दक्षिणपूर्वी एसियाका अनलाइन ठगी केन्द्रबाट ८६० नेपालीको उद्धार

लोकपथ
35
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियाका विभिन्न देशमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रमा फसेका नेपाली नागरिकको उद्धारका लागि कूटनीतिक पहल जारी राखेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा रहेका अनलाइन ठगी केन्द्रबाट अहिलेसम्म ८६० जना नेपालीको उद्धार गरिएको छ । अझै पनि केही नेपाली त्यस्ता केन्द्रमा फस्ने क्रम नरोकिएकाले सम्बन्धित देशका सरकारी निकायसँग समन्वय भइरहेको उनले बताए ।

उद्धार गरिएका र अलपत्र परेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउन मन्त्रालयले काम गरिरहेको छ । ठगीमा परेका नेपाली र उनीहरूका परिवारले मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली दूतावासमा सम्पर्क गरिरहेको पनि उनले जानकारी दिए ।

यसैगरी, साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत कात्तिक ४ गते भएको उक्त घटनामा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन रियादस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ ।

नेपाल सरकारले सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई आक्रमणको निशाना बनाउन नहुने भन्दै घटनाको भर्त्सना गरेको छ । साथै, मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यसैबीच, भारतको नयाँ दिल्लीमा अक्टोबर १३, २०२६ मा बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, साइबर अपराध र अवैध आर्थिक कारोबार नियन्त्रणका लागि सदस्य राष्ट्रबीच सहकार्य बढाउने २६ बुँदे घोषणापत्र जारी गरेको छ ।

बैठकमा नेपालको प्रतिनिधित्व गरेका गृहमन्त्री सुधन गुरुङले साझा सुरक्षा चुनौती सामना गर्न सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेको बताए ।

मन्त्रालयले सार्कका १५औँ महासचिव मोहम्मद गोलाम सरवार कार्यकाल पूरा गरी स्वदेश फर्किएको पनि जनाएको छ । उनका स्थानमा १६औँ महासचिवका रूपमा भुटानका तासो सोनाम तोब्गे छिट्टै काठमाडौं आउने भएका छन् ।

यसैगरी, असोज २८ गते पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र बुझाउनेमा युरोपेली संघ, इन्डोनेसिया, सुडान, घाना र ब्रुनाईका राजदूत रहेका छन् ।

नयाँ राहदानी प्रणाली लागू भएको तीन महिना पूरा भएको मन्त्रालयले जनाएको छ । प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान गर्दै सेवा सहज बनाउने काम भइरहेको प्रवक्ता पौडेल क्षेत्रीले बताए ।

हाल ७७ जिल्ला प्रशासन कार्यालय, २४ इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ नेपाली नियोगबाट लाइभ इनरोलमेन्ट सेवा सञ्चालन भइरहेको छ । नयाँ प्रणालीमार्फत अहिलेसम्म करिब दुई लाख ५० हजार राहदानी छपाइ भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?