मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द

लोकपथ
7
Shares

इलाम । मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटकपटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता रद्द गरिएको हो ।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम भौतिक प्रगति भएपछि मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।

इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख असुल गरिएको छ। त्यस्तै, ६ करोड ७९ लाख बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ ।

ठेक्का सम्झौता रद्द गरिएको सडकखण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?