रवि लामिछानेलाई पक्राउ गरिएको कांग्रेस नेताको आपत्ति

appharu
0
Shares

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकरणमा पत्रकार रवि लामिछानेलाई पक्राउ गरिएकाेप्रति आपत्ति जनाउनुभएको छ ।

एक विज्ञप्तिमार्फत सभापति केसीले ‘अनुसन्धानका लागि जुनसुकै सहयोग गर्नेे’ सार्वजनिक प्रतिबद्धता जनाउँदा जनाउँदै, प्रेस स्वतन्त्रताको नियमलाई मिचेर पत्रकार लामिछानेलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानविनका लागि उच्चस्तरीय छानबिन आयोग नै गठन गरी पीडितलाई न्याय दिनुपर्ने माग समेत गर्नुभएको छ । उहाँले घटना शंकास्पद रहेको समेत विज्ञप्तिमा जनाउनुभएको छ ।

विज्ञप्तिः

दुई हप्ताअगाडि चितवनको भरतपुरस्थित एक गेस्टहाउसमा ‘आत्महत्या’ गरेको भनिएका पत्रकार शालिक राम पुडासैनीको निधनले जनस्तरमा अनेकौँ आशंका र भ्रम उत्पन्न भएको छ । ‘आत्महत्या’ भनिएको घटनाको प्रकृति र त्यसअघि पत्रकार शालिक रामले भिडिओ रेकर्डमा दिएको मृत्युको घोषणा (Dying Declaration) हेर्दा स्वाभाविक आत्महत्या हो कि हत्या हो भन्ने गम्भीर प्रश्न उठेको छ ।

निधन भएका पत्रकार शालिकराममाथि अनेकौँ असाधारण दबाबपछि उनी बाध्यतापूर्वक सो वक्तब्य दिन विवश भएर षड्यन्त्रको सिद्धान्त (Conspiracy theory) अनुरुप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा आत्महत्या नै हो ? भन्ने आमचासोलाई स्पष्ट गर्नु जरुरी छ । उनी मेरो जिल्लाका निवासी सहयागी पत्रकार भएको नाताले पनि यसबारेमा सोधखोज गर्नु हामी आफ्नो दायित्व तथा जिम्मेवारी मान्दछौँ । यसबारे सरकारी अनुसन्धान चलिरहेको छ ।

जुनसुकै कारणले गर्दा होस्, पत्रकार शालिकराम पुडासैनी असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरुप मृत्यु वरण गर्न पुगेको हुनाले उनीमाथि घोर अन्याय र अपराध भएको देखिन्छ । “अनुसन्धानका लागि जुनसुकै सहयोग गर्ने” सार्वजनिक प्रतिबद्धता जनाउँदा जनाउँदै, प्रेस स्वतन्त्रताका नियमलाई मिचेर पत्रकार रवि लामिछानेको कार्यालयभित्रै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको घटना पनि त्यति नै दुराशययुक्त एवं निन्दनीय छ ।

कसैलाई पीडित बनाउँदै निहित स्वार्थ पूरा गर्न खोज्ने आपराधिक तत्वले यसबाट कुनै पनि रुपबाट नाजायज लाभ लिने अवसर नपाओस् । पक्राउ परेका वा मृत्यु भएका कोही पनि अन्यायको शिकार नबनुन् । तसर्थ अनुसन्धान निष्पक्ष, मोलाहिजाबाट मुक्त र न्यायोन्मुख होस् । यसका लागि उच्चस्तरीय छानबीन आयोग नै गठन गरी पीडितलाई न्याय तथा परिपूरण र पीडकलाई हदैसम्मको सजाय दिने न्यायिक प्रक्रियाले काम गरोस् ।

(जगदीश्वरनरसिंह के.सी.)
मितिः २०७६/०५/०१
सभापति
नेपाली काँग्रेस, नुवाकोट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?