काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पूर्ण समर्थन गर्ने जनाएको छ ।
रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस विषयमा आवश्यक निर्णय लिने जिम्मेवारी प्रधानमन्त्री र सरकारकै भएको बताएका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका विषयमा प्रधानमन्त्रीले नै आवश्यक निर्णय लिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू र बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल फोन लगिएको घटना सार्वजनिक भएपछि यसबारे पार्टीको धारणा मागिएको थियो ।
जवाफमा प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले अनावश्यक हस्तक्षेप गर्न नहुने बताए । पार्टीले सरकारी काममा बढी चासो राख्दा राजनीतिक हस्तक्षेपको आरोप लाग्न सक्ने उनको भनाइ थियो ।
प्रधानमन्त्रीले यस घटनामा कसैबाट गल्ती भएको ठानेर छानबिन वा कारबाही प्रक्रिया अघि बढाए पार्टीले पूर्ण साथ दिने उनले स्पष्ट पारे ।
उनका अनुसार यो विषय अहिलेसम्म पार्टीमा औपचारिक रूपमा छलफल भएको छैन । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेको र पार्टी सभापति छठ मनाउन तराईमा रहेकाले यसबारे छलफल हुन नसकेको उनले बताए ।
चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई बिदाइ गर्ने क्रममा खरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको विवादबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया