काठमाडौं । हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ ।
बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजनासमेत स्थगित गर्न थालेका छन् ।
इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली उड्डयन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ। कम्पनीहरूले खर्च नियन्त्रण र नाफा जोगाउन कम आम्दानी हुने उडान कटौती गरिरहेका छन् । यसबाट हवाई टिकटको मूल्य, रोजगारी र उद्योगको प्रतिस्पर्धात्मक अवस्थामा समेत असर पर्ने देखिएको छ ।
उडान क्षमता घटाउँदै वायुसेवा कम्पनी
विश्वव्यापी हवाई यात्रा तथ्यांक उपलब्ध गराउने संस्था ओएजीका अनुसार, युरोपका २१ वटा वायुसेवा कम्पनीले आफ्नो प्रस्तावित शीतकालीन उडान क्षमतामा पाँच प्रतिशतभन्दा बढी कटौती गरेका छन् ।
एयर फ्रान्स–केएलएमले सन् २०२६ मा उडान क्षमता वृद्धिदर करिब दुई प्रतिशतमा सीमित हुने जनाएको छ । यसअघि कम्पनीले दुईदेखि तीन प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको थियो ।
आयरल्यान्डको र्यानएयरले वार्षिक यात्रु संख्या २१ करोड ६० लाखबाट घटाएर २१ करोड ४० लाखमा सीमित गर्ने लक्ष्य राखेको छ । बेलायतको इजिजेटले शीतकालीन उडान तालिकाबाट करिब १४ लाख सिट हटाएको छ । त्यस्तै, लुफ्थान्सा समूहले छोटो तथा मध्यम दूरीका उडानमा पाँचवटा विमान बराबरको क्षमता कटौती गर्ने भएको छ ।
पोल्यान्डको एलओटी एयरलाइन्सले क्राकोबाट म्याड्रिड, रोम र बार्सिलोनासम्मका शीतकालीन उडान स्थगित गरेको छ। लुफ्थान्साको सहायक कम्पनी युरोविङ्सले पनि कोलोन र स्टुटगार्टबाट दुबईसम्म सञ्चालन गर्ने योजना बनाएका उडान रद्द गरेको छ ।
इन्धन खर्चले नाफामा दबाब
युरोपेली हवाई नेभिगेसन सुरक्षा संगठन (युरोकन्ट्रोल) का अनुसार, अक्टोबरमा युरोपमा हवाई इन्धनको औसत मूल्य प्रतिग्यालन ४.८४ अमेरिकी डलर पुगेको थियो । यो मध्यपूर्व संकट सुरु भएयताकै उच्च मासिक मूल्य हो । संकटअघिको तुलनामा इन्धनको मूल्य ११४ प्रतिशतले बढेको छ ।
र्यानएयरको सन् २०२७ आर्थिक वर्षको पहिलो छ महिनामा खुद नाफा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले घटेर दुई अर्ब १५ करोड युरोमा झरेको छ ।
कम्पनीले सन् २०२७ मार्चसम्म आवश्यक इन्धनको करिब ८० प्रतिशत मूल्य सुनिश्चित गरे पनि बाँकी इन्धन बजारको मूल्यवृद्धिबाट प्रभावित हुने जनाएको छ ।
अन्तरराष्ट्रिय कन्सोलिडेटेड एयरलाइन्स ग्रुप (आईएजी) को तेस्रो त्रैमासिकमा इन्धन खर्च ३०।४ प्रतिशतले बढेको छ । यस अवधिमा असाधारण खर्चबाहेकको सञ्चालन नाफा करिब १६ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।
