एमसीसी इन्डो–प्यासिफिक रणनीति नभएको नेकपाको दावी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले संयुक्त राज्य अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व बनाइराख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको बताएको छ ।

यसैक्रममा अमेरिकाले हिन्द महासागर वरिपरिका शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र अमजोर पार्ने सैन्य रणनीतिका रुपमा इन्डो प्यासिफिक रणनीति अघि बढाइरहेको नेकपाको केन्द्रीय समितिमा पेश भएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा नेकपा र नेकपा नेतृत्वको सरकार कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट पारेको छ । नेकपाले राजनीतिक प्रतिवेदनमार्फत एमसीसी इन्डो–प्यासिफिक रणनीति नभएको दावी गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘यदि सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारको कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्दैन ।’

तर नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी अमेरिका लगायत संसारका सबै देशहरुसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न भने नेपाल सँधै तत्पर रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘चीन र भारतका बीचमा हुनुको नाताले देशको समग्र राष्ट्रिय हितलाई केन्द्रबिन्दुरमा राखेर दुबैसँग असल छिमेकी सम्बन्ध कायम राख्दै स्वतन्त्र एवम् आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निमित्त सकारात्मक पहल बढाउनु, दुबै छिमेकीको तीव्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कूटनीतिमा अगाडि बढ्नु र मुख्य रुपमा देशको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’

असंलग्न विदेश नीतिका आधारमा सबैसँग मित्रता कायम गरी आफ्नो राष्ट्रियको स्वतन्त्रता एवम् जनताको आर्थिक समृद्धिको चाहना पूरा गर्न चाहेको पनि नेकपाको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?