रारा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

लोकपथ
0
Shares

काठमाडौं । मुगुको रारा जाने क्रममा भएको जिप दुर्घटनामा घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अञ्जु थापाको उपचारका क्रममा सोमबार काठमाडौंस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार अञ्जुको मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको हो ।

दुर्घटनामा घाइते भएका जिप चालक ५८ वर्षीय कञ्चन थापा र अञ्जुलाई थप उपचारका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं ल्याइएको थियो । चालक कञ्चनको भने बीएण्डबी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घटनास्थलमै मृत्यु भएका तीन जनाको शव पनि सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्‍याइएको थियो । काठमाडौंको कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शव सुर्खेतबाट शववाहनमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा रहेका पर्यटक रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स जिप आइतबार साँझ मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?