एयर फ्रान्स–केएलएमले पनि इन्धनको मूल्यवृद्धिका कारण तेस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा थप ४३ करोड ६० लाख युरो खर्च भएको जानकारी दिएको छ ।
हवाई भाडा बढ्ने सम्भावना
इन्धन तथा सञ्चालन खर्च बढ्दै जाँदा त्यसको भार यात्रुमा पर्ने देखिएको छ । लुफ्थान्साका प्रमुख कार्यकारी अधिकृत कास्र्टन स्पोरले सन् २०२७ मा हवाई भाडा दोहोरो अंकको प्रतिशतमा वृद्धि हुन सक्ने बताएका छन् ।
र्यानएयरका प्रमुख कार्यकारी अधिकृत माइकल ओ’लियरीले आगामी १२ महिनामा युरोपेली हवाई भाडा १० देखि २० प्रतिशतसम्म बढ्न सक्ने चेतावनी दिएका छन् ।
परामर्शदाता संस्था अक्सेराको अध्ययनअनुसार, कुनै वायुसेवा कम्पनीले निश्चित उडान मार्गबाट सेवा हटाउँदा त्यस मार्गको हवाई भाडा औसत ९.७ प्रतिशतले बढ्न सक्छ । यसले हवाई टिकटको मूल्य निर्धारणमा प्रतिस्पर्धाको महत्वपूर्ण भूमिका रहेको देखाएको छ ।
कर्मचारी कटौती र पुनर्संरचना
आर्थिक दबाबका कारण कम्पनीहरूले कर्मचारी व्यवस्थापन र दीर्घकालीन लगानी योजनासमेत परिवर्तन गर्न थालेका छन् ।
नेदरल्यान्ड्सको केएलएमले वार्षिक आम्दानी एक अर्ब युरोले सुधार गर्ने लक्ष्यसहित पुनर्संरचना योजना सार्वजनिक गरेको छ । कम्पनीले आगामी वर्षहरूमा कर्मचारी संख्या करिब १५ प्रतिशतले घटाउने योजना बनाएको छ । साथै, एयरबस ए ३२० को सट्टा साना एम्ब्रेयर ई१९५–ई२ विमान प्रयोग गर्ने तयारी गरेको छ ।
ब्रसेल्स एयरलाइन्सले सन् २०२७ मा थप दुईवटा एयरबस ए३३० विमान भित्र्याउने योजना स्थगित गरेको छ । लाट्भियाको एयरबाल्टिकले करिब १०० जना पाइलट र २०० जना केबिन कर्मचारी कटौती गर्ने जनाएको छ । विज एयरले पनि रोमानियास्थित आफ्नो सञ्चालनमा १७२ वटा पद हटाउने योजना बनाएको छ ।
उद्योगमा एकीकरण बढ्ने अनुमान
लगातारको आर्थिक दबाबले युरोपेली वायुसेवा कम्पनीबीच एकीकरण तथा सहकार्य बढ्न सक्ने विश्लेषण गरिएको छ । आईएजीका प्रमुख कार्यकारी अधिकृत लुइस ग्यालेगोका अनुसार, केही कम्पनीले सम्भावित सहकार्यका लागि आईएजीसँग सम्पर्क गरेका छन् ।
क्रोएसियाका आर्थिक विश्लेषक दामिर नोभोत्न्यले विगत एक दशकको तुलनात्मक रूपमा सस्तो इन्धनले हवाई यात्रु तथा उडान संख्या बढाए पनि कम्पनीबीच प्रतिस्पर्धात्मक दबाब सिर्जना गरेको बताए ।
उनका अनुसार, आगामी वर्षहरूमा घाटामा रहेका केही वायुसेवा कम्पनी बजारबाट बाहिरिन सक्छन् भने सञ्चालन खर्च बढ्दा टिकटको मूल्यसमेत वृद्धि हुनेछ ।
इन्धनको मूल्यवृद्धिले युरोपेली उड्डयन उद्योगलाई उडान कटौती, कर्मचारी पुनर्संरचना र मूल्यवृद्धिको बाटोमा धकेलेको छ । यसको प्रभाव यात्रुको खर्चमा मात्र नभई रोजगारी, हवाई सम्पर्क र उद्योगको प्रतिस्पर्धामा समेत दीर्घकालसम्म पर्न सक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया