थामा बसेर के फाइदा बरु हामीले सडकमै हुँदा टन्न पैसा कमाइरहेका थियौं” समेत भन्छन्,’ उनीहरुको भनाइ उदृत गर्दै पौडेलले भने ।

उद्धार सङ्ख्या

आव २०७६ ७७ को शुरुवातदेखि माघ १५ सम्मको तथ्याङ्क अनुसार राष्ट्रिय बालअधिकार परिषद्ले सडकबाट जम्मा ३ सय ८३ जना बालबालिकाको उद्धार गरिसकेको छ ।

त्यस्तै आव २०७२ ७३ देखि २०७५ ७६ सम्मको तथ्याङ्कले जम्मा १ हजार ११ जना बालबालिकाको सडकबाट उद्धार गरिएको देखाउँछ जसमा ९०३ बालक छन् र १०८ बालिका ।

को हुन् सडक बालबालिका र किन पुग्छन् सडकसम्म ?

राष्ट्रिय बालअधिकार परिषद्ले सडक बालबालिकालाई चौबिसै घण्टा वा रातभर वा दिनभर अथवा दिनरातको केही समय जीवन निर्वाहका लागि सडकमा आश्रय लिएका निम्नानुसारका बालबालिका भन्दै परिभाषित गरेको छ :

अभिभावक र परिवारविहीन भइ सडकमा रहेका

परिवारसँग लामो समयदेखि सम्पर्कमा नरही पूर्णरुपमा सडकमा रहेका

परिवारसँग समय समयमा सम्पर्कमा रही सडकमा रहेका

परिवारसँगै सडकमा रहेका

विपद, द्वन्द्व लगायतका कारण वासस्थान छाडी वा हराएर वा बेवारिस भएर सडकमा नै जीवन निर्वाह गर्न बाध्य भएका

विभिन्न कारणले परिवारबाट परित्यक्त भइ सडकमा अलपत्र छाडिएका

विशेष परिस्थिति (पारिवारिक विखण्डन समेत) को कारण एक्लै वा साथीसँग आश्रय लिएका बालबालिका

बालबालिकाहरु बाध्यताले वा पारिवारिक तथा सामाजिक अवस्थाले गर्दा सडकमा पुग्ने राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकृत रामबहादुर चन्द बताउँछन् ।

‘प्राय गरिब परिवारका अनि घरमा राम्रो वातावरण नपाएका बालबालिकाहरु सडकसम्म पुगेको तथ्याङ्कले नै बताउँछ नि,’ चन्द भन्छन् ।

आव २०७२/७३ देखि २०७५,७६ को अन्त्यसम्ममा जम्मा १ हजार ११ जना बालबालिकालाई सडकबाट उद्धार गरियो । जसमध्ये ६ सय ९७ जनाको बाबुआमा दुवै जीवित रहेको, १ सय ११ जनाको बाबुआमा दुवै जीवित नरहेको, ७९ जनाको आमा जीवित नभएको र १ सय २४ जनाको बाबु जीवित नभएको तथ्याङ्क छ । यस तथ्याङ्कले पनि यही प्रष्ट्याउँछ कि बाबुआमा दुवैजना हुँदाहुँदै पनि घरको नाजुक आर्थिक स्थिति वा पारिवारिक तालमेल नमिल्नाले बालबालिकाहरु सडकमा आउन बाध्य हुन्छन् ।

यसका अतिरिक्त साथीभाइको लहैलहै तथा बढ्दो शहरीकरणले गाउँबाट बालबालिका शहरतिर आउने र सडक जीवनमै रमाउने चलन पनि बढ्दै गएको अधिकृत चन्दको भनाइ छ ।

‘गाउँबाट बल्लतल्ल शहर आएका बालबालिकाहरुलाई सडकको जीवनले लोभ्याउने रहेछ,’ उनी अगाडि थप्छन्, ‘आफ्नो मनखुसी गर्न पाउने, सजिलै पैसा कमाउने भएकाले उनीहरु घर फर्किनै चाहँदैनन् ।’

उद्धार गरेपछि कहाँ लगिन्छ ?

सडकबाट उद्धार गरिएका बालबालिका कहाँ राखिन्छन् ? उनीहरुको पुनस्र्थापनाका निमित्त केकस्ता कदम चालिन्छ ? गाँस, बास, कपासको जिम्मेवारी कसले लिन्छ ? यी स्वभाविक प्रश्न हुन् ।

उद्धार गरिएका बालबालिकाहरुलाई सकेसम्म पारिवारिक पुनर्मिलन गराउनु राष्ट्रिय बालअधिकार परिषद्को प्राथमिकता भएको बताउँछन् रामबहादुर चन्द ।
‘शुरुमा उनीहरुको स्थितिको अध्ययन गरी ३ महिनासम्म परामर्श दिएर सम्पर्क गृहमा राखिन्छ,’ चन्द अगाडि थप्छन्, ‘त्यसवेला पनि पुनर्मिलन गराउनलाई प्रक्रिया बढिरहेको हुन्छ ।’

त्यतिन्जेल परिवारको बारेमा पत्ता लागेन भने १८ महिनासम्म सामाजिकीकरण केन्द्रमा राखेर अनौपचारिक शिक्षा र तालिम प्रदान गर्ने र परिवार, वैकल्पिक परिवार वा संस्थागत पुनस्र्थापनाका लागि तयार गर्ने बताए उनले ।

‘अन्तिममा, परिवार भेटिएकाहरुलाई र जान चाहनेहरुलाई परिवारसँगै भेट गराइदिने र परिवार नभएकाहरुलाई अन्य सामाजिक संस्था वा वैकल्पिक परिवारको जिम्मा लगाइदिन्छौं,’ चन्द भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?