पाटन औद्योगिक क्षेत्रको भीषण आगलागीः साढे १५ घण्टामा बल्ल नियन्त्रणमा

काठमाडौं, २९ कात्तिक । पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक कारखानामा हिजोसाझ ६ बजेदेखि लागेको आगलागी आज बिहान साढे ९ बजे नियन्त्रणमा आएको छ काठमाडौँ, ललितपुर महानगरपालिकाका दमकल, त्रिभुवन विमानस्थल, निजी पानी ट्यांकरको पानी प्रयोग गरी आगो साढे १५ घण्टापछि नियन्त्रणमा लिइएको हो । आगलागीका कारण उद्योगमा रहेका तयारी सामग्री, कच्चा पदार्थ जलेर नष्ट भएका छन् आगलागीबाट आनन्द प्लाष्टिक उद्योग र पञ्चकन्याको युपिभिसी उद्योगमा क्षति पुगेको छ । आगलागीको कारण पत्ता लाग्न नसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?