काठमाडौं । टर्कीमा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।
सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्तसँग सम्बन्धित करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए । उनले ४४ वटा अतिकम विकसित देशका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।
त्यसैगरी, जलवायु परिवर्तनका विषयमा अर्थमन्त्रीहरूबीच सहकार्य गर्ने उद्देश्यले स्थापना गरिएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई नयाँ सदस्यका रूपमा सहभागी गराएका थिए । उनले जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न आवश्यक वित्तीय व्यवस्थाबारे नीतिगत अवधारणा पनि प्रस्तुत गरेका थिए ।
सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग भेटवार्ता गरेका थिए । भेटमा जलवायु विपद्पछि ऋणमोचन तथा विशेष अन्तर्राष्ट्रिय सहयोग प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको उनको सचिवालयले जनाएको छ ।
नेपालले सम्मेलनमा उठाएका जलवायु सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले उनले पाँच देश तथा संयुक्त राष्ट्रसङ्घका जलवायु दूतहरूसँग पनि छलफल गरेका थिए ।
यस्तै, हरित जलवायु कोषका उच्च अधिकारीसँग आगामी कार्यक्रमबारे छलफल गरेका थिए । विश्व मौसम विज्ञान सङ्गठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि उनले सम्बोधन गरेका थिए ।
अर्थमन्त्री वाग्लेले जलवायु तथा अर्थशास्त्रका विज्ञ प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकलस स्टर्नसँग पनि भेट गरेका थिए ।
सम्मेलनका क्रममा उनले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए । साथै, सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया