मलेसिया रोजगारी: १४ महिना बित्दा अझै खुलेन, म्यानपावर व्यवसायीको यस्तो चेतावनी

काठमाडौँ | सरकारले मलेसिया रोजगारी खुलाउने छाँट नदेखाएपछि वैदेशिक रोजगार व्यवसायीहरु आक्रोशित बनेका छन् |

सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएको १४ महिना बितिसकेको छ भने मलेसियासँग श्रम समझदारीमा हस्ताक्षर भएको पनि ९ महिना बढी भएको छ |

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब पनि मलेसिया खुला नगरे यसअघिको पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने चेतावनी दिनुभएको छ |

‘नयाँ मागपत्र प्रमाणीकरणका लागि मलेसियास्थित दूतावासलाई आवश्यक निर्देशन दिन हामी परराष्ट्र मन्त्रालयमा डेलिगेसन जाँदैछौं,’ गुरुङले भन्नुभयो, ‘त्यति गर्दा पनि सुनुवाइ भएन भने अवसर नपाएका कामदारले विदेशमा रोजगारी गर्न पाउने र व्यवसायीले स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकार हनन भएको विषयमा मानवअधिकार आयोगमा उजुरी गर्छौं ।’

सरकारले आफूहरुको आवाज नसुनेमा यो मुद्दालाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सम्म पुर्‍याएर अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी संघले दिएको छ । मलेसियाको रोजगारी खुलाउन माग गर्दै मंगलबार व्यवसायीहरुले बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा धर्नासमेत दिएका थिए ।

श्रम मन्त्रालयका वैदेशिक रोजगार महाशाखा हेर्ने सहसचिव उमेश ढुङ्गाना मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूची तयार गर्ने काम अन्तिम चरणमा पुगेकाले अब मलेसिया खुल्ने क्रममा रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?