हिमाली भेगमा हिमआँधी र हिम पहिरोको जोखिम, पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह

लोकपथ
63
Shares

काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने भएकाले अध्यागमन विभागले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते हिमाली क्षेत्रमा मौसम खराब हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उक्त समयमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।

विभागले पर्यटकलाई उक्त अवधिमा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। साथै, निषेधित क्षेत्रमा पदयात्राको अनुमति लिइसकेका पदयात्रीलाई पनि जोखिमबाट बच्न पदयात्रा नगर्न आग्रह गरेको छ ।

विभागका अनुसार उक्त अवधिका लागि निषेधित क्षेत्रमा पदयात्रा गर्ने नयाँ अनुमति पनि जारी गरिने छैन ।

विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?