चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने र समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री रावलले जनताका समस्या सुन्न र सरकारका कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताइन् ।
उनले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै त्यसलाई थप तीव्रता दिइने बताइन् ।
“धेरै समयदेखि उहाँहरू पीडामा हुनुहुन्छ । छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ,” उनले भनिन् ।
बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई ताकेता गर्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले पीडितका समस्या प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले आफू जनतामाझ पुगेको बताइन् ।
भूमिहीन नागरिकलाई आफू बसोबास गर्दै आएको स्थानबाट हटाइने हो कि भन्ने आशङ्का हटाउनुपर्ने बताउँदै उनले सरकारले कानुनी जटिलता समाधान गरेर अघि बढिरहेको जानकारी दिइन् ।
लामो समयदेखि बसोबास गर्दै आएको स्थानकै जग्गा उपलब्ध गराएर जग्गाधनी पुर्जा वितरण गर्न देखिएका कानुनी बाधा हटाइने उनको भनाइ छ ।
“जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो, त्यो गरिसकेका छौँ । कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ,” मन्त्री रावलले भनिन् ।
उनले सरकारले जनताको हकहितमा गरिरहेका काम र आगामी कार्ययोजनाबारे नागरिकलाई जानकारी गराउनु आवश्यक रहेकोसमेत बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया