काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्ना गर्न लागेको जनाएको हो ।
बैंकले सहायक निर्देशक र सहायक द्वितीय पदमा कर्मचारी माग गरेको छ। सूचनाअनुसार सहायक निर्देशक (प्रशासन) पदमा सबैभन्दा बढी २६ जना माग गरिएको छ ।
त्यस्तै, सहायक निर्देशक (लेखा तथा लेखापरीक्षण) मा ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) मा २ जना र सहायक निर्देशक (सूचना प्रविधि) मा ४ जना माग गरिएको छ ।
यसैगरी, सहायक द्वितीय (प्रशासन)पदमा २६ जना कर्मचारी भर्ना गरिनेछ । माग गरिएका पदमा खुला तथा विभिन्न समावेशी समूहका लागि पनि कोटा छुट्याइएको छ ।
इच्छुक र योग्य नेपाली नागरिकले आगामी मंसिर १७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । उक्त समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
आवेदनका लागि उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो अनलाइनमार्फत बुझाउनुपर्नेछ ।
विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका उम्मेदवारले सम्बन्धित निकायबाट आफ्नो शैक्षिक योग्यताको समकक्षता निर्धारण गरेको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ ।
त्यस्तै, सहायक द्वितीय पदमा आवेदन दिने उम्मेदवारले लोक सेवा आयोगले सञ्चालन गरेको एकीकृत परीक्षा प्रणालीअन्तर्गतको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्रसमेत बुझाउनुपर्नेछ ।
बैंकले तोकिएको समयभित्र आवश्यक कागजातसहित प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ । रीत नपुगेका आवेदनमाथि कुनै कारबाही नहुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया