उद्घाटन खेलमा लुम्बिनीसँग हारेको सुदूरपश्चिमले पोखरालाई हरायो

लोकपथ
0
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ ।

बुधबार साँझ भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै साविक उपविजेता रहेको सुदूरपश्चिमले जित निकालेको हो ।

यसअघि उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्सको यो पहिलो जित हो ।

पावर प्लेमा २ विकेट गुमाउँदै ५२ रन जोड्न सफल भएको सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले जित निकालेको हो ।

टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले १४६ रनको टार्गेट पाएको थियो । निर्धारित २० ओभरमध्ये १६ ओभर ५ बल र ४ विकेटको क्षतिमा जित निकालेको हो ।

कप्तान ऐरीले ३६ बलमा ४ चौका र २ छक्का बनाउन सफल भएका थिए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रनको योगदान दिए ।

ब्रान्डन म्याकमुलेनले १२ बलमा २२ रन बनाए भने सैफ जैबले १५ तथा सर्फेन रदरफोर्ड ८ रनमाब अविजित रहे । पोखराका लागि धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।

पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।

सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक एक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?