गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमन दुई हजार ४१६ ले बढेको हो ।
आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार असोजमा दक्षिण एसियाली मुलुकबाट १२ हजार ६४५ र अन्य देशबाट २० हजार ३१८ पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका छन् । गत वर्ष असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
चालु आर्थिक वर्षमा हालसम्म सबैभन्दा बढी पर्यटक असोज महिनामा आएका हुन् । यसअघि भदौमा १७ हजार ९१३ र साउनमा २६ हजार ५९१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले यस अवधिमा पर्यटक आगमन बढ्ने गरेको डा। कडरियाले बताए ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग हुँदै बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकसमेत अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेका छन् ।
शरद याम पदयात्राका लागि उपयुक्त मानिने भएकाले यस समयमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र म्याग्दीको घोडेपानीलगायत गन्तव्यमा पर्यटकको चहलपहल बढ्ने गरेको छ। दसैँ र तिहारबीचको अवधिमा पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढी हुने गरेको आयोजना प्रमुख कडरियाले जानकारी दिए ।
सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन र सांस्कृतिक विशेषताका कारण लोकप्रिय पदयात्रा गन्तव्यका रूपमा परिचित छ। कास्की, लमजुङ, मनाङ र म्याग्दीलगायतका क्षेत्रबाट यहाँका विभिन्न गन्तव्यसम्म छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सकिन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । पर्यटकीय गन्तव्य, पर्यटनमैत्री पूर्वाधार, स्थानीय आतिथ्यता तथा सेवा सुविधाका कारण अन्नपूर्ण चक्रीय पदमार्ग स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया